‘बीमा प्राधिकरणका पाँच महत्वपूर्ण निर्णय जनशक्ति अभावकै कारण तुइनसक्छ’

Advertisement

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले पछिल्लो समय चालेका केही महत्वपूर्ण कदमहरु कार्यान्वयन हुने कुरामा आशंका गरिएको छ । 

एक जना पूराना निर्जीवन बीमा कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत)ले प्राधिकरणसँग दक्ष जनशक्तिको निकै ठूलो अभाव रहेको भन्दै सोही अभावका कारण प्राधिकरणका उक्त निर्णयहरु कार्यान्वयन हुन कठिन रहेको बताएका हुन् । 

Advertisement

यदी समयमा प्राधिकरणले योग्य जनशक्ति भर्ती गर्न नसके उसले चालेका केही महत्वपूर्ण निर्णय सफल हुनुको सट्टा तुइएर जाने ती सीईओको तर्क छ । प्राधिकरण बलियो भए मात्रै बीमकहरुको पनि कार्यक्षमता बढ्ने ती सीईओले बताए । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले  भने, ‘बीमा प्राधिकरणले अहिले केही महत्वपूर्ण निर्णयहरु गरेको छ । त्यस्ता निर्णयहरु अहिलेका अध्यक्ष (सूर्य सिलवाल) भएकै कारण संभव भएको हो । निर्णयहरु त भए । तर कार्यान्वयन गर्ने कुरामा ठूलो चुनौति देख्छु मैले । निर्णय गर्नु एउटा पाटो हो । मुल कुरा कार्यान्वयन हुन्छ कि हुन्न ? भन्ने प्रश्न हो । कार्यान्वयन गर्न त प्राधिकरणसँग पर्याप्त जनशक्ति पनि चाहियो । कर्मचारी मात्रै भएर मात्रै भएन् । दक्ष र बीमा बुझेको जनशक्ति चाहियो । त्यो छैन् अहिले ।’

ती सीईओका अनुसार प्राधिकरणका पाँच महत्वपूर्ण निर्णयहरुमा पहिलो बीमा क्षेत्रमा मर्जर हो । दक्षिण एशियामै ठूलो मर्जर नेपालको बीमा क्षेत्रमा भएको छ । यसलाई सफल बनाउनुपर्ने चुनौति अब प्राधिकरणसँग छ । दोस्रो बीमा कम्पनीहरुको चुनौति पुँजी वृद्धि हो । विगतमा हुन नसकेको काम अहिले हुन सकेको छ । अरु अध्यक्ष भएको भए यसरी पुँजी वृद्धि गराउन गाह्रै पर्थ्यो । तेस्रोमा जोखिममा आधारित पुँजीकोषको व्यवस्था हो । यो बीमा क्षेत्रका लागि महत्वपूर्ण कदमको सुरुवात भएको छ । चौथौ ‘एनएफआरएस’ (नेपाल लेखामान प्रणाली) अन्तर्गत बीमा कम्पनीहरुको वित्तीय विवरण प्रकाशित हुने कुराको सुरुवात गराउनु हो । यसले नेपालको बीमा कम्पनीहरुलाई विदेशी कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न र स्तर वृद्धि गर्न भूमिका खेल्ने छ । ‘एनएफआरएस’ सुरु नहुँदा विगत बीमा क्षेत्रले धेरै समस्या झेल्दै आएको थियो । पाँचौं जलवायु परिवर्तनमा बीमा क्षेत्रको चासो हुनु अर्थात त्यससँग जोडेर बीमा क्षेत्रलाई अघि बढाउने कुरा हो ।

उधारो बीमा रोक्न बीमा प्राधिकरणले गरेको प्रयासलाई पनि सकारात्मकरुपमा लिनुपर्ने उनको भनाई छ । सँगै, ती सीईओले प्राधिकरणको कार्यशैलीमा पनि सुधारको जरुरी रहेको औंल्याए । विगतमा एक–दुई अर्बको कम्पनीलाई गरेको व्यवहार अहिले पुँजी वृद्धि भएर ठूलो भइसकेका कम्पनीहरुलाई पनि उस्तै व्यवहार गर्नु खोज्नु राम्रो होइन् भन्दै प्राधिकरणको नियमन शैली र रणनीतिमा परिवर्तन आउनुपर्ने बताए । प्राधिकरणको पूरानै काम गर्ने शैलीले गर्दा कम्पनीहरुको व्यवसाय वृद्धिमा साह्रै कठिनाई भएको उनको अनुभव छ ।   

ती सीईओले भने, ‘प्राधिकरणले अब आफ्नो कार्यशैली र कार्यक्षमतामा पनि स्तरोन्नती गर्नुपर्छ । आफ्नो जनशक्ति बढाउने, बढाउँदा त्यहीअनुसारको अनुभवी र दक्ष जनशक्ति भर्ना गर्ने, भएकालाई पनि आवश्यक तालिम दिने कुरा जरुरी छ । नियामक निकायको हैसियतले प्राधिकरणले बीमा कम्पनीहरुलाई नियमन गर्ने त्यहीअनुसारको जनशक्ति तयार गर्न ढिला भइसक्यो । चलिहाल्छ, यस्तै त हो, भन्दा त्यसले कम्पनीहरुलाई पनि समस्या पर्ने होइन्, समग्र उद्योगलाई नोक्सान पुग्छ । किनभने अब नेपालको बीमा क्षेत्रले पनि समयअनुसार फड्को मार्दै जानुपर्ने हुन्छ । सुशासन कायम गर्नुपर्ने हुन्छ । त्यसमा प्राधिकरण सहजकर्ता भन्दा पनि बाधक जस्तो भइदियो भने गाह्रो हुन्छ । राम्रो प्रगति गर्ने, सुशासनमा बस्ने कम्पनीहरुलाई प्राधिकरणले पनि स्वस्थ मूल्यांकन गरेर पुरस्कृत र नगर्नेलाई दण्डित गर्ने परिपाटीको विकास गर्नुपर्छ । यी कुराहरुमा परिवर्तन आएन भने प्राधिकरणले चालेको महत्वपूर्ण कदम तुइनसक्छ ।’

Advertisement