जनताको कोखदेखि शोकसम्म पुग्नेछौंः दाहाल

Advertisement

काठमाडौं । सामाजिक सुरक्षा कोषले आफ्नो दायरा आगामी दिनमा थप विस्तार गर्ने बताएको छ । सोमबार आयोजित आफ्नो छैटौं बार्षिकोत्सवमा छोटो समयमा धेरै मानिसको सहभागिता बढेको भन्दै यसको दायरा बढाउने बताएको हो । 

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी भएका थिए । उनले आफूहरु संविधान कार्यान्वयनको चरणमा रहेको बताउँदै यसको मुख्य आधार सामाजिक न्याय भएको दावी गरे  । सामाजिक न्यायका लागि सबैभन्दा राम्रो कार्यक्रम सामाजिक सुरक्षा भएको उनले बताए । 

Advertisement

सुरुवाती चरणमा कोषमा योगदानकर्ताले मात्रै स्वास्थ्य उपचार सुविधा पाउने व्यवस्था रहेकोमा अहिले योगदानकर्ताको परिवारले पनि सुविधा पाउने व्यवस्था मिलाउन लागेको दाहालले बताए । उनले स्वास्थ्यमा सबैको पहुँच बिस्तार गर्न यो कार्यक्रम उत्कृष्ट रुपमा स्थापना हुने दावी गरे । 

प्रधानमन्त्री दाहालले सामाजिक सुरक्षा कोषको पूर्ण कार्यान्वयनमा देखिएका केही चुनौतीलाई सामूहिक प्रयासबाट समाधान गर्दै जाने बताए । उनले सबै स्थानीय तहलाई सामाजिक सुरक्षा कोषको महत्व बुझी यसको कार्यान्वयनमा जोड दिन आग्रह पनि गरे । 

सामाजिक सुरक्षा कार्यक्रमको सफलतामा सरकारले आफ्नो पनि सफलता देखेको दाहालले बताए । सम्पूर्ण जनताको कोखदेखि शोकसम्म सामाजिक सुरक्षा कार्यक्रमले सघाउने उनले दाबी गरे ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले श्रमिकको पारिश्रमिकबाट उठ्ने योगदानबाट श्रमिलाई नै विशेष लाभ पुग्ने योजना सरकारले सुरु गरेको बताए । पाँच वर्षको छोटो अवधिमा कोषले राम्रो सफलता पाएको बताउँदै उनले हालसम्म १८ हजार ४३९ रोजगारदाता र नौ लाख २८ हजार ५३ योगदानकर्ता सामाजिक सुरक्षा कोषमा आवद्ध भएको बताए । 

त्यसमध्ये औपचारिकतर्फ चार लाख ६१ हजार ७९६ जना, वैदेशिक रोजगारीतर्फ चार लाख ६६ हजार ६२२ जना, स्वरोजगारमा ३२ जना र अनौपचारिकतर्फ ३ जना आवद्ध छन् । सामाजिक सुरक्षा कोषबाट हालसम्ममा ५१ अर्ब २९ करोड रुपियाँ संकलन भएको छ ।

Advertisement