सामाजिक सुरक्षा कोषको ४५ अर्ब त्यत्तिकै राख्न हुन्न, चाँडै लगानीको कार्यविधि बनाउनुस्ः ढकाल

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सामाजिक सुरक्षा कोषको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारलाई सुझाव दिएका छन् । 

छैठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा राजधानीमा सोमबार आयोजित कार्यक्रममा उनले सामाजिक सुरक्षा कोषको ६ वर्षको छोटो समयमा नै सामाजिक सुरक्षा कोषमा ४५ अर्ब रुपियाँभन्दा बढी रकम जम्मा भइसकेको बताउँदै केही समयमै यो संस्था सबैभन्दा धेरै पैसा भएको नेपालको संस्थाको रुपमा पुग्ने बताए । 

Advertisement

ढकालले भने, ‘४५ अर्ब रुपियाँ फन्ड बैकमा राखेर हुन्न । कार्यविधि बनाएर यसलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ । ‍सामाजिक सुरक्षा कोषको स्थापना भएको भर्खरै ६ बर्ष लाग्यो तर यति छोटो समयमा नै कोषले रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुधारमा महत्त्वपूर्ण काम गरेको  छ ।’ ‍

ढकालले कोषको पैसा राज्यको आन्तरिक उत्पादनमा लगाउँदै राज्यको दूरदराजमा रहेका बिपन्न जनता, जो वैदेशिक रोजगारीमा जान चरम आर्थिक संकट बेहोरिरहेका छन्, तिनको सहजीकरणमा लगानी गर्न समेत सुझाब दिए । 

सामाजिक सुरक्षा कोषका कारण निजी क्षेत्रका रोजगारदाताहरु र श्रमिकहरुको सम्बन्ध सुमधुर बनाएको बताउँदै उनले श्रम सम्बन्ध सुधार र श्रम क्षेत्रमा समस्या समाधान गर्नेतर्फ उल्लेखनीय सफलता प्राप्त गरेको बताए । 

ढकालले लामो छलफल र सहकार्यको फलस्वरुप श्रम ऐनको संशोधन र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न कानूनी र संस्थागत व्यवस्था भएको बताए । उनले भने, ‘यो नीतिगत सुधारले सामाजिक रुपान्तरणका हाम्रा प्रयासमा ठूलो सहयोग पुग्न हामीले विश्वास लिएका छौं ।’

Advertisement

Advertisement