एमालेले अघि बढाएको मध्यपहाडी राजमार्ग अहिलेको सरकार अलपत्र पारिदियोः पौडेल

Advertisement

काठमाडौं । नेकपा एमालेले मंसिर १४ देखि पुस २ गतेसम्म मध्यपहाडी राजमार्ग लक्षित महाकाली–मेची अभियान शुरु गर्न लागेको छ । 

पुष्पलाल राजमार्ग भनेर समेत भनिने यो सडक आफ्नो पार्टीको सरकारको पालामा सुरु भएकाले सो कुरालाई बजारीकरण गर्न एमालेले यो अभियान सुरु गर्न लागेको देखिन्छ । पछिल्लो समय अभियान्ता दुर्गा प्रसाइँका कारण एमालेको संगठन निकै कमजोर भएको छ । पार्टीका धेरै कार्यकर्ताले संगठन छोड्न थालेपछि एमालेले महाकाली–मेची अभियान अभियान सुरु गर्न लागेको हो । पछिल्लो समय ठूला दलप्रति जनताको वितृष्णा बढ्दै गएको छ भने नयाँ पार्टी र स्वतन्त्र व्यक्तिहरुमा आकर्षण बढ्दै गएको छ । 

Advertisement

बैतडीको झुलाघाटबाट पाँचथरको चिवा भञ्ज्याङ जोड्ने यो राजमार्ग अभियान सफल बनाउने कार्यमा पार्टीका नेता तथा कार्यकर्ताहरु लागिपरेको सो पार्टीका उपाध्यक्ष बिष्णु पौडेलले बताए । 

नानसँगको कुराकानीमा उनले यस यात्रालाई एमालेले संकल्पको यात्राका रुपमा लिएको बताए । एमाले बाहेकका राजनीतिक दलहरुले मुलुकलाई समृद्धि र सामाजिक न्यायतर्फ डोर्याउन, नेतृत्व गर्र्न र अघि बढाउन सक्दैनन् भन्नेकुरा स्पष्ट भइसकेको बताउँदै पौडेलले मुलुकको समृद्धि र जनताको खुशीका निम्ति एमालेको हातमा मुलुकको बागडोर आउनुपर्ने आशा व्यक्त गरे । 

उनले नेकपा एमालेको नेतृत्वमा मध्यपहाडी राजमार्गमा शुरु भएका विकासका कामहरु सरकार परिवर्तन भएसँगै अलपत्र परेकाले ती विकासका आयोजनाहरु पनि प्रभावकारी रुपमा अघि बढाउन एमालेको सरकार आवश्यक रहेको बताए । पौडेलले मध्यपहाडी राजमार्गको परिकल्पनाकार हाम्रो पार्टी भएकाले यस क्षेत्रमा पूर्वाधारको निर्माणसँगै हुने विकासक्रममा महत्वपूर्ण योगदान पुग्ने गरी अभियान सञ्चालन गर्न लागेको बताए । 

एमालेको नेतृत्वमा बन्ने सरकारले मात्रै देशलाई समृद्धितर्फ लिएर जानसक्ने र मध्यपहाडी क्षेत्रका जनताका विकासका चाहनालाई सम्बोधन गर्नसक्ने उनले जिकिर गरे । सोही सन्देश दिन अभियान सञ्चालन गर्न लागेको भन्दै स्थानीय जनतासँग त्यस क्षेत्रका समस्या सुन्ने र समाधान खोज्ने गरी एमालेले अभियान अघि बढाउने बताए । 

मध्यपहाडी क्षेत्रबाट भइरहेको बसाईंसराई, उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य र अन्य पूर्वाधारका कामलाई गतिका साथ अघि बढाउने हिसावले एमालेले देशको विकासको अभियानलाई अघि बढाउने गरी अभियान सञ्चालन गर्ने पौडेलले बताए । 

Advertisement

Advertisement