राजश्व नउठ्ने समस्याको दुष्चक्रमा सरकार फँस्योः मुख्यसचिव अर्याल

Advertisement

काठमाडौं । सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालले सरकारले पुँजीगत खर्च गर्न नसक्दा आर्थिक क्रियाकलाप बिस्तार हुन नसकेको स्वीकार गरेका छन् । 

संसदको सार्वजनिक लेखा समितिको बुधवार बसेको बैठकमा उनले आन्तरिक रुपमा आर्थिक क्रियाकलापहरु कम भएकाले मुलुकको राजश्वमा पनि चाप पर्न थालेको स्वीकार गरेका हुन् । अर्यालले सरकारी खर्च नबढ्ने, सरकारी खर्च नहुँदा आर्थिक क्रियाकलाप बिस्तार नहुँदा राजश्वमा चाप पर्ने लगायतका समस्याको दुषचक्रमा सरकार फसेको बताए । 

Advertisement

उनले पछिल्लो समय खर्च गर्ने स्रोत नहुँदा कसरी खर्च गर्नु भन्ने प्रश्नहरु आउने गरेको बताए । अर्यालले सरकारले यस्तो दुष्चक्रलाई तत्काल तोड्नुपर्ने जरुरी रहेको बताए । उनले ऋण व्यवस्थापनमा सरकारले आन्तरिक र बाह्य दुवैतिरबाट लिने गरेको बताए । 

मुख्यसचिव अर्यालले सरकारको राजश्वले नपुग्दा वैदेशिक अनुदान लिने र  अनुदानले नपुगेर बजेट घाटामा भएपछि ऋणमा जाने गरेको बताए । उनले लामो समयदेखि मुलुकमा पुँजीगत खर्च नहुने रोग जस्तै देखिएको बताए । अर्यालले बजेट विनियोजनको ९० प्रतिशत पनि पुँजीगत खर्च भेट्ने भन्दै पछिल्लो ४ वर्षमा ८० प्रतिशतको हाराहारीमा पनि पुग्न नसकेको स्वीकार गरे । 

उनले भने, ‘आन्तरिक रुपमा जब आर्थिक क्रियाकलापहरु कम हुन थाल्छन् । राजश्वमा पनि चाप पर्ने थाल्छ । सरकारले आफ्नो सरकारी खर्च गर्न नसकेको कारणले आर्थिक क्रियाकलापहरु बिस्तार नहुने आर्थिक क्रियाकलाप बिस्तार नभएको कारणले राजश्वमा चाप पर्ने भइरहेको छ । कुनै एउटा दुष्चक्र जस्तो अवस्थामा सरकार फसिरहेको छ । खर्च गर्ने स्रोत नहुँदा कसरी खर्च गर्नु भन्ने प्रश्नहरु पनि सँगै आउँछन् । यो चक्रलाई सरकारले तोड्नुपर्ने जरुरी छ । ऋण व्यवस्थापनमा सरकारले आन्तरिक र वाह्य दुवैतिरबाट लिन्छौं । राजश्वबाट हुन्छ राजश्वले नपुग्दा सरकारले अनुदान लिने हो । अनुदानले नपुगेर बजेट घाटामा भएपछि ऋणमा जानुपर्छ । लामो समयदेखि मुलुकमा पुँजीगत खर्च गर्ने रोग रहेको छ । बजेट विनियोजनको ९० प्रतिशत पनि पुँजीगत खर्च भेट्न नसकेको धेरै वर्ष भएको छ । विगत ४ वर्षको तथ्याङ्क हेर्ने हो भने ८० प्रतिशतको हाराहारीमा पनि पुग्न सकिराखेका छैनौं । यसले सरकार पुँजीगत खर्चमा समस्यामा छ भन्ने देखाउँछ । पुँजीगत खर्च गर्ने परम्परा र प्रक्रियाहरुलाई पुनरावलोकन गर्नुपर्ने छ । पछिल्लो समय बेरुजु हुने बित्तिकै सबै भ्रष्टाचार नै भएको भन्ने भाष्य कायम भएको छ ।’

अर्यालले सरकारको पुँजीगत खर्च गर्ने परम्परा र प्रक्रियाहरुलाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले पछिल्लो समय बेरुजु हुने बित्तिकै सबै भ्रष्टाचार नै भएको भन्ने भाष्य कायम भएको बताए । 

Advertisement