बैंकिङ क्षेत्रमा कर्जा अशुलीमा निकै ठूलो चुनौति थपिएको छः सीईओ खनाल

Advertisement

काठमाडौं । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनालले अहिलेको आर्थिक संकट र दुर्गा प्रसाइँको उदयको कारण नै संघीय प्रणाली भएको बताएका छन् । 

कर्पोरेट नेपालसँको कुराकानीमा उनले संघीय प्रणाली आर्थिक विकासको माध्यमभन्दा पनि पार्टीका कार्यकर्ता पाल्ने माध्यम भएको बताउँदै यसले गर्दा अहिले वित्तीय क्षेत्र र उद्योग व्यवसायले समय सास्ती भोग्नुपर्ने अवस्था आएको बताए ।

Advertisement

आर्थिक विकासमार्फत आम जनताको जीवनस्तर सुधार गर्न राजनीतिक दल र नेताहरु असफल भएकाले मानिसहरुमा असन्तुष्टि र आक्रोस बढ्दै गएको सीईओ खनालको भनाई छ । उनले भने, ‘प्रदेशहरु विकासको माध्यम बन्नै सकेन् । राजनीतिक दलका कार्यकर्ताको भर्ती केन्द्रहरु जस्तो मात्रै भयो । महंगी बढ्ने, कर बढ्ने र उनीहरुको जीवनस्तरमा सुधार नआएपछि त मानिसहरुमा आक्रोस र असन्तुष्टि बढ्नु स्वाभाविक हो । अहिले दुर्गा प्रसाइँ जस्तो मान्छेको उदय पनि त्यही भएर भएको होला ।’

केही दिनअघि मात्रै पुनः सीईओमा नियुक्त भएका खनालले प्रदेशहरु नभइदिएको भए मात्रै पनि यो खालको स्थिति अहिले आउँथेन भने । उनले अर्को कुरा सरकारले विकास खर्च गर्न नसक्दा पनि समस्या थपिएको बताए । जनताले तिरेको करको ठूलो हिस्सा देशको प्रशासनिक खर्च र सामाजिक सुरक्षाका नाममा खर्च हुँदा विकास निर्माण बजेट खुम्चिँदै जाने, विनियोजित रकम पनि खर्च नहुने, त्यसपछि पछिल्लो समयमा आर्थिक मन्दीको कारण राजश्व लक्ष्यअनुसार उठ्न नसक्दा सरकारले चाहेर पनि विकास खर्च गर्न नसक्दा अवस्था रहेको छ । 

कर्जा अशुलीमा निकै समस्या
दुर्गा प्रसाइँका कारण बैंकिङ क्षेत्रमा कर्जा अशुलीमा निकै ठूलो चुनौति थपिएको सीईओ खनालले बताए । उनले भने, ‘निकै धेरै समस्या छ । मानिसहरु ऋण तिर्न पर्दैन भनेर आन्दोलनमा लागेका छन् । किस्ता तिर्न आनाकानी गर्ने गरेका छन् । गाउँतिर बैंकका कर्मचारीहरुलाई अवरोध हुने गरेको छ । लोन रिकभरी एकदमै ठूलो समस्या भएको छ । ऋण तिर्नेहरुले पनि व्यापार व्यवसाय ठप्पै छ भन्छन् । समस्या पनि होला । तर बैंकहरुलाई निकै दबाब छ ।’ 

खनालले बैंकहरुको ब्याजदर जुन अनुपातमा घट्नुपर्ने हो, सो अनुपातमा घट्न नसकेको स्वीकार गरे । खनालले बैंकको ब्याजदर घट्नसक्ने आधार भए पनि सोअनुसार घट्न नसकेको बताउँदै कतिपय बैंकले उल्टै ब्याजदर बढाएकोमा आफूलाई आश्चर्य लागेको बताए । खनालले भने, ‘यस्तो बेलामा नबढाइदिएको भए हुन्थ्यो । अहिले सात–आठ प्रतिशतमा आएको भए आर्थिक क्षेत्रमा पनि सकारात्मक प्रभाव पर्थ्यो । उद्योगी व्यवसायीलाई पनि राहत हुन्थ्यो । घट्न त अर्को महिना पनि केही बैंकले घटाउलान । केही बढाउने पनि निस्किएलान । 

यद्यपि पश्चिम नेपालमा गएको भूकम्पले भने आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने आफूले आशा लिएको उनले बताए । सीईओ खनालले जाजरकोट र रुकुममा गएको भूकम्पपछि पुनर्निर्माणका काम सुरु हुने, देशका अन्य क्षेत्रमा पनि भूकम्पीय जोखिमलाई दृष्टिगत गर्दै नयाँ घरहरु बन्ने, त्यसले निर्माण उद्योग फस्टाउन सहयोग पुग्ने बताउँदै पछिल्लो समयमा पर्यटक आगमन पनि बढेकाले बैंकहरुको खराब कर्जा बढेर अब नजाने, अहिलेको अवस्था नै अधिकतम् हुने आफूले ठानेको बताए । 

Advertisement

Advertisement