‘वान’ प्रणाली गर्दा तीन महिनामा उठ्यो ८२४ प्रतिशत बढी राजश्वः भन्सार विभाग

Advertisement

काठमाडौं। भन्सार विभागले वाइडर एरिया नेटवर्क (वान) सक्रिय बनाउँदा ४६ करोड थप राजश्व संकलन भएको छ । विभागले चालु आर्थिक बर्षको पहिलो तीन महिनामै ४६ करोड बढी राजश्व अशुल गरेको हो । 

अघिल्ला वर्षहरुमा निष्क्रिय जस्तै बनेको वान अहिले सक्रिय बनाइएको छ । विभागले प्रत्यक्ष अनुगमनबाट चालु आर्थिक वर्षको साउनमा १२ करोड १८ लाख, भदौमा १४ करोड र असोजमा २० करोड थप राजश्व असुल गरेको हो ।

Advertisement

गत आर्थिक वर्षको सोही अवधिमा प्रत्यक्ष अनुगमनबाट साउनमा दुई करोड ३० लाख, भदौमा एक करोड ८६ लाख र असोजमा ८३ लाख थप राजश्व असुल गरिएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रत्यक्ष अनुगमनबाट करिव ८२४ प्रतिशत थप राजश्व संकलन गरिएको विभागको दावी छ । 

आफूले लिएको प्रभावकारी नीतिका कारण प्रत्यक्ष र अप्रत्यक्ष रुपमा समग्र राजश्व संकलनमा सुधार भएको विभागको तर्क छ । समग्र व्यापार बृद्धिको तुलनाभन्दा राजश्व संकलनको बृद्धि दर बढि भएको, भन्सारको आन्तरिक नियन्त्रण पक्ष प्रभावकारी भएको, सबै भन्सार कार्यालयमा भन्सार मूल्यांकनमा एकरुपता कायम भएको विभागको भनाई छ। 

वान प्रणालीले भन्सार नाकाबाट जाँचपास हुन लागेका सामग्री सन्दर्भसूचीबमोजिम महसुल असुल गरिएको छ कि छैन भनेर हेर्ने गर्दछ । यसरी भन्सार कार्यालयका कर्मचारीहरुले गरेको गल्तीलाई सुधार गरेर सो बराबरको थप राजश्व असुल गरिएको जनाइएको छ ।

वान प्रणालीअन्तर्गत सबै भन्सार कार्यालय र छोटी भन्सारलाई अनलाइन प्रणालीमा ल्याएको छ । ‘वान’ प्रणालीमा कुन भन्सार कार्यालयले कुन सामग्री कसरी जाँचपास गर्यो ? स्पष्ट देख्न सकिन्छ । विभागले शाखालाई चार भागमा विभाजन गरेको छ जसलाई उपसचिवको नेतृत्वमा जिम्मा दिइएको हुन्छ । 

बिहान कर्मचारी कार्यालय आएपछि सुरुमै गोलाप्रथा गरिन्छ । यसरी गरिएको गोला प्रथामा कुन भन्सार कार्यालयको अनुगमन कुन कर्मचारीले गरिहरहेको छ ? कर्मचारीले थाहा पाउँदैनन् । यसले भन्सार कार्यालयहरुले गर्ने कैफियतलाई नजिकबाट नियाल्न सकिन्छ ।

सामान्य प्रकृतिको गल्तीमा भन्सार परीक्षणमा खटिएका कर्मचारीले सचेत गराएर रकम थप्न लगाउँछन् भने गम्भीर प्रकृतिको गल्तीमा कर्मचारीलाई नै सरुवा गरेर कारबाही प्रक्रिया अघि बढाउने गरिएको विभागको दावी छ ।

Advertisement