अर्थमन्त्री भन्छन्–  यो गणतान्त्रिक व्यवस्था यति कमजोर छैन, यसको पक्षमा ठूलो जनमत छ

Advertisement

काठमाडौं । अर्थमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशशरण महतले अहिलेको प्रणाली जनताबाट स्थापित भएको दावी गर्दै यो प्रणाली कमजोर नरहेको बताएका छन् । 

बुधवार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि बोल्दै उनले वर्तमान संघीय गणतन्त्रात्मक व्यवस्था प्रतिगामीहरुले सोचेको भन्दा बलियो रहेको दावी गरेको हो । 

Advertisement

महतले राजनीतिमा धेरै खाले अफ्ठ्यारा आउने र त्यसलाई पन्छाउँदै जानुपर्ने बताउँदै उनले लोकतान्त्रिक मूल्य र मान्यता र कानूनी शासनलाई संरक्षित गर्दै सुशासन, समृद्धि र विकासमा प्रतिवद्ध रहेको बताए । 

उनले भने, ‘अफ्ठ्याराहरु त देशमा धेरैखाले छन् । त्यो अफ्ठ्याराहरुलाई हामीले पन्छाउँदै हिँडिरहेका छौँ । राजनीतिमा त अफ्ठ्यारा आउँछन् । एकमद स्मुथ, सहज बाटो त हुँदैन । अफ्ठ्यारा त आइरहन्छन् । त्यसलाई फेरि सल्ट्याउँदै अघि बढ्ने हो । नेपाली काँग्रेस लोकतान्त्रिक मूल्य र मान्यता, कानूनी शासनमा विश्वास गर्दछ । त्यसलाई संरक्षित गर्दै त्यसको सम्पूर्ण रुपमा प्रत्याभुति दिँदै सुशासन, समृद्धि र विकासमा प्रतिवद्ध छ । विभिन्न बहानामा... यो धेरै ठूलो मेहनतले आएको स्थापित सिस्टम हो । यसमाथि प्रश्न उठाउने लक्ष्यका साथ अनेकौँ बहानाबाजी गरेर यसलाई कमजोर गर्ने कोशिस विभिन्न कोणबाट, गुटमा प्रकट भएकै छन् । तर जनताबाट स्थापित यो सिस्टम यो यति कमजोर छैन । यसको पक्षमा ठूलो जनमत छ ।’ 

महतले जसले जानिजानि बैंकबाट लिएको ऋण बेठाउँमा लगानी गर्ने, दुरुपयोग गर्ने र तिर्दिन भन्नेलाई छुट दिन सकिँदैन् भन्दै तर कोशिस गर्दागर्दै पनि समस्यामा परेका छन् भने त्यसलाई राज्यले हेर्ने बताए । उनले बैठकमा आसन्न महासमितिको बैठकको तयारीको बारेमा छलफल भएको बताए । 

Advertisement

Advertisement