अन्नपूर्ण होटलद्धारा १४० जना कर्मचारीको २० करोड भुक्तानी गर्न ४४ महिनादेखि आनाकानी

Advertisement

काठमाडौं । अन्नपूर्ण होटलले आफ्ना १४० जना कर्मचारीलाई दिनुपर्ने २० करोड रुपियाँ पारिश्रमिक दिन ४४ महिनादेखि आनाकानी गरेको छ । 

होटलले विभिन्न बहाना गर्दै आफूहरुलाई तीन बर्षभन्दा लामो समयदेखि भुक्तानी नदिएको कर्मचारीहरुको गुनासो छ । होटलले कर्मचारीलाई दिनुपर्ने उपदान मात्रै नभएर कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषमा जम्मा भएको आफ्नो रकम झिक्न दिन समेत नमानेको आन्दोलनरत कर्मचारीहरुको गुनासो छ । 

Advertisement

उनीहरुले आफूहरुले पाउनुपर्ने सबै बाँकी सेवा सुविधाको माग गर्दै होटल परिसरमा धर्ना समेत दिँदै आएका छन । तर होटल सञ्चालिका सिर्जना राणाले भने अटेर गर्दै आएकी छन् । अन्नपूर्ण होटल राजपरिवारका सदस्यको भएको र सो सम्पत्ति नेपाल ट्रष्टमा जानुपर्ने भए पनि जालझेल गरेर व्यक्तिको नाममा पास गरेको उनीमाथि आरोप समेत लाग्ने गरेको छ । 

राणाले यसअघि अन्नपूर्ण होटल परिसरमा सञ्चालित क्यासिनो अन्ना भूकम्पको कारण बन्द भएको मौका छोपेर भत्काइदिँदा उक्त क्यासिनोमा कार्यरत सयौं मजदुरहरुको रोजीरोटी र उनीहरुले पाउनुपर्ने तलब सुविधा समेत पाउनबाट बन्चित हुन पुगेका थिए । 

अहिले भने आफ्नै होटलमा काम गर्ने कर्मचारीहरुमाथि उनले पारिश्रमिक र अरु सुविधावापतको रकम भुक्तानी दिन आनाकानी गर्दै अन्याय गरेकी हुन् । कर्मचारीहरुले यस पटक दशैंको मुखमा समेत होटलले आफूहरुको पैसा नदिएर ठूलो अन्याय गरेको भन्दै आफूहरु ऋणमा डुबेको सुनाए । 

होटल सामाजिक सुरक्षा कोषमा गएपछि उपदानको पैसा दिनुपर्नेमा सो पैसा समेत दिन आनाकानी गरिएको उक्त होटलमा फ्रन्ट अफिसमा काम गरेका राजेन्द्रकुमार केसीले बताए । उनले उपदानको कुनै पनि ठाउँमा रेकर्ड नभएको र त्यो पैसा सामाजिक सुरक्षा कोषमा गइसकेपछि कर्मचारीहरुले पाउनुपर्नेमा नदिएको बताए । 

केसीले भने, ‘कोरोना महामारीको बेलामा हामीले पाउनुपर्ने तलब भत्ता, जुन हामीले मुद्दा पनि जितिसकेका छौं, त्यो पाउनुपर्यो भन्ने हो । होटल खोलेर मजदुरले जागिर खान पाउनुपर्यो भन्दा होटल व्यवस्थापनले सधैं बहानाबाजी गर्ने, ‘होटल बनाउँदैछु’  भन्ने गरेको छ । हामीलाई होटल पुनर्निर्माण गर्छु भनेको अहिले ४४ महिना बितिसक्यो । तर केही गरेको छैन् । होटलले हामीलाई काम गराउनुपथ्र्यो । कि कामबाट निकाल्नु पर्थ्यो । हामीलाई कामबाट निकालेको पनि छैन् । नियमअनुसार पाउनुपर्ने पैसा पनि दिएको छैन् ।’

आफूहरु चार सय जना मजदुरहरुमध्ये अहिले १४० जना बाँकी रहेको केसीले बताए । धेरैले छोडेर गइसकेको र १४० जनाले २० करोड रुपियाँ पाउन बाँकी रहेको बताउँदै उनले यदी होटल नखोल्ने हो भने कर्मचारीहरुलाई क्षतिपूर्ति दिएर विदा गर्नुपर्ने बताए । केसीले थपे, ‘होटल खोलेको छैन् भन्छ । तर क्यासिनोलगायत कुराहरु सञ्चालन भइरहेको छ । होटलभित्र पार्टी पनि चलिरहेको छ । होटलमा रुमहरु दिइरहेको कुरा पनि आइरहेको छ । हामीलाई भित्र छिर्न दिएको छैन् । त्यो भनेको होटल सञ्चालनमा आइसकेको छ । तर हामीलाई न काममा लगाएको छ । न पाउनुपर्ने पैसा दिएर विदा गरेको छ ।’ 

कर्मचारीहरुले आफूहरुले ४४ महिनादेखिको तलब, भत्तासहित सबै सेवा सुविधा बाँकी रहेको बताए । उनीहरुलाई हाजिरी नगराई छ महिनासम्म पारिश्रमिक दिनुनपर्ने प्रशिक्षार्थी कर्मचारीहरुलाई काममा राखेर होटल सञ्चालन गर्ने काम भइरहेको देखिएको छ । यसबाट होटललाई अथाहा कमाई पनि हुने र दायित्व खासै नहुने भयो भन्दै केसीले पूराना कर्मचारीहरुलाई काममा पनि नर्फकाउने, दिनुपर्ने पारिश्रमिक तथा सुविधाहरु पनि नदिने, राजनीतिक र प्रशासनिक आड लिएर कर्मचारीहरुलाई दुःख पनि दिइरहेको काम होटल व्यवस्थापनले गरिरहेको बताए । 

उनले भने, ‘होटल खोल्न नसक्ने हो भने अनावश्यक बहाना बनाएर, हामीलाई लान्छना लगाएर झुलाउनुभन्दा दिनुपर्ने पारिश्रमिक र सुविधावापतको रकम दिएर विदा गरे भइहाल्यो नि । हामी छोडेर जान्छौं । किन अल्मल्याएर राख्या ? होटलमा ४२ वर्ष बिताएँ । अहिले होटलकै कारण मैले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा तीन लाख २० हजार ब्याज तिर्नुपरिरहेको छ । त्यो पैसा मलाई होटलले दिन्छ ? नभए कस्ले दिन्छ ? अब मैले फेरि होटललाई मुद्दा हाल्नुपर्ने भयो ।’ 

आफूभन्दा अगाडि सेवानिवृत्त भएकोले पनि अहिलेसम्म पैसा नपाएको केसीले बताए । उनले भने, ‘अरु ३५ जना साथीहरुले पनि एक वर्ष भइसक्यो धाएको । उनीहरुले पनि पैसा पाएको छैन् । हारगुहार गरिरहेका छन् । होटल बन्द छ । तर कार्यक्रमहरु चाहिँ गरिरहेको छ ।’ केसीले ४४ महिनाको आफूले तलब मात्रै १६ लाख आउन बाँकी रहेको बताए । सबै बिदाहरुको समेत पैसा जोड्दा ३५ लाखदेखि ४० लाख रुपियाँ बाँकी रहेको बताए । 

Advertisement

Advertisement