टिकटक प्रतिवन्धपछि व्याण्डविथको खपत घट्यो, इन्टरनेटको गति बढ्यो

Advertisement

काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द भएपछि इन्टरनेटको व्याण्डविथ खपत घट्नुका साथै इन्टरनेटको गतिमा वृद्धि भएको इन्टरनेट सेवा प्रदायकहरुले बताएका छन् । उनीहरुको दावीलाई नेपाल दूरसञ्चार प्राधिकरणले पनि आंशिकरुपमा स्वीकार गरेको छ । 

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेशनका एक निर्देशकले टिकटक बन्द भएपछि व्याण्डविथको खपतमा १५–२० प्रतिशतले कमी आएको बताए । उनले व्याण्डविथको खपत घटेका कारण इन्टरनेटको गतिमा पनि वृद्धि भएको ग्राहकहरुबाट प्रतिक्रिया आइरहेको बताए । 

Advertisement

भिडियो कन्टेन्ट प्रदायक टिकटक पछिल्लो समय नेपालमा पनि निकै लोकप्रिय बनेको थियो । तर यसले विकृति बढाएको भन्दै सरकारले प्रतिवन्ध लगाएपछि अहिले अन्य सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेको छ । यो बन्द गर्नुका खास कारण व्यवसायी दुर्गा प्रसाइँले काठमाडौंमा बिहीबारबाट गर्न लागेको आन्दोलन नै मुख्य कारण थियो ।  

दूरसंचार प्राधिकरणले दैनिक इन्टरनेट सेवाको गुणस्तरमा विभिन्न प्रश्नहरु उठ्दै आए पनि टिकटक बन्द भएपछि जनगुनासो आउने क्रममा कमी आएको बताएको छ । प्राधिकरणका प्राविधिक मिनप्रसाद अर्यालले भने, ‘हरेक चिजको फाइदा बेफाइदा भए जस्तै टिकटकमा पनि राम्रा नराम्रा पक्ष थिए । तर टिकटक बन्द भएपछि परेको प्रभावलाई ग्राहकहरुको प्रतिक्रियाको आधारमा हेर्न सकिन्छ । विगतमा इन्टरनेट चल्ने वा स्लो भयो भन्ने उजूरी र गुनासोको चाङ लागे पनि अहिले भने कम छ ।’

वर्ल्ड लिंकका ती निर्देशकले पनि इन्टरनेट स्लो हुने गुनासोमा निकै कमी आएको बताए । उनले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न जति झन्झट भयो, भोलि खोल्ने निर्णय भयो भने झन धेरै झन्झट आफूहरुले सामना गर्नुपर्ने बताए । 

ती निर्देशकले टिकटक बन्द भएपछि व्याण्डविथ प्रदायक विदेशी साझेदारलाई कम व्याण्डविथ प्रदान गर्न भनेको बताउँदै टिकट पुनः सञ्चालन भयो भने फेरि बढाइदेउ भन्नुपर्ने र त्यहीअनुसार प्राविधिक पक्षहरु मिलाउनुपर्ने अवस्था आउने बताए । 

Advertisement

Advertisement