म मेयर भइदिएको भए महल बनाउन आउनेहरुको नक्सा पास रोकिदिन्थेंः उपसभामुख

Advertisement

ललितपुर । उपसभामुख इन्दिरा रानाले नेपालमा ठूला महल बनाउन दिन नहुने बताएकी छन् । शुक्रवार विश्व शौचालय दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले खेती योग्य जमिन नष्ट भएकाले जथाभावी घर तथा संरचना बनाउन दिन नहुने बताएकी हुन् । 

रानाले हरेक मानिसले घर बनाउँदै जाँदा नेपालमा खाली जमिन खेतीका लागि बाँकी नरहने हुँदा अब ठूला महल बनाउने कार्य रोक्नुपर्ने बताइन् । उनले दुई–तीन जनाका लागि हरेक मानिसले घर बनाउँदै जाने हो भने भविष्यमा नेपाललाई खानका लागि खाद्यान्न अपुग हुने बताइन् । 

Advertisement

रानाले भनिन्, ‘महल बनाउनका लागि जो नक्शा पास गर्न आउँछन् नि, त्यो म मेयर भए रोकिदिन्थें । सबैले घर बनाउँदै जाने दुई–तीन जनाका लागि भने कहाँ बच्छ जमिन ? सबै जंगल फाँड्छन् । खानलाई पनि पुग्दैन जस्तो लाग्छ, विश्वको अवस्था हेर्ने हो भने । भारतले चिनी रोकिदिँदा सबै मानिस बाहिर जानुभयो । विदेशी फूललाई ब्याण्ड गर्नुभयो, बालेन शाहले । तर यता नेपालीले मालाको मूल्य नै बढाए ।’

उनले थपिन्, ‘कोरोनाको बेलामा मैले खाना खुवाउँदा दरबारमार्गमा फोहोर भयो भनेर बिरोध गरे । मैले खाना खानेहरुलाई पनि बोलाएर त्यहीँ बेस्करी सफा गरेको छु दरबार स्क्वाएरमा । पानीका कारण मोटरबाइक आउनलाई गाह्रो भयो भनेर मलाई गाली गर्यो । केही गर्दा नहुने के यो देश, केही गर्दा नहुने । बालेन बालेन मेयर बनेपछि नयाँ काम शुरु गर्नुभएको थियो । तर कतिपय होटलले मानेनन् ।’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मेयर बनेलगत्तै काठमाडौंका शौचालय व्यवस्थापनका लागि गरेको पहलमा होटल व्यवसायीहरुले नै असहयोग गरेकोप्रति रानाले दुःख व्यक्त गरिन् । 

राम्रो काम गर्दा असहयोग गर्ने परिपाटीका कारण नेपालमा जे गरेपनि नहुने अवस्था देखिँदै गएको उनको गुनासो छ । 

यस वर्षको विश्व शौचालय दिवसको नारा ‘परिवर्तनको गति बढाउँदै’ भन्ने रहेको छ । यस वर्ष  पनि संयुक्त राष्ट्र सङ्घको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ । 

दिगो विकास लक्ष्यको छैठौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाईको विषय समावेश छ । तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पु¥याउने र पूर्ण रूपमा सरसफाइको अवस्थामा पु¥याउनमा प्रगति भने सुस्त गतिमा छ । राष्ट्र सङ्घकाअनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन् ।

Advertisement