तिहारपछि गैरआवासीय नेपालीले शेयर बजारको दोस्रो बजारमा लगानी गर्न पाउँछन्ः हमाल

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालले तिहारपछि गैरआवासीय नेपाली (एनआरएन)ले शेयर बजारको दोस्रो बजारमा लगानी गर्न पाउने बताएका छन् । 

नेपाल उद्योग परिसंघले शुक्रबार राजधानीमा गरेको एक कार्यक्रममा उनले शेयर बजारलाई गतिशील बनाउन बोर्डले तिहारपछि एनआरएनलाई ल्याउन जोडतोडले लागेको बताए । एनआरएनलाई दोस्रो बजारमा ल्याउन बोर्डले कानुन तयार गरिसकेको बताउँदै तिहार बिदा सक्किनासाथ कारोबार सुरु गर्ने बताए । 

Advertisement

हमालले भने, ‘हामीकहाँ कानुनी झन्झट धेरै छ्न् । तर जोखिम लिनका लागि हामी तयार छैनौं । उनआरएनलाई दोस्रो बजारमा ल्याउनका लागि पनि धेरै कानुनी अल्झन छ्न् । तर बोर्डले आट गरेको छ ।’ उनले बन्ड मार्केटको सम्भावनाबारे अनुसन्धान सुरु गरेको पनि बताए । 

बन्ड मार्केटका लागि धेरै काम गर्नुपर्ने छ भन्दै हमालले बोर्ड एक्लैले केही गर्न नसक्ने बताए । यसको लागि निर्देशिका बनाउन विश्व बैंकसँग काम गरिरहेको उनले बताए । अध्यक्ष हमालले ‘एसेट म्यानेजमेन्ट’ कम्पनीको आवश्यकता रहेको पनि बताए । यसको लागि शक्तिशाली कार्यदल बन्नुपर्ने उनको भनाइ छ।

एसेट म्यानेजमेन्टको कम्पनी लिस्टिङ हुँदैन् भन्दै उनले अरु देशमा पनि यस्तो कम्पनीको व्यवस्था रहेको बताए । बैंकको खराब कर्जालाई पनि एसेट म्यानेजमेन्ट कम्पनीले हेर्ने भएकाले बैंकहरुलाई सहज हुने हमालको भनाई छ । 

उनले नेपालको कानुन र प्रशासनिक प्रवन्धका कारण नेपालमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) आउन गाह्रो रहेको बताए । उनले विश्वका धेरै देशमा लगानी स्वीकृत गर्ने परिपाटी हुँदैन् भन्दै लगानी वैध हो कि अबैध हो ? छुट्याउने काम पछि हुने बताए । तर नेपालमा भने पहिले नै अल्मलाउने काम हुने हमालले बताए । 

Advertisement

Advertisement