टर्की पठाइदिने भन्दै राष्ट्र संघका महासचिवको हस्ताक्षर किर्ते गरी करोडौं ठगी गर्ने कारवाहीमा

Advertisement

काठमाडौं । टर्की पठाइदिने भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको हस्ताक्षर किर्ते गरी करोडौं रुपियाँ ठगी गर्नेलाई प्रहरीले पक्राउ गरी कानुनी कारवाही गरेको छ । 

गुटेरसको हस्ताक्षर गरी ९० जनालाई ठगी गर्ने सुरुचि भुजेललाई पक्राउ गरी अदालतमा पेश गरेकोमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ  ।  भुजेल सोमबार जेल चलान भएकी हुन् । 

Advertisement

राष्ट्रसंघमार्फत टर्की पठाउने नाममा भुजेलसहितले पीडितहरूबाट साढे दुई करोड रुपियाँ रकम उठाएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले केही हप्ताअघि नै पक्राउ गरेकोमा ढिलो गरी सार्वजनिक गरिएको हो । 

भूकम्पले क्षतिग्रस्त टर्कीका शहरहरुको पुनर्निर्माणका लागि राष्ट्रसंघमार्फत मानिसहरु लैजाने तयारी भइरहेको भन्दै भुजेलको टिमले मानिसहरुसँग रकम उठाएका थिए । महासचिव गुटेरेसले नै हस्ताक्षर गरेको ‘अफर लेटर’ देखाउँदै उनीहरूले ९० जनासँग दुई करोड ५९ लाख ७९ हजार पाँच सय रकम उठाएको प्रहरी अनुसन्धानबाट भेटिएको थियो । 

पक्राउपछि भुजेललाई सात वर्षसम्म कैद सजायको माग गर्दै सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेकोमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो । भुजेलका श्रीमान् विनोद श्रेष्ठ तथा भाइ सुजन भुजेल भने फरार रहेका छन् । उनीहरुलाई पनि प्रतिवादीका रूपमा मुद्दा दायर गरिएको छ । ठगीका मुख्य योजनाकार विनोद भएको प्रहरीको भनाई छ । उनीहरुले चुच्चेपाटीमा रेष्टुरेन्टसमेत सञ्चालन गर्दै आएको पाइएको छ । मुख्य योजनाकार विनोद भए पनि उनले आफ्नो श्रीमतीको बैंक खाताबाट सबै कारोबार गर्दै फँसाउने काम गरेको पाइएको छ । 

पीडितहरूले जोहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । ठगीमा संलग्नहरुले राष्ट्रसंघका महासचिव गुटेरसले नै हस्ताक्षर गरेको पत्र देखाउँदै रकम संकलन गरेका थिए, जसअनुसार टर्कीमा मासिक एक हजार चार सय डलरसम्म तलब हुने र स्थायी बसोबास (पीआर)को समेत सम्भावना रहेको लोभ देखाइएको थियो । पीडितहरुले प्रतिव्यक्ति चार लाख रुपियाँसम्म बुझाएको पाइएको प्रहरीको भनाई छ । पैसा बुझाएपछि ई–भिसा पाएका पीडितहरुले ई–भिसा नक्कली भएको चाल पाएपछि प्रहरीमा जाहेरी दिएका थिए । 

पैसा बुझाएपछि इभिसासमेत दिएका थिए । तर, त्यो पनि नक्कली भएको खुलेको छ । पछि श्रेष्ठ फरार भएपछि पीडितहरू प्रहरीकोमा पुगेका थिए । धेरै कारोबार सुरुचीको बैंक खातामार्फत भएकाले प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको हो । विनोद र सुरुचीले काठमाडौंको चुच्चेपाटीमा जमघट एन्ड बाइट्स रेस्टुरेन्ट चलाउँदै आएका थिए । पीडितहरूलाई त्यहीँ बोलाएर झुटो आश्वासन दिई उनले ठग्दै आएका थिए । सुरुचीले भने सबै लेनदेन श्रीमानले गरेकाले आफूलाई जानकारी नभएको बयान दिएकी थिइन् । 

इन्स्टाग्रामबाट चिनेका युवकद्वारा यौनशोषण र ठगी 

सामाजिक सञ्जाल इन्स्टाग्रामबाट चिनजान भएका युवालाई विश्वास गर्दा एक युवतीले लाखौँ गुमाएकी छिन् भने यौनशोषणमा समेत परेकी छिन् । शोषण गर्ने रामेछाप मन्थली घर भई बौद्ध बस्ने जेरी भन्ने नवीन तामाङ लामालाई प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेकोमा अदालतले उनलाई थुनामा पठाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले तामाङलाई पक्राउ गरी जबर्जस्ती करणी र ठगी मुद्दा चलाएको थियो । पीडितको जाहेरीअनुसार तामाङले कल मी मिस्टर तामाङ नामक  इन्स्टाग्राम अकाउन्टबाट युवतीलाई रिक्वेस्ट पठाई चिनजान भएको थियो । 

तामाङले आफू ३ कक्षादेखि अमेरिकामा अध्ययन गरेको र अमेरिका पठाइदिन सक्ने भन्दै नजिकिएका थिए । त्यही आश्वासनमा विभिन्न ठाउँमा राखेर यौनशोषण गरेको र १४ लाख रुपैयाँसम्म ठगी गरेको उजुरी दिएकी छिन् । पछि सम्पर्कविहीन भएपछि युवतीले प्रहरीमा उजुरी गरेकी हुन् । तामाङलाई मंगलबार काठमाडौं जिल्ला अदालतले थुनामा पठाएको छ । 

Advertisement