शंकर ग्रुपको होटल हिल्टनमा ९० प्रतिशत काम सम्पन्न, अर्को बर्षदेखि सञ्चालनमा ल्याउने तयारी

Advertisement

काठमाडौं । शंकर ग्रुपको लगानीमा निर्माण भइरहेको होटल हिल्टन काठमाडौंको ९० प्रतिशत काम सम्पन्न भएको छ । राजधानीको नक्सालमा निर्माणाधिन होटल छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको छ । 

होटल सन् २०१८ देखि निर्माण सुरु गरिएको थियो । होटल निर्माणसँगै सुरु भएको कोभिड १९ ले निर्माण कार्य रोकिनुको साथै लागत समेत बढाएको हो । 

Advertisement

सुरुमा छ अर्ब ६८ करोड लागत अनुमान गरेको होटल हिल्टनमा पछि लागत बढेर छ अर्ब ८५ करोड पुगेको हो । तीन वर्षमै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको होटल निर्माण लम्बिएको हो । 

होटल निर्माणको ९० प्रतिशत काम सक्किएको रेटिङ एजेन्सी इन्फोमेरिक्सले जनाएको छ । एजेन्सीको अनुसार होटलले सन् २०२३ को डिसेम्बरसम्म सबै कामसक्ने उल्लेख गरेको छ । यस्तै सन् २०२४ बाट पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने कम्पनीको तयारी रहेको छ । 

पाँच तारेस्तरको होटल हिल्टन काठमाडौंको व्यवस्थापन हिल्टन वर्ल्ड वाइड म्यानेज लिमिटेड इङल्याण्डले गरेको छ । हिल्टन वर्ल्डवाइड अमेरिकाको मल्टिनेश्नल ब्राण्ड हो । यो कम्पनीले विश्वका १२३ भन्दा बढी देशहरुमा होटलको व्यवस्थापन गरिरहेको छ । 

होटल हिल्टनमा शंकर ग्रुपको अधिकांश लगानी रहेको छ । ग्रुपका सञ्चालक साहिल अग्रवालले हिल्टन काठमाडौंको ९० प्रतिशत शेयर होल्डिङ गरेका छन् । 

पाँचतारे लक्जरी होटल हिल्टन काठमाडौँमा १७५ गेष्ट रुम रहनेछन् । हेल्थ क्लब स्पा, वातावरण अनुकूल स्विमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधा उक्त होटलमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

उक्त होटलले स्थानीय तथा अन्तर्राष्ट्रिय स्वादका खाना उपलब्ध गराउने बताइएको छ ।  होटलमा विवाह तथा सभा समारोहका लागि छुट्टै सभाकक्ष निर्माण हुने भएको छ । 

दुई तले अण्डर ग्राउण्डसहित बन्न लागेको १८ तल्ले भवनको १६औँ तलामाथि स्विमिङ पुल रहनेछ । होटलमा नाइट क्लब, जिम हल, स्पालगायतका सुविधासमेत हुनेछन् । 

Advertisement