‘समग्र आर्थिक पक्षको प्रतिनिधित्व गर्ने बैंकिङ क्षेत्रमा आर्थिक मन्दीको गम्भीर असर देखा परेको छ । ऋणको लागि राखिएको धितो बिक्री नहुँदा बैंकहरु थप समस्यामा परेका छन् । दैनिक पत्र पत्रिकामा छापिने लिलामीको सूचना खरिद गर्ने व्यक्तिले चासो नदिँदा समस्या थप बढेर गएको हो । यो समस्या समाधानका लागि ‘एसेट म्यानेजमेन्ट’ कम्पनी चाहिने अवस्था देखिएको छ । यो विषयमा राष्ट्र बैंकसँग पनि छलफल भइरहेको छ ।’

बैंकहरुको खराब कर्जा बढ्दा जोखिम भारका लागि १६ अर्ब विनियोजन

Advertisement

काठमाडौं। चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकहरुको खराब कर्जा ह्वात्तै बढेको छ । यस अवधिमा समग्र बैंकहरुको खराब कर्जा ३.६ प्रतिशतले बढेको नेपाल बैंकर्स एशोसियशनले जनाएको छ ।

खराब कर्जा बढेसँगै बैंकहरुले जोखिम व्यवस्थापनका लागि छुट्याउने रकम (प्रोभिजनिङ) पनि निकै बढेको छ । एशोसियनको तथ्यांक अनुसार समग्र बैंकको खराब कर्जा बढेकाले जोखिम भार व्यवस्थापनका लागि बैंकले १६ अर्ब रुपियाँ छुट्याएको छ । 

Advertisement

एशोसियनका अध्यक्ष सुनिल केसीले खराब कर्जा वृद्धि भए पनि अवस्था धेरै नबिग्रेको बताउँदै भने, ‘यस्तो प्रोभिजनिङ गत आर्थिक वर्षको पहिलो त्रैमासमा सात अर्ब मात्रै थियो । अहिले गत वर्षभन्दा केही बिग्रिएको छ । यो सजग हुने बेला हो । आत्तिनुपर्ने अवस्था छैन् । 

उनका अनुसार गत आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्म खराब कर्जा २.८ प्रतिशत रहेको थियो । एशियाका अन्य देशका बैंकहरुको तुलनामा नेपाली बैंकको खराब कर्जाको अवस्था राम्रो रहेको केसीको तर्क छ । 

बैंकहरुले जस्तो अवस्थामा पनि नाफा मात्रै कमाउँछन् भन्नु गलत हो भन्दै उनले पहिलो त्रैमासमा देखिएको तथ्यले त्यसलाई पुष्टि गर्ने बताए । अध्यक्ष केसीले थपे, ‘बैंकहरुले जस्तो अवस्थामा पनि नाफा मात्रै कमाउँछन् भन्ने भाष्य गलत हो । पहिलो त्रैमासमा केही बैंकहरु घाटामा समेत गएका छन् । समग्र आर्थिक पक्षको प्रतिनिधित्व गर्ने बैंकिङ क्षेत्रमा आर्थिक मन्दीको गम्भीर असर देखा परेको छ ।’

उनका अनुसार ऋणको लागि राखिएको धितो बिक्री नहुँदा बैंकहरु थप समस्यामा परेका छन् । दैनिक पत्र पत्रिकामा छापिने लिलामीको सूचना खरिद गर्ने व्यक्तिले चासो नदिँदा समस्या थप बढेर गएको छ । यो समस्या समाधानका लागि एशोसियनले ‘एसेट म्यानेजमेन्ट’ (सम्पत्ति व्यवस्थापन) कम्पनीको माग गरेको छ । यस विषयमा राष्ट्र बैंकसँग पनि छलफल भइरहेको अध्यक्ष केसीले बताए । 

Advertisement

Advertisement