चौथो जिम्मेवार व्यवसाय सम्मेलन मंसिर २१ र २२ गते काठमाडौंमा हुँदै

Advertisement

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहलको चौथो जिम्मेवार व्यवसाय सम्मेलन काठमाडौंको हायात रिजेन्सीमा मंसिर २१ र २२ गते दुई दिनसम्म आयोजना हुने भएको छ । विगत् २०७१ सालदेखि आयोजना हुँदै आइरहेको यो सम्मेलनको चौथो संस्करण ‘एडप्टिङ टु एमर्जिङ बिजनेश रियालटिज’ भन्ने नाराका साथ हुन लागेको हो । 

यस सम्मेलनमा नेपालका उद्योग व्यवसायहरूले बदलिंदो परिस्थिति र उदीयमान नव आयामहरूको परिप्रेक्ष्यमा जिम्मेवारपूर्ण ढंगले के कसरी अघि बढ्न सक्दछन् भन्ने सम्बन्धमा समाज, वातावरण तथा अर्थतन्त्र गरी ३ विधाको ११ वटा विषयहरूमा विभिन्न प्रस्तुतिहरू मार्फत गहन छलफल गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  

Advertisement

समाज विधा अन्तर्गत आधुनिक दासत्व तथा मानव बेचबिखन, व्यवसायिक आचारसंहिता र संस्थागत सामाजिक उत्तरदायित्त्व, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा र व्यवसाय तथा मानव अधिकार गरी चार विषय रहनेछन् । 

वातावरण विधामा पर्यावरणमा व्यावसायिक असरको व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारी र नवीकरणिय उर्जा सम्बन्धी विषय रहनेछन् ।

त्यसैगरी, अर्थतन्त्र विधामा व्यवसायिक वातावरण निर्माण, नवप्रवर्द्धन तथा उद्यमशिलता, डिजिटल अर्थतन्त्र र व्यावसायिक निस्न्तरता योजना गरी चार विषय रहनेछन् ।

कार्यक्रममा नेपाल तथा भारत, अस्ट्रेलिया, सिंगापुर, जापान लगायत विभिन्न देशका विज्ञ तथा वक्ताहरुको प्रस्तुती रहनेछ । ३० भन्दा बढी वक्ताहरु रहने यस कार्यक्रममा ३०० भन्दा बढी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरु, शिक्षाकर्मी, नागरिक समाज, सरकारी निकाय, बैंक तथा वित्तिय क्षेत्रको सहभागिता रहनेछ ।

विश्वव्यापी महामारीको असर, सञ्चार प्रविधिको दूत विकास र प्रभाव साथै विश्वव्यापी चासोको विषय रहेका डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन, प्रदुषण तथा मानव अधिकारको संरक्षण लगायतका विभिन्न कारणहरूले गर्दा उद्योग व्यवसायले आफ्नो व्यावसायिक रणनीति र सञ्चालन प्रक्रियालाई परिमार्जन र अनुकूलन गर्नुपर्ने आवश्यकताका लागि कार्यक्रम फलदायी हुने आयोजक संस्थाका कुशकुमारी जोशीले बताए । 

Advertisement

Advertisement