महंगा गाडीको सिमा नाकामा विस्याहार, कुच्चिदै, कोरिँदै, ठोक्किँदै आइपुग्छ काठमाडौं

Advertisement

काठमाडौं । रसुवा भन्सार कार्यालय परिसरमा बिवाइडी अटो–६ गाडीमा खिया र लेउ लाग्न सुरु भएको छ । गाडीको अघिल्लो भाग पानीले भिजेर कुरुप देखिन थालिसकेको छ ।

सिनरी अटोमोबाइल कम्पनी लिमिटेडले ल्याएको विद्युतीय पेसेन्जर भेहिकल रसुवा भन्सार नजिक सडकमै पार्किङ गरिराखेको छ । गाडी भन्सार जाँचपास नहुन्जेल सडकमै राखिन्छ । कम्पनीले विद्युतीय पेसेन्जर भेहिकल गुडाएरै काठमाडौं ल्याउने गर्छन् । 

Advertisement

यस्तै गाडीको ब्रेक प्याडहरुमा पनि खिया लाग्न सुरु भइसकेको छ । गाडी खुला आकासमुनी अलपत्र रुपमा राखिएको छ । बिवाइडी सिनरी अटोमोबाइल मात्रै होइन, अन्य कम्पनीको गाडीहरुको पनि यस्तै बिजोग देख्न सकिन्छ । 

पछिल्लो समय रसुवा भन्सारबाट एमजी, नेटा भी फुटोन, गोल्डेन ड्रयागन ग्रेट वाल मोटरलगायत गाडीहरु आयात हुने गरेको छ । यसरी आयात हुने गाडी सिमा नाकाबाट १४५ किलोमिटर गुडाउनुपर्छ । 

सडकको भौतिक अवस्था राम्रो नहुँदा गाडीको बडी ठोक्किने, कुच्चिने, कोरिनेलगायतका समस्या पनि आयातकर्ताले झेल्दै आएका छन् । भन्सार नाकामा नयाँ गाडीहरुको विस्यार हुनुको कारण व्यवस्थित पार्किङ नहुनु हो । 

रसुवा भन्सार कार्यालयमा व्यवस्थित पार्किङको व्यवस्था नहुँदा समस्या बढेको छ । पार्किङ मात्रै होइन, गाडीको सुरक्षामा आयातकर्ता कम्पनीले सामान्य ‘रेइन कोट’को समेत व्यवस्था गरेको छैन् । 
कम्पनीले आफ्नो खर्च बढ्नसक्ने भन्दै सुरक्षामा ध्यान दिँदैनन् । गाडी सुरक्षामा कम्पनीले ध्यान नदिँदा लाखौं करोडौं मूल्य तिरेर खरिद गर्ने ग्राहक ठगिने गरेका छन् । 

नेपाली व्यवसायीले गाडीको विस्यार हुनुको कारण व्यवस्थित पार्किङ नहुनुलाई दोष दिन्छन् । तर भन्सारका अधिकारीहरु भने व्यवसायीले लामो समयसम्म पनि गाडी भन्सार जाँचपास नगराउँदा समस्या हुने बताउँछन् । भन्सारका अधिकारीहरुका अनुसार व्यवसायीहरुले डिलरबाट गाडी बुकिङ नभइकन भन्सार छुटाउने गर्दैनन् । भन्सारका एक कर्मचारीले भने, ‘गाडीको सुरक्षामा आयातकर्ताले न्यूनतम् काम समेत गरेको देखिँदैन, ब्राण्ड न्यु गाडीहरुको बिजोग बनाएर राख्ने गर्छन ।’

सामान्यतया, भन्सार नाकामा गाडी आइपुगेपछि ६० दिनभित्र गाडी जाँचपास गरिसक्नुपर्छ । तर व्यवसायीहरुले ६ महिना वर्षदिनसम्म पनि गाडी जाँचपास नगर्दा भन्सार नाकामा गाडीहरु थुप्रिएर नयाँ गाडी विस्यार हुने गर्दछ । 

चीनसँग सिमा जोडिएका तातोपानी भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट पछिल्लो समय विद्युतीय गाडी आयात बढेको छ । सिमा नाकासम्म गाडी उच्च व्यवस्थापनमा आउने भए पनि सिमा नाकामा आएपछि  गाडीहरु भद्रगोल रुपमा राख्ने गरिएको छ । 

सिमा नाकाबाट अधिकांश गाडीहरु गुडाएरै काठमाडौंसम्म ल्याउने गरिन्छ । यसरी ल्याउँदा ब्राण्ड न्यु भनिएका गाडीहरु नै टुटफुट भई काठमाडौं आइपुग्ने गरेको छ । तर कम्पनीहरुले भने सामान्य धोइपलाखी गरी मात्रै बिक्री गर्ने गरेका छन्। 

भन्सारको गोदाममा मात्रै होइन, काठमाडौं ल्याइसकेपछि पनि गाडीलाई खुला आकासमुनी नै राख्ने गरिन्छ । यसले महत्वपूर्ण पार्टहरुमा खिया लाग्ने तथा छिट्टै बिग्रने गरेको ग्राहकहरुको गुनासो बढ्दै गएको छ । 

undefinedundefinedundefined

Advertisement