ट्वान्टी–ट्वान्टी विश्वकप छनोटका सबै खेल फाइनलसरह हुनेछन्ः कुशल भुर्तेल

Advertisement

काठमाडौं । नेपाल क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले सिंगापुरमाथि आठ विकेटको जित निकालेपछि हरेक खेल फाइनलसरह नै खेल्ने बताएका छन् । आइसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट छनोटअन्तर्गत एशिया क्वालिफायरको पहिलो खेलमा सोमवारसहज जित निकालेपछि कुशलले सबै खेल फाइनलसरह नै खेल्ने प्रतिक्रिया दिए । 

भुर्तेलले सबै खेल फाइनल जसरी खेल्ने लक्ष्य रहेको पनि बताए । पहिलो खेलमा सबै खेलाडीले राम्रो गरेको उल्लेख गर्दै उनले हरेक खेल फाइनल जसरी खेल्ने धारणा राखे । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १४५ रनको लक्ष्य नेपालले १६.३ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्दै जारी विश्वकप छनोटमा सुखद् शुरुवात गरेको छ । 

Advertisement

नेपालको जितमा कुशलले ४८ बलमा ७५ रन बनाए । उनको इनिङमा आठ चौका र दुई छक्का रह्यो । नेपाललाई जितका लागि पाँच रन आवश्यक हुँदा उनी अन्तत कृष्णको बलमा आउट भए । तर, लगत्तै ब्याटिङ गर्न आएका कुशल मल्लले पहिलो बलमा नै छक्का प्रहार गर्दै २१ बल अगावै जित सुरक्षित गराए । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले आफ्ना प्रशिक्षक मोन्टी देसाईको लगातारको भरोसालाई सही सावित गर्न सकेकोमा खुशी लागेको बताए । उनले पछिल्ला खेलमा आफ्नो प्रदर्शन राम्रो हुन नसके पनि प्रशिक्षक देसाई आफूमाथि लगातार विश्वास गरिरहेको पनि उल्लेख गरे । 

मुलपानीमा पछिल्ला खेलहरू आफ्ना लागि राम्रो नभए पनि प्रशिक्षक मोन्टी देसाईले विश्वास गरिराख्दा यस किसिमको प्रदर्शन सम्भव भएको पनि धारणा राखे । भुर्तेलले सिंगापुरबिरुद्ध ७४ रनको अर्धसतक प्रहार गरेका थिए । गत त्रिकोणात्मक श्रृंखलाको फाइनलमा पनि उनले संयुक्त अरब इमिरेट्स (युएई)सँग ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए । 

लगातार अर्धशतक प्रहार गरेका कुशलले ढेड वर्षपछि पहिलो विकेटका लागि आसिफ सेखसँग ८४ रनको अर्धसतकीय साझेदारी पनि गरेका छन् । कुशलले आसिफ शेखसँग पछिल्ला २–३ वर्षदेखि नियमित ओपनिङ गरिरहेकाले एकअर्काप्रति राम्रो कमिनिकेसन हुने गरेको बताए । 

तर, सोमवार आसिफसँग ढेड वर्षपछि अर्धसतकीय साझेदारी गर्न सक्दा निकै खुशी भएको पनि प्रतिक्रिया दिएका छन् । सिंगापुरसँगको खेल अगाडि नेपालका अलराउण्ड दीपेन्द्रसिंह ऐरी घाइते हुन पुगेका थिए । अभ्यासका क्रममा गोलीगाठोमा चोट बोकेका दीपेन्द्रको पुनरागमनबारे अहिले नै केही भन्न नसकिने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

भुर्तेलले वर्षको अन्तिम प्रतियोगिताका रूपमा रहेको विश्वकप छनोटमा नेपालका महत्ववपूर्ण अलराउण्डर दीपेन्द्रसिंह चोटग्रस्त हुँदा निकै दुःख लागेको बताए । विहान फिल्डिङ गर्दा दीपेन्द्रको एन्कलमा चोट लागेको थियो । उनी चोट बोकेर बाहिरिनु पर्दा धेरै दुःख लागेको छ । नेपाली राष्ट्रिय टोलीका अलराउण्डर गुल्सन झाले शतप्रतिशत आफूहरू विश्वकपमा छनोट हुने बताउनु भयो । नेपालको इनिङमा आसिफले २७ रन र कप्तान रोहित पौडेलले २४ बलमा ३५ रन बनाए पछि नेपालले सहज जित निकालेको थियो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रनको मध्यम योगफल खडा गर्यो । खराब शुरुवात गरेको सिंगापुरका लागि ओपनर रोहन रंगराजनले सर्वाधिक ४६ रनको योगदान दिए । मनप्रीत सिंहले २४ रन र आर्यावीर चौधरीले ३७ रन जोडे । त्यसबाहेक अन्य ब्याटर भने क्रिजमा जम्न सकेनन् । नेपालको इनिङमा अविनाश बोहोराले तीन विकेट तथा सन्दीप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई विकेट लिए । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल जित्दै सुखद् शुरुवात गरेको छ ।  

Advertisement

Advertisement