बीमा संस्थान जोगियो, तर प्रशासक जोगिएनन्

Advertisement

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान विघटन हुनबाट जोगिएको छ । अन्तिम समयमा भए पनि संस्थान कम्पनीमा रुपान्तरण हुन सकेको हो । 

भोलि (कात्तिक २२)भित्र संस्थानलाई कम्पनीमा रुपान्तरण नगरेको भए संस्थाको वैधानिक हैसियत नै समाप्त भएर अन्योलताको स्थिति सिर्जना हुनेथियो । नयाँ बीमा ऐनअनुसार तोकिएको सीमाभित्र बाध्यकारीरुपमा कम्पनीमा रुपमान्तरण हुनुपर्ने बाध्यता रहेकाले पनि अन्तिम समयमा मन्त्रिपरिषदले संद्धान्तिक स्वीकृति दिएर कम्पनी रजिष्ट्रारको कार्यालयले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको प्रमाणपत्र दिएको हो । 

Advertisement

संस्थान सुधार गर्न पूर्णरुपमा असफल भएका यसअघिको बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकले कम्पनीमा रुपान्तरण गर्न सकारात्मक भूमिका खेले पनि आफ्नो जागिर भने जोगाउन सकेनन् । रुपान्तरित कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन निकै दौडधुप र लबिङमा लागेका उनलाई अहिलेको सत्ता समीकरण अनुकुल बन्न सकेन् । 

यसअघि नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेला प्रशासक नियुक्त भएका पाठकलाई नै नयाँ कम्पनीमा कायम राख्न अर्थमन्त्री प्रकाशशरण महत तयार भएनन् । संस्थानलाई कम्पनी रुपान्तरण गर्न लाग्नुपर्ने उनको बाध्यता थियो । सँगै पद कायम हुनसक्ने आशा पनि पाठकलाई थियो । तर अन्तिम समयमा अर्थमन्त्री र अर्थ मन्त्रालय उनको पक्षमा नउभिएपछि पाठक आज (मंगलबार)बाट विदा भए । 

नयाँ कम्पनीको सञ्चालक समितिको पहिलो बैठकले संस्थानमा उप महाप्रवन्धक महेश रिमाललाई निमित्त सीईओको जिम्मेवारी दिएको छ । उनी अहिले कायम रहेका व्यवस्थापकमध्ये सबैभन्दा बरिष्ठ भएकाले निमित्त सीईओको जिम्मेवारी दिइएको हो । तर पाठकको बर्हिगमन भने मिठो हुन सकेन् । न उनले सम्मानजनक विदाई हुने मौका पाए । न अपेक्षाअनुसार नयाँ कम्पनीको प्रमुख कार्यकारी हुने मौका पाए । पाठकसँगै यसअघिको संस्थानका सहायक प्रशासक कृष्णकुमार श्रेष्ठ पनि विदा भएका छन् । 

पाठक सोमबार बेलुकासम्म पनि नयाँ कम्पनीको सीईओ आफू नै बन्ने आशामा थिए । अर्थ मन्त्रालयका अधिकारीहरुले पनि उनको निरन्तरतालाई अस्वीकार गरेका थिएनन् । संस्थानलाई कम्पनीमा रुपान्तरण गर्ने प्रक्रिया टुंग्याउनुपर्ने भएकोले र छोटो समयको संक्रमणकालिन समयमा प्रशासकले काम नगरिदिए प्रक्रिया अवरुद्ध हुनसक्ने भएकाले अर्थ मन्त्रालयले पाठकलाई सकारात्मक आश्वासन दिँदै आएको स्रोतको भनाई छ । स्रोतको भनाई छ, ‘पाठक सरको बर्हिगमन फिल्मी शैली जस्तै भयो । हिजो बेलुकासम्म पनि उहाँ नै कायम हुने कुरा थियो । आज एकाएक अर्कै सिनारियो देखियो ।’ 

अर्थमन्त्रालयले पनि ठूलै विवाद सिर्जना हुनसक्ने स्थितिको अन्त्य गर्दै पाठकलाई प्रबन्धपत्र नियमावली दिनुभन्दा पहिले नै साँझको मौका पारेर कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रबन्धपत्र र नियमावली पठाएको खुलेको छ । एमाले निकट पाठकले जागिर जोगाउन आफू माओवादी केन्द्रनिकट भएको जिकिरसहित माओवादी नेताहरुको लबिङ गर्नसमेत पुगेको स्रोतको दावी छ । त्यो गर्दा पनि उनले जागिर जोगाउन सकेनन् । 

प्रशासक पाठकसँगै बिदा भएका संस्थानका सहायक प्रशासक श्रेष्ठ भने आज पनि कार्यालयमा आए । दिनभरी कुर्सीमा बसे । तर बेलुकी आफ्नो जागिर गएको पुष्टि भएपछि घरतिर लागे । श्रेष्ठले एक वर्षअघि नै बीमा संस्थान कम्पनीमा जान लागेको र आफूहरुले साधारण शेयर (आईपीओ) समेत जारी गर्ने अन्तिम तयारीमा पुगेको दावी गरेका थिए । 

संस्थान कम्पनीमा रुपान्तरण भएसँगै यसले अब आफूलाई रुपान्तरण गरी प्रतिस्पर्धात्मकरुपमा अघि बढ्नुपर्ने अवस्था आएको छ । बर्षौंदेखिको लथालिंग हिसाब मिलान गरी लेखापरीक्षण गर्नुपर्ने, त्यसको आधारमा बार्षिक साधारणसभा गर्नुपर्ने, सम्पत्तिभन्दा दायित्व बढी भएको अहिलेको जटिल अवस्थामा सुधार गरी आधुनिक ढंगबाट सेवा प्रवाह गर्नुपर्ने, नियामक नेपाल बीमा प्राधिकरणको नीति नियमको पूर्ण पालना गर्नुपर्ने, आफ्नो भौतिक सम्पत्तिको बारेमा रहेको अन्योलता अन्त्य गर्नुपर्ने चुनौति आएको छ । 

यसअघि पाठकले आफ्नो कार्यकालमा केही शाखाहरु थप्ने, मोवाइल एप सञ्चालनमा ल्याउने, आफ्नो कार्यालय भवनमा रंग लगाउने भन्दा कुनै पनि काम हुन सकेन् । संस्थानले बर्षौंदेखिको लेखापरीक्षण सम्पन्न नगर्दासम्म उसलाई अघि बढ्न अवरोध नै अवरोध रहने छ । 

Advertisement

Advertisement