शिक्षा र रोजगारीका लागि विदेश जाननपर्ने बनाउन सरकार तयार छः अर्थमन्त्री

Advertisement

नुवाकोट । अर्थमन्त्री प्रकाशशरण महतले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण बनाउन सरकार तयार रहेको बताएका छन् । 

व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाइँले अहिलेका दल र नेताहरुले उच्च शिक्षा र रोजगारीका लागि युवाहरुलाई विदेश जान बाध्य पारेको भन्दै आन्दोलन चलाइरहेको बेला अर्थमन्त्री महतले नेपालमै पढ्ने र रोजगारी गर्ने वातावरण बनाउन आफूहरु तयार रहेको बताएका हुन् । 

Advertisement

शुक्रबार नुवाकोट भलिवल संघद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘नेपालमै विकास हुन्छ, नेपालमै रोजगारीका अवसर बढ्छन् । विस्तारै विदेश जानु नपर्ने अवस्था यहाँ सिर्जना हुन्छ । जलविद्युत आयोजनामा लगानी भइरहेको छ । पर्यटकको संख्या बढ्दैछ । कृषि क्षेत्रमा लगानी बढ्छ, सुचना प्रविधिमा धेरै युवाहरु लागेर आम्दानी गरिरहेका छन् ।’

मन्त्री महतले सामाजिक सञ्जाल प्रयोग गरेर जनतामा भ्रम फैलाउन प्रयास भइरहेको भन्दै दुर्गा प्रसाइँको आलोचना पनि गरे । केही व्यक्तिहरुले जनताको भावनामा खेलेर आफ्नो कुन्छित उद्देश्य प्राप्त गर्छु भन्ने ठानेको छ भने त्यो सफल नहुने उनले बताए । 

महतले खेलकुदलाई सरकारले प्राथमिकतामा राखेको र राष्ट्रिय गौरवको आयोजनामा राखेर क्रिकेट मैदान निर्माण गर्ने बताए । उनले भने, ‘नुवाकोट शिक्षामा धेरै पछाडि थियो । हाम्रा पालामा त्रिशुलीमा मात्र एउटा हाइस्कुल थियो, गाउँमा प्राथमिक विद्यालय पनि थिएन् । मैले चौतारामुनि पढ्न सुरु गरेको हुँ । तर पढ्ने अठोट भयो भने अगाडि बढ्न सकिन्छ । पढाइलाई उच्च प्राथमिकता दिन म भाइ बहिनीहरुलाई आग्रह गर्छु ।’

पढाइ र सिप  भयो भने सबै कुरा प्राप्त हुन्छ भन्दै महतले पढाइलाई उच्च प्राथमिकता दिन आग्रह गरे । नुवाकोटमा पछिल्लो समय धेरै विकास भएको उनले दावी गरे । महतले तत्कालिन अर्थमन्त्री रामशरण महतका पालामा नुवाकोटमा विकासका धेरै ढोका खुलेको दावी गर्दै आफू उर्जामन्त्री हुँदा पनि धेरै विकास विस्तार भएको बताए । 

उनले भने, ‘अहिल म अर्थमन्त्री हुने अवसर पाएको छु । नुवाकोटको विकासले थप मौका पाएका छु । बालाजु–ककनी–त्रिशुलीबाट धेरै वर्षदेखि बिग्रिएको थियो । अहिले निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढिसकेको छ । अब त्यो बाटो पक्की बन्छ । उता कुमारी जाने बाटोमा पनि बजेट विनियोजन भएको छ । काठमाडौं–छहरे–टोखा बाटो अहिले राम्रो भइसकेको छ । सुरुङमार्ग निर्माणका लागि हामीले बजेट छुटाएका छौं ।’

Advertisement

Advertisement