आफै अध्यक्ष रहेको युनाइटेड अजोडमा आफ्नै गाडीको बीमा, श्रेष्ठलाई कारवाही गर्ने तयारी

Advertisement

काठमाडौं । तत्कालिन युनाइटेड र अजोड इन्स्योरेन्स कम्पनी मर्जर भएर स्थापना भएको ‘युनाइटेड अजोड इन्स्योरेन्स’को सञ्चालक समितिमा आजाद श्रेष्ठ गैरकानुनीरुपमा अध्यक्ष बनेको पाइएको छ ।

चौधरी समूह र भाटभटेनी समूहको मुख्य लगानी रहेको यो कम्पनीमा स्वार्थ बाझिने गरी श्रेष्ठ अध्यक्ष बनेका हुन् । श्रेष्ठ हुण्डाई ब्राण्डको गाडी बिक्री गर्ने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.को सञ्चालक हुन् । यसअघि अजोडको सञ्चालक समितिको पनि अध्यक्ष रहेका उनलाई मर्जरपछिको नयाँ कम्पनीमा पनि अध्यक्ष बनेका हुन् ।

Advertisement

उनको हुण्डाईका अधिकांश गाडीहरुको बीमा युनाइटेड अजोडले गर्दै आएको छ । आफै सञ्चालक समितिको अध्यक्ष रहेको बीमा कम्पनीमा श्रेष्ठले आफूले बिक्री गर्ने गाडीको बीमा गराउनु गैरकानुनी र गैरव्यवसायिक कार्य भएको नेपाल बीमा प्राधिकरणले बताएको छ । यसरी स्वार्थ बाझिने गरी बीमा गर्ने वा अध्यक्षमा बस्न बीमासम्वन्धी ऐन नियमले नै प्रतिवन्ध लगाएको छ ।

कर्पोरेट नेपालसँगको कुराकानीमा प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘युनाइटेडको हैसियत हिजो मात्रै अर्ब क्लबमा प्रवेश गर्दा केक काटेको कम्पनी हो । त्यतिबेला त्योभन्दा धेरै व्यवसाय गर्ने कम्पनीहरु चुपचाप बसेका थिए । अहिले हेर्नुभयो भने त्यहाँ न त मर्जरपछि कर्मचारी समायोजन सही ढंगले हुनसकेको छ, न व्यवसाय आर्जन नै कानुनी ढंगले हुन्छ । अरुको त के कुरा गर्नु, युनाइटेड अजोडका अध्यक्षले हुण्डाई गाडी बिक्री गर्छन् । हुण्डाईका अधिकांश गाडीहरुको बीमा युनाइटेड अजोडमा हुँदोरैछ ।’

यसरी स्वार्थ बाझिने गरी अध्यक्ष बस्ने वा आफ्नो गाडीको बीमा आफ्नै कम्पनीमा गर्ने कुरा कानुनले नमिल्ने भएकाले प्राधिकरणले आवश्यक कारवाही तयारी गरिरहेको उनले बताए । हण्डाईका गाडीहरु युनाइटेड अजोडमा बीमा गर्ने भए श्रेष्ठ सञ्चालक समितिबाट बाहिरिनुपर्ने ती अधिकारीको तर्क छ । उनले भने, ‘यसअघि प्राधिकरणले पनि जानकारी आइसकेको थिएन् । आइसकेपछि आवश्यक कारवाही गर्नुको विकल्प हुँदैन् । यस्तो कुरामा आँखा चिम्लिएर बस्दा भोलि हामीमाथि नै प्रश्न उठ्ने अवस्था आउँछ ।’

बीमा बजारको स्वस्थ विकासका लागि पनि यस्ता गैरकानुनी र गैरव्यवसायिक गतिविधि रोकिनुपर्ने बताउँदै प्राधिकरणले आफूहरुले चाल पाउन ढिलो गर्यो भन्दैमा स्वार्थ बाझिने गरी बीमा कम्पनीको सञ्चालक समितिमा बस्ने, आफ्नै व्यवसायको बीमा गर्न नमिल्ने बताए । प्राधिकरणका ती अधिकारीले भने, ‘सञ्चालक समितिमा बस्नैपर्छ भन्ने पनि छैन् नि । बस्नै मन छ भने अर्को कम्पनीमा आफ्नो गाडीहरुको बीमा गराउँदा भइहाल्थ्यो । अरुले थाहै पाउँदैनन्, पेलेर गइहालिन्छ भन्ने सोच्न भएन् ।’ 

मर्जरमा गएका कम्पनीहरुलाई प्रोत्साहन गर्नुपर्छ भनेर आफूहरुले धेरै कुरामा सहजीकरण गरिदिए पनि कानुन मिचेर काम गर्न कसैले नमिल्ने भन्दै प्राधिकरणले मर्जरपछि युनाइटेड अजोडका गुनासाहरु धेरै आएको जनाएको छ । प्राधिकरणले कदम चाल्नुअघि नै कम्पनीले आवश्यक निर्णय लिनुपर्ने ती अधिकारीको सुझाव छ । बीमा व्यवसाय एउटा सेवामूलक व्यवसाय पनि भए पनि उक्त कम्पनी बढी नाफामुखी बनेको उनले बताए ।

ती अधिकारीले भने, ‘यसको मतलब कम्पनीले बीमा बजारमा सबैभन्दा धेरै नाफा आर्जन गर्न थाल्यो भनेको होइन । बरु सञ्चालकहरुले आफ्नो पीआर (जनसम्पर्क)को दुरुपयोग गरे भन्न खोजेको । बीमा कम्पनी पब्लिक कम्पनी पनि हो । हरेक गलत कुराको लगानीकर्तादेखि बीमितसम्मले प्रश्न उठाउने ठाउँ रहन्छ । आफै कम्पनीको सञ्चालक समितिमा बसेर आफ्नो सामान त्यही कम्पनीमा बेच्दा अरुले के भन्छन् ? एकातिर अरु बीमितलाई समयमा दावी भुक्तानी नदिने, अर्कोतिर आफै स्वार्थ बाझिनेगरी काम गर्ने कुरामा छुट हुँदैन् ।’

Advertisement