केही बीमा कम्पनीहरुको अझै चुक्ता पुँजी पुगेन, कारबाही गर्ने सवालमा प्राधिकरण मौन

Advertisement

काठमाडौं । तोकिएको समयभित्र चुक्ता पुँजी पुर्याउन असफल बीमा कम्पनीहरुलाई कारवाही गर्न नेपाल बीमा प्राधिकरणले आनाकानी गरेको छ । 

तोकिएको पुँजी पुर्याउन दिएको समयसीमा अघि प्राधिकरणले पुँजी नपुर्याउनेहरुलाई कडा कारवाही गर्ने चेतावनी दिँदै आएको थियो । तर समयसीमा सक्किएपछि भने अहिले कारवाहीमा उदासिनता देखाएको हो । 

Advertisement

प्राधिकरणले तोकेअनुसारको चुक्ता पुँजी पुर्याउन असफल बीमा कम्पनी धेरै भए पनि केहीले भने अपुग पुँजी पुर्याउन कार्ययोजना पेश गरेका छन् । तर योजना नै पेश नगर्ने कम्पनी तीन वटा छन् । योजना पेश गर्ने कम्पनीहरुप्रति भने प्राधिकरण नरम देखिएको छ ।

केही बीमा कम्पनीहरुले अझै पनि चुक्ता पुँजी पुर्याउन नसकेको विषयमा प्रश्न गर्दा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले खासै चित्त बुझ्दो जबाब दिएनन् । उनले भने, ‘चुक्ता पुँजीको बारेमा त तपाइँहरुले पनि अनुसन्धान गर्नुभएकै होला । जुनजुन कम्पनीले आफ्नो पुँजी कोष बढाएका छन्, अवश्य पनि उनीहरुको जोखिमभार कम भएकै छ । पुँजी वृद्धि गरेका कम्पनीलाई हेरेर पनि अरुले तत्काल यसमा निर्णय गर्छन् भन्ने हामीले बुझेका छौं ।’ 

यद्यपि सिलवालले पुँजी पुर्याउन असफल कम्पनीहरुलाई कारवाही गर्ने सम्वन्धमा केही खुल्न चाहेनन् । 

वि. स. २०७८ चैत्र १० गते तत्कालिन बीमा समितिले बीमा ऐन २०४९ को दफा ४ र ७ लाई टेकेर जीवन बीमकहरुको चुक्ता पुँजी पाँच अर्ब रुपियाँ र निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी साढे दुई अर्ब रुपियाँ पुर्यार्याउन निर्देशन दिएको थियो । निर्देशन दिएको एक हप्ता बित्न नपाउँदै तत्कालिन समितिले २०७८ चैत १९ गते ‘आगामी तीन महिनाभित्रै पुँजी वृद्धि गर्नु’ भन्ने अर्को निर्देशन दिएको थियो । 

बीमा प्राधिकरणले त्यस्तो निर्देशन जारी गर्दा बीमकहरु कसैले हकप्रद शेयर जारी गर्ने, स्थिर सम्पत्ति बिक्री गर्ने, विदेशी साझेदार भित्राउने तथा मर्जरमा जाने विकल्प प्राधिकरणसमक्ष पेश गरेका थिए । प्राधिकरणले पनि बीमकहरुले पेश गरेको सोही प्रस्ताव सदर गर्दै प्रस्तावअनुसार तोकिएको पुँजी पुर्याउन असफल कम्पनीहरुलाई कडा कारवाही गर्ने चेतावनी दिँदै आएको थियो । 

तर, गत आर्थिक वर्षको असारसम्म २१ वटा बीमा कम्पनीहरुले चुक्ता पुँजी पुर्याउन नसकेको प्राधिकरणकै तथ्यांकमा देखिन्छ । त्यस्तै, २०७० चैत मसान्तमा २०८० असार अन्तिमसम्ममा चुक्ता पुँजी पुर्याउन प्राधिकरणले पुनः कडा निर्देशन दियो । यो अन्तिम निर्णय भन्दै थपिएको समयभित्र पुँजी नपुर्याउने कम्पनीहरुको कारोबार नै रोक्का गर्ने कुरा समेत गरियो । 

तर अहिले पनि धेरै कम्पनीले चुक्ता पुँजी पुर्याउन नसकेको अवस्था छ । नेपाल इन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सले भने पुँजी पुर्याउने कुनै आधार पेश गर्न सकेका छैनन् । अन्यले भने योजना पेश गरेकाले पुँजी नपुर्याउनेहरुको सुचीमा राखिएको छैन् । 

मर्जरमा गएकामध्ये केही बीमा कम्पनीहरुको गुनासो बढ्न थालेको प्राधिकरण स्रोतको दाबी छ । उनले अनुसार कुनै कम्पनीलाई कडा र कुनै कम्पनीलाई नरम नीति लिँदा समान प्रकृतिको बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई काखापाखा गरेजस्तो देखिन थालेको औंल्याए । 

Advertisement