अफगान युद्धमा दुवै खुट्टा र दायाँ हात गुमाएका बेलायतीले कसरी गरे नेपालमा ‘स्काइड्राइभ’ ?

Advertisement

काठमाडौं । दुवै खुट्टा र दायाँ हात गुमाएका बेलायती नागरिक जोसनन्दो बोगीले सोलुखुम्बुको स्याङबोचे विमानस्थलदेखि २३ हजार फिट उचाइ हेलिकोप्टरबाट स्काइड्राइभ गरेका छन् । 

उमेरले ३७ वर्षीय बेलायती नागरिक बोगीले यही नोभेम्बेर ७ र ८ तारिखमा दुई पटक २३ हजार फिट उचाइमा हेलिकोप्टरबाट स्काइड्राइभ गरेको बताए । 

Advertisement

स्काइड्राइभ गर्न नाम्चेबाट हिँडेर स्याङबोचे विमानस्थलमा पुगेका सुनाउँदै उनले भने, ‘मैले स्काइड्राइभ यतिको उचाइबाट गरेको पहिलो पटक हो । यसअघि मैले बेलायतमै धेरै पटक स्काइड्राइभ गरिसकेको छु ।’

बोगीले सन् २०१० मा अफगानिस्तानको युद्धमा आफ्नो दुवै खुट्टा र एउटा हात गुमाएर शारीरिक रूपमा अशक्त भएका हुन् । बेलायतको प्याराबेलम कम्पनी र नेपालको हिमालयन स्काइड्राइभ कम्पनीको संयुक्त व्यवस्थापनमा उनले स्काइड्राइभ गरेका हिमालयन स्काइड्राइभ कम्पनीका निर्देशक जिनेश सिन्धुकारले जानकारी दिए । 

दुवै खुट्टा र दायाँ हात गुमाएका व्यक्तिहरूमध्ये नेपालमा आएर स्काइड्राइभ गर्ने बेलायती नागरिक जोसनन्दो बोगी नै पहिलो व्यक्ति भएका कम्पनीको सिन्धुकारको दावी छ । उनी नेपालमा पहिलो पटक आएका र पहिलो पटक नै स्काइड्राइभ गरेका हुन् । 
शारिरिक रूपमा अशक्त देखिएका मान्छेहरुले चाह्यो भने जस्तोसुकै काम गर्न सक्ने बोगीले आफ्नो अनुभव सुनाए । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा स्काइड्राइभ गर्न सफल भएकोमा आफूलाई निकै खुशी महशुस भइरहेको सुनाउँदै उनले भने, ‘नेपाल जाने, सगरमाथा हेने मेरो पहिलादेखिको इच्छा थियो । त्यो इच्छा अहिले आएर पुरा भयो । सगरमाथा आफ्नै आखाँबाट देख्ने मौका मिल्यो । स्काइड्राइभ पनि सफलतापूर्वक गरें । स्काइड्राइभ गर्दैगर्दा नेपालका विभिन्न हिमालहरु देख्दाको अनुभव निकै ‘वाह’ थियो ।’

बोगीले थपे, ‘मैले नेपालमा स्काइड्राइभ गर्नुअघि १३ हजार फिट उचाइमा मात्र स्काइड्राइभ गरेको थिए । यो अनुभव मेरो पहिलो पटक हो । स्काइड्राइभ गर्दैगर्दा सगरमाथा, ल्होत्से, आम डब्लम आदि जस्ता धेरै हिमशृंखलाहरू आफ्नै आँखा अगाडी देखें । मैले यो कुनै रेकर्डको लागि गरेको होइन । मैले आफूलाई म यो गर्न सक्छु भनेर प्रमाणित गर्नको लागि गरेको हु ।’ 

जीवन भनेको आफैलाई प्रमाणित गर्नु हो भन्दै उनले जे पनि गर्न सक्नुहुन्छ भनेर प्रयास जारी राख्नुपर्छ भने । नेपालमा स्काईड्राइभ गर्न के कुराले प्रेरित गर्यो  ? भन्ने प्रश्नमा बोगीले भने, सगरमाथादेखि म सधैं मोहित थिए । सगरमाथा आरोहण गर्छु कि गर्दैन भन्ने यकिन छैन् । तर सगरमाथा हेर्ने मनमा मेरो इच्छा पहिलादेखि नै थियो । अन्ततः मैले अहिले सगरमाथा हेर्ने र मलाई मनपर्ने कुरा स्काइडाइभिङ दुवै गरें । मैले मेरो जीवनमा धेरै चीजहरू गरेको छु । जस्तै, साइकल आफ्नो पाखुराको प्रयोग गरेर । मलाई नयाँ प्रयासहरु गर्न मनपर्छ । त्यसैले नै त्यही गरी राख्छु । म शरीरिक रुपमा अशक्त भएपनि गर्न सक्छु भन्ने छ ।’

कृतिम खुट्टाको भरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड बनाएका पूर्व गोरखा सैनिक हरि बुढामगरबाट पनि आफूलाई प्रेरणा मिलेको बोगीको भनाई छ । 

Advertisement