धितोपत्र बोर्डमा प्रणालीमा काम गर्ने पद्दतीको विकास गर्दैछौंः हमाल

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बार्डका अध्यक्ष रमेश हमालले समाजको चरित्र नै सरकारको ऐन भएको बताउँदै समाजको चरित्रबाट नै सरकार र देशको भविष्य निर्माण हुने बताएका छन् । 

राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा उनले मुलुकको समाजिक र आर्थिक विकास गर्नको लागि सरकारका सम्पूर्ण निकायहरुले प्रणालीका काम गर्न सक्नुपर्ने बताए । हमालले कुनै पनि काम नियम र प्रणालीमा हुँदा जुनसुकै निकायमा जो भए पनि फरक नपर्ने बताए । 

Advertisement

उनले जो कार्यकारी निकायमा भए पनि प्रणालीमा काम गरे मात्रै मुलुकको विकास हुने बताए । हमालले मुलुकको आर्थिक विकासको लागि प्रणालीमा काम गर्ने र हाकिमको निर्देशन कम गर्न आवश्यक रहेको बताए । उनले देशका कार्यकारी प्रमुख प्रधानमन्त्री, मन्त्री वा अन्य निकायमा कार्यकारीको निर्देशन भन्दा पनि प्रणालीमा काम हुन आवश्यक रहेको बताए । 

हमालले भने, ‘समाज अगाडि बढाउन हामीले तीन चरणका कामहरु गर्नुपर्छ । नेपालका सम्पूर्ण निकायहरु प्रणालीमा काम गर्नुपर्छ । कार्यकारी निकायमा जो सुकै मानिस भएपनि फरक पर्नुभएन । त्यहाँ प्रणालीले काम गर्नु पर्यो । विश्वमा हेर्दा पनि समाजको चरित्र सरकार र देशको भविष्य निर्माणमा मिरर हुन्छ । नेपालको प्रगतिको लागि प्रणालीमा काम गर्ने, हाकिमको तजबीजी कम हुनुपर्छ । जसमा प्रधानमन्त्री, मन्त्री वा धितोपत्र बोर्डको अध्यक्ष वा जुनसकै निकायको प्रमुख वा पदाधिकारी होस् । तजविजी र अधिकार कम हुनुपर्यो । प्रणालीमा काम गर्ने प्रणालीको विकास गर्नुपर्छ । हाम्रो निकायमा त्यही विकास गर्न खोजिरहेका छौं ।’

नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले मुलुकको अर्थतन्त्रमा धेरै समस्या नभएको दावी गरे । उनले मुलुकको अर्थतन्त्र सुधारको लागि आत्मविश्वासको कम भएको भन्दै अब मनोबल उच्च बनाउने गरी सरकार तथा अन्य निकायहरुले काम गर्न आवश्यक रहेको बताए । 

पौडेलले मुलुकको अर्थतन्त्रमा ६० प्रतिशत फण्डामेण्टल रुपमा बिग्रेको भएपनि ४० प्रतिशत मनोबल कमजोर भएको कारण समस्या आएको बताए । उनले केही आर्थिक सूचकहरु नकारात्मक हुँदा निजी क्षेत्र लगायत अन्य क्षेत्रमा मनोबल कमजोर भएको बताए । 

Advertisement

Advertisement