स्वास्थ्यमन्त्रीको पनि दुर्गा प्रसाइँकै जस्तो बोली– डा. केसी मेडिकल माफियाबाट सञ्चालित छन्

Advertisement

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले वरिष्ठ चिकित्सक डा.गोविन्द केसी मेडिकल माफियाहरुद्वारा सञ्चालित भएको आरोप लगाएका छन् । 

केसीले बेलाबेलामा अनसन बस्नेकुरा देश र जनताको अहितमा भएपनि मेडिकल गिरोहजस्ता गलत मान्छेहरुको फन्दामा परेर त्यसो गरिरहेको उल्लेख गर्दै बस्नेतले शनिबार राष्ट्रिय ट्रमा सेन्टरको कार्यक्रममा त्यस्ता अभियानको बचाउमा नलाग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सचेत गराए । 

Advertisement

उनले केसीको अभियानमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आफूले कारबाही गर्ने चेतावनी समेत दिए ।  नेपाल मेडिकल ‘शिक्षाको हब’ बन्ने शक्ति र वातावरण हुँदाहुँदै पनि वरिष्ठ चिकित्सक केसी र मेडिकल माफियाहरुले त्यसो हुन नदिनका लागि मेडिकल कलेज थप सञ्चालन गर्न नदिएको मन्त्री बस्नेतको जिकिर थियो । 

उनले यथास्थितिमा ५ वर्षपछि मुलुकमा डाक्टर र नर्स खोज्दा पनि नपाउने स्थिति आउने भएकाले आफूले एक सयदेखि तीन सयसम्म शैय्या भएका सरकारी अस्पतालहरुमा नर्स र पारामेडिक्स पढाउने र त्यो भन्दा माथि शैय्या भएको अस्पतालमा एमबीबीएससम्मको पठनपाठन गराउने प्रस्ताव गरेको बताए । 

बस्नेतले सो प्रस्ताव देश र जनताको हितका लागि अतिआवश्यक भएकाले त्यसलाई कार्यान्वयनमा साथ दिन पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पटकपटक आग्रह गरे । उनले भने, ‘अहिलेको हिसावले हो भने ५ वर्षपछि यो देशमा डाक्टर र नर्स पाइँदैन । र, मेरो प्रस्तावलाई कार्यान्वयन गर्न धेरै गाह्रो पनि छैन् । यो प्रस्ताव अगाडि बढाउँदा डाक्टर, नर्सहरु संसारभर हामी पठाउन सक्छौं । अहिले हामीले कोरा व्यक्तिहरुलाई विदेश पठाइरहेका छौं । सारा बर्बाद गरेका छौं । कोरा व्यक्तिलाई विदेश पठाएर, यसैकारण ठगिएका छन् हाम्राहरु । बदनाम भएका छन् । आम्दानी राम्रो हुँदैन । तर हामीले योग्य, दक्ष मानिसहरु जाँदाखेरी त्यसको सम्मान अर्कै हुन्छ । राष्ट्रलाई रेमिटयान्स बढाउने कुरा त्यही ढंगले हुन्छ ।’ 

मन्त्री बस्नेतले थपे, ‘तर हामीले धेरै उत्पादन गर्नसक्यौं भने यो देशलाई मडिकल हब बनाउन सक्ने ठाउँमा ५ वर्षपछि हामी चाहीँ भोकमरीमा पर्नेछौं मेडिकल शिक्षामा । यो किन नगर्ने ? मैले क्याबिनेटमा यो कुरा लगे । कार्यक्रम एकदमै राम्रो भन्नुभयो सम्माननीय प्रधानमन्त्रीज्युसहित सबै मन्त्रीज्युहरुले । लागू कसरी गर्ने त्यो चाहीँ हेर्नुपर्छ भन्नुभयो । कानून त हामीले बनाउने हो नि । यदि यो प्रश्ताव ठिक छ भने कानून त्यो अनुसार बनाउन किन कन्ज्युस्याँई गर्ने ? त्यहाँ पनि फेरि गिरोहहरुको खेल हुन्छ । कुरा क्लियर छ ।’ 

मेडिकल शिक्षा नेपालमा फटाफट पढ्न र पढाउन पाउने व्यवस्था भयो भने यसको असर कहाँ कहाँ पर्छ ? त्यहाँबाट खेल्न थालिन्छ भन्दै उनले भने, ‘तपाइँहरु सबैले यो खेल्ने कुरामा म अगाडि बढे । यो खेल्न खोज्ने कुराको बिरुद्धमा तपाइँहरुको पनि साथ चाहिन्छ मलाई । तपाइँहरुको पनि सहयोग चाहिन्छ, पार लगाएर छोड्छु मैले । यही हो पढने । यही हो गर्ने । यही हो बनाउने । म धेरै पटक मन्त्री भईसकेको मान्छे । मलाई गाह्रो पारिदिएको हुन्छ बेलाबेलामा निर्णय गर्न । गरेपछि पनि कार्यान्वयन गर्न दिँदैनन् । गरेको निर्णय उल्टाउन खोजिन्छ अहिले पनि कतिपय कुराहरु । त्यसकारणले यो राष्ट्रको लागि आवश्यक छ । देशको लागि आवश्यक छ । जनताको लागि आवश्यक छ । आधारभुत स्वास्थ्य सेवा जनतालाई दिनका लागि यो आवश्यक छ । नेपाललाई मेडिकल शिक्षाको हब बनाएर राख्न सक्ने हैसियत, तागत र वातावरण हामीसँग हुँदाहुँदै पनि हामीमा बुद्धिमा खिया लागेर हो वा कसैको दलाली गर्न लागेर हो वा कसैको बहकावमा लागेर हो । हामी हिँडिराखेका छौं । म यो पनि भन्छु–म अनसन बसिदिन्छु भन्नुहुन्छ एक जनाले । उहाँ बस्नु भएपछि तपाई फेरि सेतो कोट लगाएर उहाँको बचाउमा हिँडिहाल्नु हुन्छ । किन हिँडेको भनेर मैले सोधे । साथीहरुले काम चाहीँ गल्ती थियो । तर हामी हिँड्नैप¥यो । अनि किन हिँड्या भनेको ? ज्यान जोगाई दिन मान्छे मर्न लाग्यो भनेर । त्यस्तो पनि कुरा हुन्छ । कन्भिन्स गर्नुप¥यो नि । यो देशका लागि अहित छ, नेपाली जनताको लागि अहित छ । अब हामीले यो काम गर्नु हुँदैन । तपाई आफू ठिक मान्छे हो । तर तपाईलाई संचालन गर्ने गिरोहहरु गलत छ भनेर भन्न किन नसक्ने ? अब भन्नुपर्छ तपाईहरुले । होइन यो अभियान अगाडि बढ्दा तपाईहरु ओल्टेकोल्टे हुन थाल्यो भने तपाईहरुलाई पनि कारबाही हुन्छ । म भएभने त्यो हुन्छ । नभए के हुन्छ मलाई थाहा छैन । तपाईका लागि लड्ने, तपाईका लागि भिड्ने अनि तपाईले साथ नदिएर हुन्छ ? त्यसकारण यो विषयमा मैले तपाईहरुलाई अनुरोध गरेँ ।’

मन्त्री बस्नेतले आफूले स्वास्थ्य क्षेत्रमा विद्यमान जनशक्ति अपुग भएकाले त्यसको व्यवस्थापनको कामलाई पनि अघि बढाएको बताए । 

Advertisement