निजगढ विमानस्थल बन्यो भने देश कायापलट हुन्छः क्याप्टेन क्षेत्री

Advertisement

काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अगाडि बढाउने निर्णय गरे पनि यस विषयमा अझै धेरै अन्योलता देखिन्छ । 

सर्वोच्च अदालतले धेरै जंगल क्षेत्र विनास गरी जंगली जनावर पनि विस्थापित हुनेगरी विमानस्थल बनाउन आदेश दिएपछि यो विमानस्थल निर्माण गर्ने कुरामा अन्योलता थपेको हो । त्यसअघि सरकारको उपेक्षा, न्यून बजेट विनियोजन, जग्गा अधिग्रहण र वन फँडानीको काम सुस्तरुपमा अघि बढ्दै गएको थियो । 

Advertisement

क्षेत्रीयस्तरका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलहरु चल्न नसकेर ठूलो लगानी खेर भएकोले अर्को विमानस्थल किन चाहियो भन्ने एकथरीले तर्क गरिरहेका छन् । तर नेपालमा लामो दूरीको उडान र ठूला जहाजहरुको अवतरणका लागि अहिलेसम्म विमानस्थल नभएकाले निजगढ विमानस्थल चाँडै निर्माण गर्नुपर्ने आवाज पनि अर्को पक्षको छ । सोही विमानस्थलका लागि लक्षित गरेर निर्माण भइरहेको काठमाडौं–निजगढ द्रुतमार्गको निर्माण कार्य सुस्त ढंगले भए पनि अघि बढेको छ । 

पछिल्लो समय मन्त्रिपरिषदको निर्णयअनुसार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे विज्ञ समूहले दिएको प्रतिवेदन कार्यान्वयन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो । यो विमानस्थल निर्माण हुन सके ठूला विमानहरू पूरा लोडसहित सिधा अष्ट्रेलिया, यूरोप उड़ान भर्नसक्ने वरिष्ठ क्याप्टेन कृष्णविक्रम क्षेत्री बताउँछन् । 

झण्डै एक वर्ष अगाडि पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाको अध्यक्षता गठित १० सदस्यीय विज्ञ समितिले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनअनुसार विमानस्थल निर्माणको काम अघि बढाउनुपर्ने उनको भनाई छ । 

क्षेत्रीले यो आयोजना अगाडी बडाउने निर्णय राम्रो हो भन्दै समितिले धेरै मेहनत गरी सबै पक्षको सुझाव र अध्ययनका आधारमा प्रतिवेदन बुझाएको बताए । यो प्रतिवेदनको सुझाव कार्यान्वयन हुँदा नेपालमा पहिलो पूर्ण क्षमताको विमानस्थल निर्माण हुनसक्ने उनले बताए । 

क्षेत्रीका अनुसार न्यूनतम् वातावरण विनाश गरी करिव दुई हजार हेक्टरमा टर्मिनल र दुई वटा धावनमार्गसहितको विमानस्थल निर्माण गर्न समितिले सुझाव दिएको बताए । कम उचाईको समथर, वरीपरी डाँडाकाँडा नभएको स्थानमा पूर्व–पश्चिम ‘अरेन्टेसन’मा बन्ने विमानस्थलबाट ठूला एयरबस ३८०, बी–७७७ पूरा लोडसहित सिधा अष्ट्रेलिया, यूरोप, अमेरिका उड़ान भर्नसक्ने, खÞराब मौसममा पनि उडान र अवतरण गर्नसक्ने बताए । 

समितिले अत्याधुनिक विमानस्थल निर्माणको अवधारणासहित प्रतिवेदन बुझाएको क्षेत्रीको भनाई छ । उनले भने, ‘यो विमानस्थल बनेमा, हाल मौसम तथा अन्य कारणले जहाजÞहरू होल्ड तथा भारत, बंगलादेशतर्फ डाईभर्ट गर्नुपर्ने अवस्था पनि अन्त्य हुनेछ । यसले गर्दा अतिरिक्त इन्धन बोक्ने बाध्यता पनि हट्ने छ । यसले उड़ान सञ्चालन खर्चमा पनि कमी आउने छ । नेपालीहरूले विदेश यात्रा गर्दा सस्तोमा हवाई टिकट किन्न पाउने छन् ।’ 

निजगढ विमानस्थल बनेमा मौजुदा हवाई रूटबाटै सुरक्षित तवरले उडान गर्न सकिने भएकाले नयाँ रूटका लागि छिमेकीसँग अनुरोध गर्न नपर्ने क्षेत्रीले बताए । विमानस्थल २४सै घन्टा सञ्चालन हुनसके विदेशी एयरलाइन्सले नेपालको हवाई क्षेत्र उपयोग गरी उड़ान भर्ने, जसले नेपाललाई अतिरिक्त आम्दानी हुनसक्ने उनको भनाई छ । 

वरिष्ठ क्याप्टेन क्षेत्री भने, ‘दुई वटा रन–वे हुँदा एउटा बिग्रियो भने वा जहाज बिग्रिएर रन–वेमा बस्यो भने वा रन–वेमा चराचुरुङ्गी वा जीवजन्तु आइदियो भने वा अरु केही समस्या आइदियो भने पनि समस्या हुँदैन् । त्यस्तो अवस्थामा अर्को रन–वेको प्रयोग गर्न सकिन्छ । अहिले भएका विमानस्थलमा एउटा मात्रै रन–वे छ । अर्को कुरा निजगढ विमानस्थल तराईमा हुने भएकाले कम उचाइमा हुन्छ । त्रिभुवन विमानस्थल चार हजार तीन सय फिटमा छ । त्यसले गर्दा ठूला जहाजहरुले सिधा लोड लिएर उडान गर्न सक्दैनन् । त्यसकारण अर्को विमानस्थल नभई हुँदैन हामीलाई ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले निजगढ विमानस्थलमा चार वटासम्म धावनमार्ग बनाउन सकिने बताए । यो विमानस्थल निर्माण भएमा देशको मध्य भागमा भएकाले सबैले सुविधा पाउने अवस्था बन्ने उनको दावी छ । 

निरौलाले भने, ‘नेपालमा जति पनि आउने जहाजहरु सिमराको आकाश भएर आउने हो । निजगढ विमानस्थलको निर्माण भइसकेपछि रुटको समस्या हल हुनेछ । सिधै जहाजहरु आउने छ । अर्को भनेको इन्धनको पनि समस्या हुँदैन् ।’ निजगढ विमानस्थल ठूलो क्षेत्रफलमा हुने भएकाले यो ट्रान्जिट हब बन्ने र कार्गोको पनि हब बन्नसक्ने उनले दावी गरे ।

Advertisement