आर्थिक मन्दीको मारमा रहेका उद्योगहरुमा तिहारपछि लाइन काट्ने विद्युत प्राधिकरणको तयारी

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ट्रंक लाइनको बक्यौता महशुल नतिरेको भन्दै तिहारपछि ठूला उद्योगहरुको लाइन काट्ने तयारी गरेको छ । 

ट्रंक लाइनको महशुल विवादमा आफ्नो कमजोरी लुकाउँदै प्राधिकरणले उद्योगहरुलाई पुनः दुःख दिने तयारी गरेको हो । बक्यौता तिर्न भन्दै प्राधिकरणले दशैंअघि दुई पटक सुचना निकालेको थियो । तर प्रधानमन्त्रीको निर्देशनपछि उद्योगहरुको लाइन काट्ने योजनाबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पछि हटेका थिए । 

Advertisement

लोडसेडिङ धेरै हुँदाको समयमा उद्योगहरुलाई प्रिमियम शुल्क लिएर नियमित विद्युत आपूर्ति दिन प्राधिकरणले निर्देशिका जारी गरेको थियो । निर्देशिका जारी गरेपछि नियमित विद्युत माग गर्ने उद्योगहरुलाई सम्झौता गरेर दैनिक २० घण्टा नियमित विद्युत आपूर्ति गराएको अवस्थामा टीओडी मिटरको आधारमा प्रिमियम महशुल माग गर्न सकिन्थ्यो । तर प्राधिकरणले निर्देशिका जारी भएको दुई–तीन बर्षपछि विना आधार र प्रमाण उद्योगहरुलाई छुट बिल भन्दै प्रिमियम महशुल माग गरेपछि उद्योगीहरु रुष्ट भएका थिए । 

दैनिक छ घण्टाभन्दा बढी लोडसेडिङ भएको अवस्थामा दैनिक नियमित २० घण्टा विद्युत आपूर्ति गरेको अवस्थामा मात्रै टीओडी मिटरका आधारमा उद्योगहरुसँग प्रिमियम महशुल माग गर्नसक्ने आधारलाई लत्याउँदै प्राधिकरण कार्यकारी निर्देशक घिसिङले आफ्नो कमजोरी लुकाउन उद्योगहरुमाथि अर्बौंको व्ययभार थप्ने प्रयास गर्दै आएका छन् । 

प्राधिकरणका अनुसार यस्तो महशुल बक्यौता २५ अर्ब पुगिसकेको छ । महशुल अशुल हुने कानुनी आधार बिना नै घिसिङले ट्रंकलाइनबापतको विवादित महशुललाई आम्दानीमा देखाए आफ्नो प्रगति विवरणमा प्रस्तुत गरेका छन् । तर उद्योगीहरु विना आधार र प्रमाणको यो महशुल नतिर्ने तर लाइन काटे सरकारलाई चावी बुझाउने मनस्थितिमा छन् । 

यस महशुल विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसदीय समितिहरुले समेत प्राधिकराण र प्राधिकरण कार्यकारी निर्देशक घिसिङलाई दोषी औंल्याउँदै आएका छन् । पछिल्लो समयमा देशको आर्थिक मन्दीका कारण उद्योगहरुले न्यून क्षमतामा मात्रै उत्पादन गरिरहेको बेला प्राधिकरणले फेरि लाइन काट्ने योजना बनाएको छ । 

प्राधिकरण उपकार्यकारी निर्देशक मनोज सिलवालले प्राधिकरणभित्र छलफल हुँदा दशैं तिहारको बिचमा लाइन नकाट्ने कुरा भएकोले आफूहरु रोक्किएको बताउँदै तिहारपछि ट्रंक लाइनको बक्यौता महशुल नतिर्नेको लाइन काट्ने बताए । 

उनले पटक पटक आफूहरुले सुचना निकालेर जानकारी दिएको बताउँदै माथिबाट दबाब आएपछि प्राधिकरण पछि नहट्ने बताए । तर उद्योगीहरु प्राधिकरणको चेतावनीबाट नडराउने बरु उद्योगको चावी बुझाउने तयारीमा छन् । यस्तो महशुल विवादमा रहेका उद्योग ८७ वटा छन् जसमा अधिकांश सिमेन्ट र स्टिल उद्योग पर्छन् । 

Advertisement