हिमालय जेटले अन्तर्राष्ट्रिय उडान सुरु गर्ने सन्दर्भमा व्यवसायी गुरुङले हार्परलाई भेटे

Advertisement

काठमाडौं । नेपाली मुलका बेलायती व्यवसायी दिपेन्द्र गुरुङले हिमालय जेट ब्राण्डमा डेढ दर्जन ठूला जहाजमार्फत काठमाडौंसहित विश्वका विभिन्न गन्तव्यमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी सन्दर्भमा बेलायतका साँसद तथा सेक्रेटरी अफ स्टेट अफ ट्रान्सपोर्ट मार्क हार्परसँग भेटवार्ता गरेका छन् । 

हिमालय जेटले सामाजिक सञ्जालमार्फत उक्त भेटवार्ताबारे जानकारी गराएको हो । लन्डनस्थित वेस्टमिनिस्टरमा उनीहरुबीच भेटवार्ता भएको हो । सेक्रेटरी अफ स्टेट मन्त्रीभन्दा माथिल्लो पद मानिन्छ । स्टेट फर ट्रान्सपोर्टअन्तर्गत हवाई, सडक, रेल, समुद्री यातायात पर्छ । 

Advertisement

हिमालय जेटले अन्तर्राष्ट्रिय उडानको तयारी अन्तिम चरणमा पुगेको बताउँदै नेपालमा पनि छिट्टै जीएसए फ्लाइट डाइरेक्ट नियुक्त गर्ने, नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत अन्तिम स्वीकृति लिई टिकट बुकिङ खुल्ला गर्ने बताएको छ । 

यसअघि व्यवसायी गुरुङले बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई भेटेर आफ्नो उड्डयन क्षेत्रमा आफूले गर्न लागेको लगानीबारे अवगत गराएका थिए । त्यस क्रममा उनले बिदा मनाउन नेपालको भ्रमण गर्न सुनकलाई उनले प्रस्ताव पनि गरेको हिमालयन जेटले जनाएको छ । 

गुरुङले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी ‘हिमालय जेट’ स्थापना गरिसकेका छन् । अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न आफूहरु आवश्यक प्रक्रिया पूरा गर्ने र पूर्वाधार तयार गर्ने काममा लागिरहेको कम्पनीको भनाई छ । 

हिमालय जेटले लक्जरी प्वाइन्ट टू प्वाइन्ट उडान सेवा उपलब्ध गराउने गुरुङले यसअघि बताएका थिए । विश्वभरका उच्चस्तरीय होटलहरूमा सञ्चालन हुने लक्जरी सिनेमा चेन ‘प्राइम’ सञ्चालन गर्दै आएका उनको कम्पनीले प्रारम्भिकरुपमा १८ वाइड बडी जहाजमार्फत विश्वका विभिन्न पर्यटकीय केन्द्र र शहरहरुमा उडान सुरु गर्ने घोषणा गरिसकेको छ । 

यो एयरलाइन्सको प्राविधिक केन्द्र बेलायत र अमेरिकामा रहने छ । सर्वसुलभ भाडादरमा उडान सेवा सञ्चालन गर्ने बताउँदै गुरुङले लन्डन, म्यानचेस्टर, पेरिस, नाइस, रोम, मिलान र जुरिच, न्यूयोर्क, वासिङ्गटन डीसी, लस एन्जलस, मियामी, नयाँ दिल्ली, मुम्बई र काठमाडौंमा उडान गर्ने योजना सार्वजनिक गरेका थिए । 

व्यवसायी गुरुङले आफू नेपाली मुलको भएकाले एयरलाइन्सको नाम ‘हिमालय’ राखेको जनाएका छन् । यस नामले नेपालको सगरमाथा लगायत विश्वका अग्ला हिमशिखरहरुको प्रतिनिधित्व गर्ने उनको भनाई छ । 

गुरुङले नेपाल र बेलायतबीच निकै पहिले नै हवाई सेवा सम्झौता भइसकेको र थप आवश्यक प्रक्रिया पूरा गरी हवाई सेवा सम्झौता अनुसार नेपाल र बेलायतबीच हप्ताको तीन वटा उडान गर्न मिल्ने बताएका छन् । त्यो हवाई सेवा सम्झौता १९९४ मा भएको हो । 

बेलायत–नेपाल सिधा उडान सुरु भएसँगै यसले नेपालको पर्यटन क्षेत्रमा ठूलो सहयोग पुग्ने र नेपालको कनेक्टिभिटि पनि बढ्ने गुरुङको विश्वास छ । 

Advertisement