सामाजिक सुरक्षा कोषले योगदानकर्ताका सन्तानलाई पनि स्वास्थ्य सुविधामा समेट्यो

Advertisement

काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा कार्यक्रममा सहभागी योगदानकर्ता (श्रमिक)का छोराछोरीलाई पनि स्वास्थ्य सुविधामा समेटेको छ । 

हालसम्म योगदानकर्ताका दम्पत्ति र आमाबाबुले मात्र स्वास्थ्य सुविधा पाउँदै आएकोमा अबदेखि उनीहरुका १८ वर्षमुनिका सन्तानलाई पनि समेटेको हो । 

Advertisement

छैठौं सामाजिक सुरक्षा दिवसको अवसर पारेर कोषले योगदानकर्ता श्रमिकका सन्ततीलाई स्वास्थ्य सुविधामा समेट्ने निर्णय गरेको हो । शुक्रबार बसेको कोषको सञ्चालक समिति बैठकले योगदानकर्ताका १८ वर्ष मुनिका सन्तानलाई पनि उनीहरुका आमाबुबाले पाएसरहको स्वास्थ्य सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । 

सामाजिक सुरक्षा कार्यक्रमको अवधारणा अघि बढाउँदा योगदानकर्ताका आमाबाबु, श्रीमती र छोराछोरीलाई समेत समेट्ने कुरा भए पनि यसको कार्यान्वयन गर्न ढिलाई गरिएको हो । निर्णयअनुसार कार्यविधि पनि संशोधन भइसकेको र आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालमार्फत यसको घोषणा भएको हो । 

सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत कोषमा आवद्ध योगदानकर्ताले स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रति परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना अनुसार सुविधा पाउने व्यवस्था छ ।

सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाले वार्षिक एक लाखसम्मको औषधि उपचार सुविधा पाउने गर्दछन् दुई वर्ष योगदान गरिसकेका योगदानकर्तालाई घातक रोग लागेमा १० लाखसम्म उपचार खर्चको शोधभर्ना हुन्छ ।

यसैगरी, योगदानकर्ताको कामको सिलसिलामा दुर्घटना भएमा सम्पूर्ण उपचार खर्च कोषले व्यहोर्छ । अन्य दुर्घटनाको सात लाख रुपियाँसम्म कोषले शोधभर्ना गर्छ । दुई वर्ष पुगेको योगदानकर्ताको व्यवसायजन्य रोगको सम्पूर्ण उपचार खर्च कोषले नै व्यहोर्छ । 

दुर्घटना भएमा वा व्यवसायजन्य रोग लागेर काममा फर्किन नसकेमा आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम कोषले उपब्ध गराउँछ भने स्थायी रुपमा अशक्त भएमा अशक्तताको अनुपातको आधारमा आधारभूत पारिश्रमिकको ६० प्रतिशतसम्म आजीवन पेन्सन उपलब्ध गराउँछ । 

योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सक्ने व्यवस्था गरेको छ । सोहीअनुसार अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारीमा गएकाहरुलाई समेत यस कार्यक्रममा सहभागी हुने व्यवस्था गरिएको छ । 

कोषमा हालसम्म १८ हजार ४३९ रोजगारदाता सूचीकृत भएका छन् भने नौ लाख २८ हजार ४५३ योगदानकर्ता सहभागी छन् । साथै, कोषले अहिलेसम्म चार लाख ६६ हजार ६२२ जना वैदेशिक रोजगारीकै क्रममा सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । 

Advertisement

Advertisement