यूनाइटेड सहकारीले १५ लाखको ऋणका लागि सात करोडको घरजग्गा कब्जा गरेको गुनासो

Advertisement

काठमाडौं । पुतलीसडकको यूनाइटेड बचत तथा ऋण सहकारीले पूर्वी–रुकुम पुथाउत्तर गंगा गाउँपालिका १० स्थायी निवासी सुरेन्द्र पुनको बालाजुमा रहेको सात करोड रुपियाँ मूल्य पर्ने घरजग्गा कब्जा गरेको गुनासो गरेका छन् । 

बुधबार पत्रकार सम्मेलन गरी उनले करिब १२ वर्ष जापानमा श्रम गरेर कमाएको रकमले लिएको घर अदालत, मालपोत, वडा कार्यालय र वकिलहरुसँग मिलेमातो गरेर सहकारीले लिलाम गरेको पीडित पुनले बताए । 

Advertisement

आफू वैदशिक रोजगारीकै क्रममा जापानमा रहेको समयमा २०६१ सालमा सहोदर भाई पञ्च पुनले दाजु सुरेन्द्रको नाममा रहेको घरजग्गा आफू नै सुरेन्द्र भएको दावीसहित किर्ते हस्ताक्षर र ल्याप्चे गरी ऋण लिएको अदालतले समेत पुष्टि गरेको बताउँदै पीडित घरधनीले ऋण लिँदाको समयमा सहकारीले सुरेन्द्रको घरलाई दृष्टिबन्दक राखेर भाई पञ्च पुनले पाँच लाख, निरन्जन शर्माले पाँच लाख र दिपेन्द्र उप्रेतीले पाँच लाख बाँढेको जिल्ला अदालत काठमाडौंलेसमेत पुष्टि गरिसकेको बताए ।

आफू २०६३ सालमा जापानबाट फर्किएपछि आफ्नो घरजग्गा किर्ते जालसाजी गरेर सहकारीमा धितो राखेको थाहा पाएको, सहकारीमा सोधखोज गर्दा तत्काल ऋणको दोब्बर बढी ३२ लाख तिर्न भनी घरमा पत्र पठाएको, आफूले ऋण नलिएको बरु भाईले किर्ते गरेको भन्दा सहकारीले नमानेपछि न्यायको लागि अदालतमा मुद्दा लडेको पीडित सुरेन्द्र पुनले बताए । 

करिब सात वर्षपछि अदालतमा ल्याप्चे तथा हस्ताक्षर किर्ते पुष्टि भएपछि पीडितको पक्षमा फैसला गरे पनि सहकारी पुनः त्यसविरुद्ध उच्चअदालत गएपछि मिलेमतोमा मुद्दा उल्ट्याइएको उनको गुनासो छ ।

त्यसपछि पीडित न्यायको लागि सर्वोच्च अदालतमा गएको र सर्बोच्चले किर्ते तथा ठगी कुनै नभएको बरु लेनदेनमार्फत मिलापत्र गर्नु भनी पुनः जिल्ला अदालत फर्काएको पीडित पुनले जानकारी दिए । 

उनले आफू १८ वर्षदेखि अदालतमा मुद्दा चलिरहँदा गत भदौमा सहकारीले कानुनी मर्यादालाई तोड्दै घरजग्गा लिलाम गरी आफूलाई सडकमा पुर्याएको बताए । कतै न्याय नपाएपछि बाध्य भई आमरुपमा न्याय माग्न र पीडा सार्वजनिक गर्न बाध्य भएको बताउँदै सुरेन्द्र पुनले आफूलाई निकै सास्ती दिएको बताए । 

Advertisement

Advertisement