पर्यटकको बसाई लम्ब्याउनसक्ने पर्वतारोहण र पदयात्रा नै हो, तर सरकारले बुझेन्ः व्यवसायी

Advertisement

काठमाडौं । नेपालमा पर्यटकको आगमन बढ्दो क्रममा छ । गएको अक्टोबर महिनामा मात्रै एक लाख १७ हजार ३०५ जना पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । 

यो संख्या एक महिनामा नेपाल आएका पर्यटकहरुको हालसम्मकै उच्च हो । नेपाल आएका विदेशी पर्यटकहरु लामो समयसम्म नेपालमा नबस्ने तर विशेषगरी हिमाल आरोहणका लागि, ट्रेकिङका लागि आउने पर्यटकहरु मात्र नेपालमा लामो समय बस्ने गरेको पर्यटन व्यवसायीहरु बताउँछन् । 

Advertisement

उनीहरुको बसाइ लम्ब्याउन के गर्नु पर्ला ? पर्यटन व्यवसायीहरुको आ–आफ्नो तर्क छ । नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले पर्वतारोहण क्षेत्रले मात्रै पर्यटकको नेपाल बसाई लम्ब्याउनसक्ने बताए । उनले भने, ‘नेपालको गन्तव्य चाहिँ पर्वतारोहण र ट्रेकिङ (पदयात्रा) मात्र एउटा त्यस्तो क्षेत्र हो, अलिकति लामो समय विदेशी पर्यटकहरु नेपाल आएर बस्ने । दुईदेखि तीन महिनासम्म विदेशी पर्यटकहरु हिमाल आरोहण गर्नका लागि नेपालमा बस्छन् ।’

शेर्पाले पर्वतारोहण र पदयात्रा क्षेत्रलाई नै सरकारले व्यवस्थित गर्नुपर्ने बताए । उनले थपे, ‘अरु क्षेत्रमा विदेशी पर्यटकहरु त्यति लामो बस्दैनन् किनभने विदेशीहरु पनि आफ्नो कामबाट छुट्टि मिलाएर नेपाल घुम्न आएका हुन्छन् । दुई–तीन महिना छुट्टिमा बस्ने पर्यटकहरु धेरै कम हुन्छन् । अहिले विदेशीहरु नेपालमा आएर घुम्ने भनेको दुईदेखि तीन हप्ता मात्र हो । उनीहरुको बसाइ लम्ब्याउने भनेको ट्रेकिङ र पर्वतारोहण पर्यटनलाई नै विकास गर्नुपर्छ ।’

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बाँस्तोलाले शेर्पाले जस्तै पर्यटकहरुको नेपाल बसाई लम्ब्याउने भनेको पर्वतारोहण र पदयात्रा नै भएको बताए । उनले नेपालमा घुम्नुपर्ने ठाउँहरुमा व्यवस्थित गरिदिनुपर्ने बताए । 

बाँस्तोलाले भने, ‘हामीसँग विश्व सम्पदा क्षेत्रहरु छन् । हिमालहरु छन् । ऐतिहासिक स्थलहरु छन् । त्यो क्षेत्रहरुलाई घुम्नको लागि सहज गरिदिनुपर्यो । त्यसले पनि पर्यटकहरुको नेपाल बसाई लम्ब्याउन सकिन्छ ।चितवन, बर्दिया हेर्ने हो दुई–तीन दिनको प्याकेज हुन्छ जंगल सफारीको । त्यति मात्र नभएर प्रकृतिलाई अलिकति फरक ढंगले व्याख्या गरिनुपर्यो । हाम्रो उत्पादनलाई समयअनुसार नयाँ ढंगले व्याख्या गरिनुपर्यो । कार्यक्रमलाई रोचक बनाउनुपर्यो । सोअनुकुलको नीति नियम बनाउनुपर्यो ।’ 

नारामा कृषि पर्यटन, शिक्षा पर्यटन भनेर मात्र हुँदैन भन्दै उनले यथार्थ गराउन वास्तविकतामा पुगेर विदेशीहरुलाई सहज बनाउनुपर्ने बताए । बाँस्तोलाले भियतनाम, थाइल्याण्ड जस्ता देशहरुले कृषि पर्यटन भनेर सिधै मानिसहरुलाई संलग्न गराएको उदाहरण दिए । उनले अहिले पर्यटकहरु एक हप्तामै फर्किएर जाने अवस्था रहेको बताउँदै आफूले भनेअनुसारका कुराहरुमा सुधार भए पर्यटकहरु दुई–तीन हप्ता बिताउने बताए । 

होटल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहले साहसिक पर्यटन र छुट्टि मनाउन गरेर नेपालमा दुई किसिमका पर्यटकहरु नेपाल आउने बताए । उनले भने, ‘हाम्रो आउने पर्यटकहरु दुई खालका हुन्छन् । एउटा साहसिक पर्यटन, अर्को छुट्टि मनाउने पर्यटन, ग्रुपवाला’ । पर्यटकको संख्या कसरी बढाउने मात्रै होइन्, आएका पर्यटकहरुको बसाई कसरी लम्ब्याउने ? भन्ने पनि हाम्रो मुख्य समस्या हो । त्यसको लागि सहजीकरण गरिदिनुपर्यो सरकारले, हामी व्यवसायीले ।’

पर्यटकको नेपाल बसाई बढाउन हापm डे ट्रेक (आधा दिनको पदयात्रा) गर्ने खालको विकास गर्नुपर्ने शाहले बताए । त्यस्तो लागि हामीसँग धेरै ठाउँहरु रहेको, होमस्टे र होटलहरु विकास भएको उनले बताए । शाहले भने, ‘पोखरामा अदालतले फेवाताल वरीपरी रातभरी खोल्न दिनु भनेर निर्णय गर्यो । काठमाडौंको दरवारमार्ग, ठमेललाई चौबिसै घण्टा खोल्न दिनुपर्ने आवाज उठाउँदै आएका छौं । तर प्रहरी प्रशासनले समय सीमा तोकेको छ । हामीले नीति नियम पालना गर्नुपर्छ । राति हल्ला गर्न दिनुहुन्न । शान्ति सुरक्षा पालना गर्नुपर्छ । त्यो गर्यो भने पोखरा, काठमाडौंका यस्ता ठाउँहरु चौबिसै घण्टा खुल्न सक्छन् । हामी बिदेश जाँदा सुत्न जाने हो र ? घुम्नै जाने हो नि । नेपाल आउने पर्यटकलाई उनीहरुको खुशीअनुसार घुम्न दिन किन रोक्नुपर्यो ?’ 

सरकारले पर्यटक दर्शक घोषणा गरे पनि एउटा कार्यक्रम दिए नसकेको भन्दै शाहले आलोचना गरे । उनले काठमाडौं, पोखरा, चितवनमा, लुम्बिनीमा नयाँ कार्यक्रम दिनुपर्ने बताउँदै तर सरकारले कुरा मात्रै गर्ने, काम केही गर्न नसकेको बताए । 

नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष शिव अधिकारीले पर्यटकको नेपाल बसाई लम्ब्याउन सके देशको अर्थतन्त्रमा पनि सुधार हुने भए पनि सरकारले कुनै चासो नदिएको गुनासो गरे । उनले भने, ‘सरकारले रारा जस्ता दुर्गम क्षेत्र, पर्यटकीय सम्भावना भएका ठाउँको हवाई भाडा घटाउनुपर्यो भनेको । सुनुवाई हुँदैन् । त्यस्ता ठाउँमा स्थानीयलाई सचेत गराएर पर्यटन गतिविधि बढाउनुपर्यो भनेको सुनुवाई हुन्न । राफ्टिङ, क्यानोइङ जस्ता साहसिक खेलहरुको लागि नयाँ गन्तव्यहरु आइरहेको छ । त्यसलाई थप प्रवर्द्धन गर्नुपर्ने । हुन सकेको छैन् । यस्ता कुराहरुले पर्यटकको बसाई बढ्थ्यो । 

अधिकारीले पर्यटकहरु एक दिन राफ्टिङ गर्न बसे पनि त्यसले नेपाललाई थप आम्दानी गर्न, रोजगारी बढाउन सहयोग पुग्ने भन्दै  थपे, ‘सगरमाथा क्षेत्रमा माउन्टेन फलाइ गरे, त्यहाँ गएर बसे त्यसले पनि पर्यटकको बसाइ लम्ब्याउँछ । त्यही भएर हवाई भाडा घटाउनुपर्छ भनेको हामीले ।’ अहिलेको समयमा विदेशी पर्यटकहरु नेपाल आएर शहरमा बस्न नचाहाने अधिकारीको तर्क छ । 

शहरी क्षेत्रको धुलो धुवाँका कारण पनि पर्यटकहरु शहरमा बस्न नरुचाउने बताउँदै पर्यटकहरुले नयाँ अनुभव गर्न, नयाँ कुरा हेर्न खोज्ने प्रवृत्ति भएकाले सोअनुकुलको वातावरण बनाउन नसक्किएको स्वीकार गरे । 

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले करिब ६५ प्रतिशत पर्यटक साहसिक गतिविधिका लागि नेपाल आउने गरेको बताउँदै तर नेपाल पर्यटन पूर्वाधार, कमजोर सडक यातायात, हवाई कनेक्टिभिटिको समस्या रहेको बताए । 

उनले भने, ‘गत महिना अहिलेसम्मकै धेरै पर्यटक नेपाल भित्रिएका छन् । कोरोना महामारीपछि विश्वमा एउटा सकारात्मक सन्देश गएको छ । पर्यटनबाट देशको आर्थिक उन्नती गर्न सकिने भएकाले यो क्षेत्रलाई प्राथमिकता दिनुपर्छ भनेर हामीले भन्दै आएको हो । पर्यटन व्यवसायलाई पनि उद्योगको दर्जा दिनुपर्यो भने पनि अहिलेसम्म हुन सकेको छैन् । सरकारले बुझ्न सकेको छैन् । भोलिका दिनमा पर्यटनलाई सरकारले प्राथमिकतामा राख्छ भन्ने विश्वास छ ।’ 

Advertisement