घातक रोग लागेको बिरामी जस्तो गोर्खा फाइनान्सलाई निको पारेर तगडा बनाएका छौंः राई

Advertisement

काठमाडौं । गोर्खा फाइनान्सका अध्यक्ष डेकेन्द्र राईले विगतमा घातक रोग लागेको बिरामी जस्तो संस्थालाई आफूहरुले निको पारेर तगडा बनाएको बताएका छन् । 

संस्थाको २९औं वार्षिकोत्सवका अवसरमा शुक्रबार उनले गोरखा फाइनान्स विशिस्ट संस्था रहेको र निकै लामो इतिहास बोकेको संस्था भएको बताए । गोर्खा फाइनान्सले नेपालमा रेमिटान्स (विप्रेषण) भित्राउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै राईले यो संस्थामा वीर र बहादुर गोर्खालीहरुको लगानी रहेको बताए । 

Advertisement

उनले हालसम्म आउँदा लगानीकर्ता, नियमनकारी निकाय, कर्मचारी र अवकाश पाएका कर्मचारीहरुले ठूलो योगदान दिएको स्मरण गर्दै सबैको मायाले आफू अध्यक्ष भएको बताए । 

गोर्खा फाइनान्सको अहिले करिब १० अर्बको पोर्टफोलियो रहेको राईले सुनाए । उनले नेपाल राष्ट्र बैंकको निर्देशनलाई पालना गर्दै आफूहरु अघि बढेको बताए । उनले हिजोका दिनमा भन्दा पनि आजको दिनमा सुखद रुपमा काम गर्न सफल भएको बताए । 

राईले भने, ‘संस्थालाई अहिले निकै राम्रो ठाउँमा ‘सेफ ल्याण्ड’ गरिसकेका छौं । हामीहरुले संस्थागत सुशासनको हिसाबले निकै मेहनत गरेका छौं । तितो विगतका कारण डिभिडेन्ट (लाभांश) दिन नसके पनि आगामी दिनमा दोहोरो अंकको डिभिडेन्ट दिन सफल हुने छौं ।’

लामो समय आफूहरुले लाभांश दिन नसक्दा पनि लगानीकर्ताहरुले धैर्य गरेर बसेकाले कर्मचारीहरुले पनि जोश जाँगरका साथ काम गरेको बताए । 

Advertisement

Advertisement