दुई अर्ब लगानीमा अन्तर्राष्ट्रिय चेन होटल ‘होलिडे इन एक्सप्रेस काठमाडौं’ सञ्चालनमा

Advertisement

काठमाडौं । दुई अर्ब लगानीमा अन्तर्राष्ट्रिय चेन होटल ‘होलिडे इन एक्सप्रेस काठमाडौं’ सञ्चालनमा आएको छ । नक्सालस्थित यो होटलमा व्यवसायी नरेशलाल श्रेष्ठ, महेश्वर श्रेष्ठ र सुजित श्रेष्ठको लगानी रहेको छ । 

होटलको औपचारिक शुभारम्भ भोलि (बिहीबार)बाट गरिँदै छ । दुई रोपनी क्षेत्रफलमा निर्माण भएको यो होटलको सबै तयारी पूरा भएकाले भोलिबाट औपचारिक सञ्चालनमा ल्याउन लागेको होटलका अध्यक्ष नरेशलाल श्रेष्ठले बताए । उनी नेपाल उद्योग वाणिज्य महासंघको कायृकारिणी सदस्य तथा निर्यात समितिको सभापति पनि हुन् । 

Advertisement

होटलको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुडान किरातीले गर्ने कार्यक्रम छ । नरेशलाल श्रेष्ठले भने, ‘हामी तीन जनाले चार वर्षपछि यो अन्तर्राष्ट्रिय ब्रान्डको होटल नेपालमा भित्राएका हौं । ‘होलिडे इन एक्सप्रेस’ ब्रान्डको होटल नेपालमा यो पहिलो हो । होटलले तारे लिएको छैन् । तर, यो अन्तर्राष्ट्रिय ब्रान्डको होटल हो । तारे नलिए पनि यो होटल चार तारे स्तरको हुनेछ ।’ 

‘होलिडे इन एक्सप्रेस काठमाडौं’मा अहिले पौडी पोखरी राखिनसकेको बताउँदै उनले अर्को वर्षसम्म यस्तो पोखरी तयार हुने बताए । यो ब्राण्डको होटल विश्वका ११० देशमा रहेको बताउँदै श्रेष्ठले होटलको सेवा, सुविधा, गुणस्तर निकै राम्रो रहेको दावी गरे । ‘होलिडे इन एक्सप्रेस’ ब्रान्डको विश्वभरमा छ हजार वटा होटल रहेको जनाइएको छ ।’

नरेशलाल श्रेष्ठले थपे, ‘यस होटलको एउटा विशेषता भनेको शौचालयबाट जति पनि फोहोर निस्किन्छ, त्यो सिधै ढलमा जाँर्दैन् । हामी त्यसलाई रिसाइकल गरेर मात्र पठाउँछौं ।’ सय वटा रुमहरु रहेको यो होटलमा दुई वटा ब्याङक्वेट हल, दुई वटा रेस्टुरेन्ट छन् भने अहिले ५० जना कर्मचारी राखिएको छ । अझै ३० जना थप्ने योजना छ । कुल चार रोपनी क्षेत्रफलमध्ये दुई रोपनीमा होटल निर्माण भए पनि बाँकीमा चाँडै दोस्रो चरणको काम हुने बताउँदै उनले सो ठाउँमा ब्याङक्वेट हल, पौडी पोखरी निर्माण गरिने बताए । 

नरेशलाल श्रेष्ठको नक्सालमा नै पहिलेदेखि ‘स्वर्णिम बुटिक होटल’ पनि सञ्चालनमा छ । निर्यात र पर्यटन क्षेत्रमा आवद्ध उनी विगत ३५ वर्षदेखि व्यवसायिक क्षेत्रमा सक्रिय छन् । 

Advertisement