एनसेलबाट आजियटा फिर्ता हुनु अशुभ संकेत, लगानी सम्मेलन गर्न लागेको सरकारलाई धक्का

Advertisement

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडबाट मलेसियन बहुर्राष्ट्रिय कम्पनी आजियटा समूहले लगानी फिर्ता लैजाने निर्णयले अशुभ संकेतको रुपमा लिइएको छ । 

आजियटा समूहले नेपालमा लगानी गरेर लाभ हुन नसकेको र अनावश्यक झन्झट व्यहोर्नुपरेको संकेत गर्दै लगानी फिर्ताको घोषणापछि भर्खरै लगानी सम्मेलन गर्ने र विदेशी लगानी भित्राउने निर्णय गरेको सरकारलाई ‘झापड’ भएको छ । 

Advertisement

आजियटा नेपालबाट बाहिरिँदा एनसेलको भविश्य के हुन्छ ? यसमा कस्ले लगानी गर्छ ? सेवा प्रभाव कस्तो हुन्छ ? भन्ने चिन्ता र चासो पनि बढेर गएको छ । अहिले एनसेल उत्कृष्ट करदाताहरुमा पर्दै आएको कम्पनी पनि हो । एनसेलले बार्षिक आठ अर्बभन्दा बढी कर तिर्दै आएको छ । आजियटाले लगानी फिर्ता गर्दैगर्दा एनसेलले तिर्दै आएको यो कर मात्रै होइन्, उसले तिर्न बाँकी रहेको भनिएका ५८ अर्ब आयकर के हुने हो ? त्यो समेत अन्योलमा पर्ने देखिन्छ । ठूला करदाता कार्यालयले निर्धारण गरेको यो कर विवादमा परेपछि सर्वोच्च अदालतमा पुगेको छ ।   

एनसेलले आर्थिक वर्ष २०७९–८० मा मात्रै सात अर्ब २१ करोड ४५ लाख रुपियाँ कर दाखिला गरेको छ । यो वर्ष कम्पनी धेरै कर दाखिला गर्ने सूर्य नेपाल र नेपाल दूरसचार कम्पनी भन्दा पछि परेर तेस्रो नम्बरमा रहेको छ । 

आर्थिक मन्दीका कारण राजश्वका स्रोतहरु खुम्चिँदा सरकारलाई चालू खर्च धान्ननै धौधौ परेको छ । सरकारले सरकारी बेतनधारीलाई तलब भत्ता दिन नै आन्तरिक ऋण उठाउनुपर्ने बाध्यता सिर्जना भएको छ । एनसेलबाट आजियटाले लगानी फिर्ता लैजाँदा यसको असर राजश्वमा मात्रै नभएर विदेशी मुद्रा संचितिमा समेत असर पर्नेछ । 

भ्वाइसको ब्यापार घटेपछि एनसेलको आम्दानीमा पनि कमी आएको थियो । पछिल्लो समयमा सरकारले टिकटकसमेत बन्द गरेपछि डाटाको बिक्रीमा समेत भारी गिरावट आउने देखेर आजियटाले नेपाल छोड्ने निर्णय गरेको हुनसक्ने अनुमान गरिएको छ । 

गत आर्थिक वर्षमा ३७ अर्बको हाराहारीमा व्यापार गरेको उनसेलले २०७८–७९ मा ४० अर्ब २८ करोड ९४ लाख कारोबार गरेको वित्तीय विवरण पेश गरेको छ । सो कारोरबाट कम्पनीले सात अर्ब ७९ करोड कर दाखिला गरेको छ । आजियटाले नेपालमा व्यापारिक वातावरण बिग्रिएको जनाउ दिनुमा उल्लेखित कुराहरु मात्रै नभएर पुँजीगत लाभकरवापत ६० अर्बभन्दा बढी दायित्व सिर्जना गरिनु, दूरसञ्चार कम्पनीको रुपमा एनसेललाई दिइएको लाइसेन्सको अवधि सक्किने समय आउनु पनि हुनसक्ने अडकल गरिएको छ । उक्त कम्पनीको लाइसेन्सको अवधि अब करिव पाँच बर्ष बाँकी छ । यो अवधि सक्किएपछि कम्पनी स्वतः सरकारको हुन्छ । 

त्यो भन्दा पनि ठूलो आजियटा जस्तो ठूलो कम्पनीले नेपालबाट लगानी फिर्ता लैजाँदा अन्तर्राष्ट्रियस्तरमा निकै नराम्रो सन्देश जानेछ । विदेशी लगानी भित्राउन भन्दै गर्न लागिएको लगानी सम्मेलन ठूलै असर पर्ने देखिन्छ । यसले नेपालका अरु स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबल समेत कमजोर बनाएको छ । 

आजियटा समूहका सीईओ (प्रमुख कार्यकारी अधिकृत) तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालमा व्यवसायिक चुनौती बढेको भन्दै आफ्नो सञ्चालक समितिले नेपालबाट बाहिरिने निर्णय गरेको बताएका छन् । 

एनसेलबाट बाहिरिने निर्णयसँगै उसको ब्राण्ड र स्वामित्व बिक्रीका लागि राख्ने आजियटाले बताएको छ । एनसेलमा आजियटाको ८० प्रतिशत लगानी छ भने २० प्रतिशत नेपाली (सुनिभेरा क्यापिटल भेन्चर प्रा.लि.)को छ ।

Advertisement

Advertisement