मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत लगानी सुनिश्चित, बनेपछि गिनिज बुकमा नाम लेखाइने

Advertisement

काठमाडौं । विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत लगानी सुनिश्चित भएको छ । विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउनको लागि भारतको के एण्ड आर इन्जिनियरिङ लिमिटेडले केबलकार परियोजना निर्माणका साथै लगानीसमेत गर्ने गरी इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउने भएको हो । 

इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (ईपीसीएफ) मोडलमा केबलकार बनाउने प्रारम्भिक सम्झौता केही समयअघि गरेसँगै परियोजना बनाउनको लागि ८० प्रतिशत लगानी सुनिश्चित भएको मुक्तिनाथका अध्यक्ष अरुण सुवेदीले बताए । उनले ईपीसीएफ मोडेलबाट बन्न लागेको मुक्तिनाथ नेपालकै पहिलो ठूलो परियोजना भएको भन्दै ८० किलोमिटर लामो केबलकार बनाउन ५५ अर्ब रुपियाँ लागत अनुमान गरिएको बताए । 

Advertisement

सुवेदीले समझदारीअनुसार कुल लागतको ८० प्रतिशत अर्थात ४४ अर्ब रुपियाँ के एण्ड आर इन्जिनियरिङले लगानी गर्ने भएको बताए । उनले आयोजनाको वातवरण मूल्याङ्कन प्रतिवदेन पास हुने र सरकारसँग आयोजना विकास सम्झौता गर्न बाँकी रहेको बताए । 

सुवेदीले नेपालका कानूनी प्रक्रियाहरु लामा भएकाले प्रक्रिया पूरा गर्नको लागि काम गरिहेको भन्दै १८० दिनभित्र पूरा गरी योजना निर्माणको विषयमा के एण्ड आर इन्जिनियरिङसँग सम्झौता गर्ने बताए । उनले मुक्तिनाथ केबलकार परियोजना बनाउनको लागि ८० प्रतिशत वित्तीय स्रोत जुटेको भन्दै बाँकी २० प्रतिशत वित्तीय स्रोत नेपाल र बाहिरी कम्पनीहरुले इकुटी (शेयर लगानी)को रुपमा जुटाउने बताए । 

अध्यक्ष सुदेवीले आयोजना निर्माणको लागि ९० प्रतिशत जग्गा खरिद गर्ने काम सकिएको भन्दै बाँकी १० प्रतिशत पनि लिने प्रक्रिया शुरु भइसकेको उल्लेख गरे । उनले वातावरण प्रभाव मूल्याङ्कनको प्रतिवेदन आइसकेको बताए । मुक्तिनाथ केवलकार विश्वकै सबैभन्दा लामो केबरकार प्रणाली हुने सुवेदीले बताए । 


उनले  मुक्तिनाथ केबलकार निर्माण सम्पन्न भएपछि गिनिजबुकमा नाम रहने बताए । सुवेदीले मुक्तिनाथ जाँदा सडक खतरायुक्त, हवाई मार्ग पनि खतरा जस्ता समस्याहरुले केवलकार हुने दावी गरे । उनले मुक्तिनाथ मन्दिर विष्णुका स्वयम्भु सर्वप्राचिन पौराणिक आठ घाममध्ये एउटा भएको बताए । उनले मुक्तिनाथ केबलकार आयोजना निर्माणको लागि केपी ओली प्राधनमन्त्री हुँदा लगानी बोर्डले लाइसेन्स दिएर सम्झौता भएको स्मरण गर्दै नेपालको कानूनी झमेला र कानूनी प्रतिकुलता नगरिदिए मात्रै पनि धेरै ठूलो सहयोग निजी क्षेत्रलाई पुग्ने बताए । 

सुवेदीले आयोजना सम्पन्न भएपछि ७० अर्बसम्म राष्ट्रको जीडीपीमा योगदान गर्ने भन्दै नौ अर्ब रुपियाँ सरकारलाई राजश्व मात्रै जाने बताए । उनले भने, ‘नेपालको कानूनी झमेला र कानूनी प्रतिकुलता नगरिदिए मात्रै पनि धेरै ठूलो सहयोग निजी क्षेत्रलाई हुने थियो । आयोजना सम्पन्न भएपछि आर्थिक विश्लेषण गर्दा ७० अर्बसम्म राष्ट्रको जीडीपीमा योगदान गर्नसक्छ । ७० अर्ब कुल गार्हस्थ उत्पादन वृद्धि गर्यो भने नौ अर्ब रुपियाँ सरकारलाई राजश्व मात्रै जान्छ । सरकारलाई जोखिम छैन तर निजी क्षेत्र जोखिम मोलेर काम गरिरहेको छ ।’

त्यस्तै, के एण्ड आर रेलका अध्यक्ष कुरु प्रविर कार्रलाले मुक्तिनाथ केवलकार परियोजना बनाउन चुनौति र समस्या भएपनि आफूहरु सक्षम रहेको बताए । उनले मुक्तिनाथ केबलकार बनाउन के एण्ड आर प्राविधिक र आर्थिक रुपमा सक्षम रहेको बताए । अध्यक्ष कार्रलाले मुक्तिनाथ विष्णु भगवानको पावन भूमि भएकाले पनि केवलकारमा लगानी गर्न तयार भएको बताए । उनले मुक्तिनाथ केवलकार निर्माणले उक्त क्षेत्रमा पर्यटकहरुको ठूलो सम्भावना रहेको बताए । 

मुक्तिनाथको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम सकिएको दुई वर्ष भइसकेको छ । यस्तै वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथले केबलकारको डिपिआर तयार पारी २०७८  कात्तिक १५ गते लगानी बोर्डमा बुझाएको थियो । इआइएको स्वीकृतिमा भएको ढिलाइले रोकिएको थियो । केबुलकारमा टप टु बटम १९ वटा स्टेसन हुनेछन् ।  यीमध्ये ८ स्टेसनमा अनिवार्य रूपमा ओर्लिनुपर्ने छ । 

पाँच स्टेसनमा अत्यावश्यक भएमात्र ओर्लिन पाइने र अन्य ११ स्टेसनमा बास बसेर जान पाइने व्यवस्था हुनेछ । कास्की वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबलकारको लम्बाई ८०.१५ किलोमिटर हुनेछ । केबलकारमा ७७६ वटा गोण्डोला राख्न प्रश्ताव गरिएको छ । मुक्तिनाथ केबलकार १ हजारदेखि तीन हजार सात सय मिटर उचाइसम्म पुग्नेछ । 

प्रत्येक स्टेसनमा रिसोर्ट बनाउने योजना केवलकार योजनाको रहेको छ । केबुलकारको पहिलो स्टेसन वीरेठाँटीमा हुनेछ । दोस्रो वीरेठाँटीदेखि घोडेपानी १३.३१ किलोमिटर, तेस्रो घोडेपानी–तातोपानी १२.७३ किलोमिटर, चौथो तातोपानी–लेते १६.४४ किलोमिटर रहनेछ । पाँचौं स्टेसन लेते–जोमसोम २३.९२ किलोमिटर, छैठौं जोमसोम–कागबेनी ८.२४ र सातौं स्टेसन कागबेनी–रानीपौवा मुक्तिनाथसम्म ९ किलोमिटर रहने कम्पनीले जनाएको छ । वार्षिक ३६ लाखले यात्रा गर्ने अनुमान गरिएको छ ।

Advertisement

Advertisement