सम्पत्ति बीमा अनिवार्य गर्न पहल अघि बढेको छ, कार्यान्वयन गर्न पहल गर्दैछौंः सिलवाल

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले सम्पत्ति बीमा अनिवार्य गर्ने प्रस्ताव अघि बढेको बताएका छन् । उनले हरेक व्यक्ति र क्षेत्रलाई बीमाको दायरामा ल्याउन आवश्यक रहेको बताउँदै सम्पत्ति बीमा पनि अनिवार्य गर्ने प्रस्ताव एक चरण अघि बढेको बताए ।

सिलवालले भने ‘सम्पत्ति सबैको हुन्छ । अब बीमा भनेको त जसले बीमाशुल्क बुझाएको छ, त्यस्ता सम्पत्तिको मात्रै जोखिम बहन गर्छ । अहिले तपाइँहरुले नेपालका घरहरुमा हेर्नुभयो भने वर्षेनी जोखिम बढिरहेकै अवस्था छ । जोखिम कहाँ छैन ? तराईमा बाढिको डर छ । हिमाल र पहाडमा अझै भूकम्पको पनि डर छ । यस्तो अवस्थामा बीमा गर्यो भने हामीले क्षति त रोक्न सक्दैनौ । किनभने क्षति त हुन्छ । हुन्छ । त्यस्तो अवस्थामा क्षतिको पैसा तिर्न पनि बीमा कम्पनीहरु बसेका छन् नि । नागरिकले, गरिबहरुलाई बीमाको लाभ दिनका लागि हामीले सम्पत्ति बीमा अनिवार्य गर्न खोजेका हौं ।’

Advertisement

अध्यक्ष सिलवालले यसअघिको कुराकानीमा पनि घर तथा भवनहरुमा हुने जोखिम सबै मानिसमा रहने भएकाले नै घर तथा सम्पत्ति बीमा अहिलेको आवश्यकता बनेको बताएका थिए । उनले घर तथा सम्पत्तिको बीमा गर्न आवश्यक रहे पनि त्यसमा धेरै वटा सरोकारवाला निकायहरुले अग्रसरता र चासो देखाउनुपर्ने बताएका थिए । 

घरको बीमा गराउनुअघि जग्गा पास गराउने नगरपालिका, त्यसको किनबेच गर्ने सर्वसाधारण र सरकारी निकायमा रहेका उच्च अधिकारीहरुले नै बीमाको वास्तविक महत्व थाहा पाउनुपर्ने उनको भनाई थियो । 

अध्यक्ष सिलवालले ठूला घरहरुको बीमा गर्दा धेरै बीमाशुल्क लागे पनि साना घरहरुको बीमा गर्दा थोरै शुल्क लाग्ने पनि बताए । फजुल कुरामा हजारौं रुपियाँ खर्च गर्नसक्नेले बर्षमा दुई–चार हजारमा आफ्नो घरको बीमा गर्न आनाकानी गर्ने प्रवृत्ति रहेको बताउँदै हाल काठमाडौ उपत्यकामा नै रहेका घरहरुको बीमा गर्ने हो भने जम्मा चार हजार रुपियाँमा एक करोड रुपियाँ बराबरको घरको बीमा हुने बताए । 

त्यसरी चार हजार रुपियाँ बीमाशुल्कबाट एउटा घरको एक वर्षको जोखिम बहन हुने बताउँदै सिलवालले अहिले बीमा महङ्गो भएर भन्दा पनि बीमाको महत्व र आवश्यकता नबुझेर घर तथा सम्पत्तिको बीमा गर्न मानिसहरुले आनाकानी गर्ने गरेको बताए । 

उनी भन्छन्, ‘एक करोडको घर भएको कुनै पनि घरधनीसँग चार हजार रुपियाँ त पक्कै हुन्छ । अब त्यो चार हजार रुपियाँले बीमा गर्दा बीमा गरेको भोलिपल्टै घरमा आगलागी भएमा एक करोड रुपियाँ बीमांक पनि त्यो घरधनीले पाउने व्यवस्था हाम्रोमा छ । त्यस्तो व्यवस्था भनेको अरु केही पनि होइन, बीमा नै हो ।’

सिलवालले पछिल्लो समय सरकारका मुख्य सचिवहरुले घर तथा सम्पत्तिको बीमामा चासो देखाएको र मुख्य सचिवको नेतृत्वमा यस्तो बीमा कार्यान्वयनका लागि प्रक्रिया अघि बढेको बताउँदै सो कुरा कार्यान्वयनका लागि आवश्यक सरसहयोग र सल्लाह दिन प्राधिकरण तयार पनि रहेको बताए । चालु आर्थिक वर्षभित्र नै यसलाई कार्यान्वयनमा ल्याउन आफूहरु जुटिरहेको उनले बताए । 

सिलवालले थपे, ‘कुनै पनि काम तातेको बेलामा गर्यो भने गरिहाल्यो । नत्र त्यतिकै हुन्छ । फ्यालफ्याले हुन्छ । अहिले त सम्पत्ति बीमाको बारेमा सरकारका मुख्य निकायहरु नै जागेको बेला छ । यस्तो बेलामा यो कामलाई टुंगो लगाईहाले हुन्थ्यो भनेर हामीले अहिले यो कुरा उठाएका हौं ।’

Advertisement