राष्ट्र बैंकले स्वीकार गर्यो गल्ती, ‘पछिल्लो निर्देशनले उद्योगी व्यवसायीको मनोबल बढ्ने आशा’

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनले उद्योगी व्यवसायीहरुको थोरै भएपनि मनोवल बढ्ने आशा जगाएको बताएका छन् । 

नेपाल जग्गा तथा आवास विकास महासंघले आयोजना गरेको रियल इस्टेट व्यवसायी बृहत भेला–२०८० कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले सरकार र राष्ट्र बैंकले निजी क्षेत्रले दिएका सुझावहरुलाई ढिलै भएपनि बुझ्ने कोशिस गरेको बताए । लामो समयदेखि घरजग्गा कारोबारमा कित्ताकाट खोल्न र शेयर बजार कर्जा सीमा बढाउन आग्रह गरेपनि नमानेको, तर अहिले आफूले गरेको निर्णय गलत भएको भन्दै परिमार्जन गर्नु स्वागतयोग्य रहेको बताए । उनले सरकार र राष्ट्र बैंकले निजी क्षेत्रको मनोबल उच्च बनाउने काम गरे अर्थतन्त्र पनि सकारात्मक बन्ने बताउनु भए ।

Advertisement

मुलुकको अर्थतन्त्र निजी क्षेत्रको कारणले मात्रै नभएर सरकार र नियमनकारी निकायहरुको नीतिको कारण अर्थतन्त्र अहिलेको अवस्थामा पुगेको भन्दै अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सबै मिल्नुको विकल्प नभएको बताए । नेपालको जनसंख्याको १ प्रतिशत मानिसहरु पुँजीबजारमा आवद्ध भएकाले सरकारले बेवास्ता गर्न नमिल्ने बताए । 

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले घरजग्गा व्यवसायलाई उद्योगको रुपमा परिणत गर्न आवश्यक रहेको बताए । उनले घरजग्गा व्यवसाय विश्वमा नै मान्यता भएको व्यवसाय  भएकाले उद्योगको रुपमा विकास गर्न जरुरी रहेको बताए । उनले घरजग्गा व्यवसायले विश्वलाई सहरीकरण गर्ने काम गर्ने भन्दै नेपाललाई पनि शहरीकरण गरी व्यवस्थित गर्ने काम गरिरहेको बताए । सरकारले घरजग्गा व्यवसायीहरुलाई हेलचेक्राँई गर्ने र प्रतिष्ठित व्यवसायीहरुलाई पनि दलालको जस्तो व्यवहार गर्ने काम भइरहेको बताए । घरजग्गा व्यवसायलाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए । 

त्यस्तै, नेपाल जग्गा तथा आवास विकास महासंघका पूर्वअध्यक्ष मिनमान श्रेष्ठले अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले प्रत्यक्ष लगानीको अवधि र रकम तोक्नुपर्ने बताए । अन्य क्षेत्रमा अवधि तोकेर लगानी गर्न प्रोत्साहन गरिरहेको अवस्थामा घरजग्गा क्षेत्रमा भने अवधि नतोकेकाले अवधि तोकेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने आवश्यकता रहेको बताए । सरकारले यस क्षेत्रलाई २०८४ सम्ममा अनिवार्य प्रत्यक्ष लगानीका लागि यति प्रतिशत लगानी गर भन्ने निर्देशन आउनुपर्ने बताए । 

उनले सरकारले प्रत्यक्ष लगानीको निर्देशन दिने हो भने बजारमा १० खर्ब रकम आउने र अर्थतन्त्र चलायमान हुने दाबी गरे । अहिले घरजग्गा बिक्री नहुँदा अर्थतन्त्र चलायमान हुन नसकेको बताए । राष्ट्र बैंकको निर्देशनले कर्जाको अनुपात बढाएको, तर उक्त व्यवस्थाले कारोबारमा कुनै प्रभाव नपर्ने बताए । 

Advertisement

Advertisement