रेमिट्यान्स ३० प्रतिशतले बढ्यो, तीन महिनामा ३ खर्ब ६५ अर्ब भित्रियो

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना अर्थात असोज मसान्तसम्म ३ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको छ । 

नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३०.० प्रतिशतले वृद्धि भई रु.३६५ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो ।

Advertisement

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ११३,३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९,२९७ रहेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १४७,९३२ र ५७,८६१ रहेकोथियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ३०.२ प्रतिशतले वृद्धि भई रु.४०४ अर्ब ४ करोड पुगेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो ।

Advertisement