तीन महिनामै नेप्सेमा ३२ अर्ब बढीको आईपीओ सूचीकृत, बजार पूँजीकरणको हिस्सा कस्को कति ?

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा चालु आर्थिक वर्षको तीन महिना अर्थात असोज मसान्तसम्म ३२ अर्ब बढीको आईपीओ सूचीकृत भएको छ । 

राष्ट्र बैंकले हालै प्रकाशित गरेको तीन महिनाको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन अनुसार आव २०८०/८१ को तीन महिनामा रु.३२ अर्ब ३ करोड बराबरको साधारण शेयर, रु.२ अर्ब ५४ करोड बराबरको बोनस शेयर र रु.१ अर्ब २० करोड बराबरको हकप्रद शेयर गरी कुल रु.३५ अर्ब ७७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको हो । 

Advertisement

त्यस्तै समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.३ अर्ब २० करोड बराबरको डिबेन्चर, रु.२ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड, रु.२ अर्ब ३३ करोड बराबरको साधारण शेयर र रु.१ अर्ब १० करोड बराबरको हकप्रद शेयर गरी कुल रु.९ अर्ब १३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

नेप्सेमा २०८० असोज मसान्तमा सूचीकृत ७ अर्ब ८४ करोड शेयरको चुक्ता मूल्य रु.७७२ अर्ब ९० करोड रहेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै असोज मसान्तसम्म सूचीकृत कम्पनीहरूको संख्या २६३ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ८७ जलविद्युत् कम्पनी, २० उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन् । २०७९ असोजमा सूचीकृत कम्पनीहरूको संख्या २४२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ६३.७ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १२.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ं.९ प्रतिशत, होटेलको हिस्सा ३.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.१ प्रतिशत रहेको छ ।

Advertisement

Advertisement