टिकटकले सात महिनाअघि नै दर्ता भएर कर तिरेको खुलासा, थप तिर्न लाग्दा प्रतिवन्ध

Advertisement

काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल टिकटकले सरकारलाई करिब एक करोड कर दाखिला गरेको छ । चीनबाट उत्पत्ति भएको यो कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) र डिजिटल सर्भिस ट्याक्स गरी करिब एक करोड रुपियाँ कर दाखिला गरेको हो ।

आन्तरिक राजश्व विभागमा अनुसार टिकटक सात महिनाअघि दर्ता भएको हो । सरकारले डिजिटल सर्भिस प्रदायकलाई करको दायरामा ल्याएसँगै टिकटक ठूला करदाता कार्यालयमा दर्ता भएको थियो ।

Advertisement

कार्यालयमा दर्ता भएपछि टिकटकले कर तिर्न सुरु गरेको हो । विभाग स्रोतका अनुसार टिकटकले थप कर बुझाउने तयारी गरिरहेको थियो । तर कार्तिक २७ गते बसेको मन्त्रिपरिषदको बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि कम्पनी अन्योलमा परेको छ । 

राजश्वको स्रोत सिमित रहेको बेला स्रोत बन्द गर्ने निर्णयले सरकारको आम्दानीमा धक्का समेत परेको छ । टिकटकको प्रयोग बढ्दै जाँदा र नियमनमा कडाई गर्दै जाँदा कर दाखिला पनि थप हुँदै जाने अवस्था रहे पनि व्यवसायी दुर्गा प्रसाइँको आन्दोलनबाट तर्सिएर एकाएक टिकटक बन्द गर्ने निर्णयमा पुगेको हो । 

टिकटक बन्द गर्नुको पछाडी सामाजिक तथा पारिवारिकरुपमा बिकृति ल्याएको कुरालाई सरकारले औंल्याए पनि आंशिक कारण दुर्गा प्रसाइँले गर्न लागेको व्यवस्था परिवर्तनको आन्दोलन र सोही बहानामा विश्वका ठूला ‘टेक–जायन्ट’हरुको स्वार्थ र द्धन्द्ध हुनसक्ने अडकल गरिएको छ । अहिले आधुनिक प्रविधिबाट धेरैभन्दा धेरै कमाउन ठूला अर्थतन्त्र चीन र अमेरिका प्रतिस्पर्धामा छ । टिकटकले अमेरिकामा आधारित रहेका फेसबुक (मेटा), ट्विटर (एक्स), युट्युव जसता माध्यमलाई ठूलो चुनौति दिएको थियो । 

यस्ता ठूला प्रविधि कम्पनीलाई सरकारले कानुनको दायरा ल्याउन पहल गरेपछि अधिकांश यस्ता कम्पनीहरुले नेपालमा कर दाखिला गर्न सुरु गरिसकेका छन् । तर पछिल्लो समय नेपालमा टिकटकको लोकप्रियता निकै बढ्दै जाँदा उसका प्रतिस्पर्धीहरुलाई ठूलो चुनौति बनेको थियो । टिकटक बन्द गर्ने निर्णयप्रति सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेको छ । 

केही दिनअघि सामाजिक सञ्जाल नियमन गर्न निर्देशिका ल्याएपछि टिकटक बन्द गरिएका कारणले पनि धेरै मानिस आश्चर्यमा परेका हुन् । टिकटकमार्फत गाली, बेइज्जती, नकारात्मक सुचना फैलिएको भन्दै सरकारले टिकटक बन्द गरेको हो । सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १२ वटा रिट दायर भएको छ । टिकटक बन्द गर्ने निर्णयपछि सो कम्पनीले नेपालको कानुनको पूर्ण पालना गर्नेगरी सञ्चालन गर्ने प्रतिबद्धतासहित सरकारलाई पत्राचार पनि गरेको छ । उसले गलत सामाग्रीहरु हटाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई एक्सेस दिएको पनि पत्रमा उल्लेख गरेको छ । 

Advertisement