फोहोरको गन्धले ककनीमा हुँदैन उब्जनी, भएको उब्जनी पनि बिक्री गर्न गाह्रो

काठमाडौं । वि.सं. २०६२ मा नुवाकोट सिसडोल र ओखरपौवाका स्थानीयहरुले बञ्चरेडाँडा र सिसडोल क्षेत्रमा लड्डु खाएर फोहोर विसर्जन गर्न सहमति दिएका थिए । 

अट्ठार वर्ष पहिला एक घर, एक रोजगार, सडक कालोपत्रे हुने, जागिर पाइने र गाउँमा नै ठूलो अस्पताल बन्ने आशा देखाउँदै पूजा गरियो । त्यही आशामा स्थानीयले लड्डु खाएर फोहोर फाल्न दिने सहमति जनाए । 

Advertisement

अहिले उनीहरु फोहोरमा पिल्सिएर बस्न बाध्य छन् । फोहोरले घेरिएको ककनी गाउँपालिका १, सिसडोल २ ओखरपौवा र वडा ३ चाउथे क्षेत्रका मानिसहरुमा स्वास्थ्य समस्यादेखि खेतबारीमा अनाज उब्जनी समेत हुन छाडेको छ । 

यस क्षेत्रमा रहेको खेतबारी फोहोरले पुरेको र बाँकी रहेको खेतबारीममा अनाज उब्जनी हुन छाडेको स्थानीयको गुनासो छ । सरकारले फोहोर विसर्जन गर्न सहमति दिँदा एक घर, एक रोजगार, सडक कालोपत्रे हुने, जागिर पाइने र गाउँमा नै अस्पताल बनाइदिएर फोहोरमा मोहोर बनाउने आशा निराशामा परिणत भएको छ । 

फोहोरको दुर्गन्धको कारण माटोमा अन्न र फलफूल पनि फल्न छोडेको स्थानीय किसानहरुको गुनासो छ । उनीहरुले अन्न उम्रे पनि फल लागेपछि पात र फललाई किराले खान्छ । किसानले फोहोरबाट निस्केको लिच्चड खोलामा मिसिँदा खेतबारीमा उब्जनी हुन छाडेको छ । 

उत्पादन भएको फलफूल तरकारी समेत फोहोरमा उत्पादन भएको भनेर कसैले किन्न नमान्ने गरेको गुनासो कृषकहरूको छ । लगाएको अन्नबाली र फलफूलहरुमा किरा र डढुवा लाग्ने गरेको उनीहरु बताउँछन् । 

ककनी गाउँपालिका चाउथेका स्थानीय कृषक कृष्णहरी ढुङ्गानाले बञ्चरेडाँडामा फालेको फोहोरको दुर्गन्धले ककनी गाउँपालिकाको वडा १ सिसडोल र २,ओखरपौवाका साथै वडा ३ चाउथे क्षेत्रमा कृषि उत्पादनमा ह्रास आउन थालेको गुनासो गरे । 

उनले फोहोरको दुर्गन्धले किसानहरुले उत्पादन गरेको कृषिबाली र फलफूलहरुमा किरा लाग्ने गरेको उल्लेख गरे । ढुङ्गानाले किसानहरुले लगाएको आलु, काउली, गोलभेडा र साग जस्ता तरकारी बालीहरुमा किराहरु लागेर बाली नष्ट गर्ने गरेको बताए । 

बिरुवाहरु नै नफस्टाउने समस्या देखिएकाले यो क्षेत्रको अन्नबाली उत्पादनमा समेत धेरै ह्रास आएको दुखेसो गर्दै उनले कागती निबुवा जस्ता अमिलो फलफूलमा समेत सेता किराहरु लाग्ने गरेका बताए । ढुङ्गानाले फोहोरको असरको कारण कृषि उत्पादनमा विनाश गर्ने मात्रै नभएर पशुपंक्षीहरुमा समेत नयाँ–नयाँ रोगहरु निस्कन थालेकाले बस्न सक्ने अवस्था नभएको भन्दै राज्यले बस्ती स्थानान्तरण गर्नुपर्ने माग गरिएको बताए । 

उनले भने, ‘फोहोरको दुर्गन्धले ककनी गाउँपालिकाको वडा नम्बर १ सिसडोल र २ ओखरपौवा र वडा नम्बर ३ चाउथे क्षेत्रमा कृषि उत्पादनमा किरालाग्न थालेको छ । किसानहरुले लगाएको आलु,काउली, गोलभेडा र साग जस्ता तरकारी बालीहरुमा फोहोरको गन्धले विभिन्न किसिमका किराहरु लाग्न थालेको छ । बिरुवाहरु नै फस्टाउन नसक्ने जस्ता समस्या देखिएकाले यो क्षेत्रको अन्नबाली उत्पादनमा धेरै ह्रास आएको छ । कागती निबुवा जस्ता अमिलो फलफूलमा किरा नलाग्नुपर्ने भएपनि अहिले यो क्षेत्रमा फलफूलमा समेत सेता किराहरु लाग्ने गरेका छन् । कागती,सुन्तला जस्ता फलफूल उत्पादन फोहोरको गन्धले नष्ट भएर गयो । फोहोरको असरको कारण कृषि उत्पादनमा विनाश गरेको छ । पशुपंक्षीहरुमा समेत नयाँ–नयाँ रोगहरु निस्कन थालेको छ ।’

सोही क्षेत्रका अर्का कृषक विश्वनाथ बजगाइँको दुखेसो पनि उस्तै छ । उनले पनि राज्यले काठमाडौं उपत्यकाको फोहोर वैज्ञानिक व्यवस्थापन गर्न नसक्दा मानवीय मात्रै नभएर कृषि उत्पादनमा समेत असर पर्न थालेको बताए । बजगाइँले ककनी क्षेत्रमा उत्पादन हुने फलफूल तथा कृषि उत्पादनहरुमा फोहोरको असरले सबैमा किरा लाग्न थालेको बताए । 

उनले उत्पादन भएको फलफूलहरु बाहिरबाट हेर्दा राम्रो देखिने तर सुन्तला, ज्यामिर, निबुवा, जुनारमा भित्र किरा लागेर खानै नहुने हुन थालेको भन्दै किसानहरुको महेनत समेत खेर जान लागेको बताए । 

बजगाइँले भने, ‘बाइस वटा भन्दा बढी स्थानीय तहको फोहोर बञ्चरेडाँडामा अवैज्ञानिक रुपमा विसर्जन गर्दा मानवीय मात्रै नभएर कृषि उत्पादनमा समेत असर परेको छ । जसमा ककनी क्षेत्रमा उत्पादन हुने फलफूल तथा कृषि उत्पादनहरुमा फोहोरको असरले सबैमा किरा लाग्न थालेको छ । बाहिरबाट हेर्दा राम्रो देखिने तर सुन्तला,ज्यामिर,निबुवा,जुनारमा भित्र किरा लागेर खानै नहुने भएको छ ।’

ककनी फोहोरबाट प्रभावित क्षेत्रका अर्का स्थानीय किसान शिवराम घिमिरेले पनि कृषि उत्पादन अन्नबालीदेखि फलफूलमा विभिन्न रोगहरु लाग्नाले उत्पादन ह्रास आउन थालेको बताए । उनले यो क्षेत्रमा उत्पादन हुने सुन्तला, कागती र मौसमहरुमा किरा लाग्ने थालेको बताए । 

घिमिरेले फोहोरको गन्धको कारण कृषिबालीहरुमा ठूलो असर गरेकाले यस्तै रहे यो क्षेत्र उजाड बन्ने अवस्था आउने बताए । उनले राज्यले काठमाडौं उपत्यकाले उब्ज्याएको फोहोरको रोग नुवाकोट ककनीबाँसीलाई दिने काममा भन्दा पनि वैज्ञानिक व्यवस्थापनको विकल्प खोज्न आवश्यक रहेको बताए । 

घिमिरेले भने, ‘कृषि उत्पादन अन्नबालीदेखि फलफुलमा विभिन्न रोगहरु लाग्नाले उत्पादन ह्रास आउन थालेको छ । यो क्षेत्रमा उत्पादन हुने सुन्तला, कागती र मौसमहरुमा किरा लाग्ने थालेको छ । फोहोरको गन्धको कारण कृषिबालीहरुमा यति ठूलो असर गरेको छ भने मानवहरुमा कति असर परेको छ भन्ने विषय मूल्याङ्कन गरेर भन्न सक्ने अवस्था छैन । त्यसैले राज्य काठमाडौं उपत्यकाले उब्ज्याएको फोहोरको रोग नुवाकोट ककनी बासीलाई दिने काममा भन्दा पनि राज्यले वैज्ञानिक व्यवस्थापनको विकल्प रोज्न आवश्यक छ ।’

अर्को स्थानीय कृषक मनिष ढुङ्गानाले काठमाडौं उपत्यकाको फोहोर अस्तव्यस्त रुपमा नुवाकोट सिसडोल र बञ्चरेडाँडामा फाल्दा फोहोरको दुर्गन्ध कम गर्न हालिएको केमिकलहरुले मानवीय स्वास्थ्यमा बढी प्रभाव पार्ने थालेको पनि बताए । 

उहाँले भन्नुभयो,‘राज्य काठमाडौं उपत्यकाको फोहोरको वैज्ञानिक व्यवस्थापन गर्न नसक्दा मानवीय स्वास्थ्य समस्या प्रमुख असर हो । मानवीय स्वास्थ्य समस्या मात्रै नभएर फोहोरको गन्धको कारण कृषि बालीहरु उत्पादनमा समेत असर परेको छ । जसको असरले कृषि उत्पादनमा ह्रास आउन थालेको छ । काठमाडौं उपत्यकाको फाहोर अस्तव्यस्त रुपमा फोहोर फालेको छ । अझ फोहोरको दुर्गन्ध कम गर्न विभिन्न केमिकलहरु प्रयोग गरेको छ । तर फोहोरको गन्धले भन्दा पनि केमिकलले मानविय स्वास्थ्यमा बढी प्रभाव पार्ने थालेको छ ।’ 

काठमाडौं उपत्यकाको फाहोर सिसडोल र बञ्चरेडाँडामाजथाभावी फालिदिँदा डम्पिङ साइटनजिक मात्र नभएर ककनी गाउँपालिकाको वडा न. १, २, ३ र धुनीबेंसी नगरपालिका (धादिङ) को केही वडा बढी प्रभावित भएका छन् । यो क्षेत्रका मानिसहरुमा बाह्रैमास रुघाखोकी र झाडापखाला र क्यान्सर जस्ता प्राणघातक रोगको शिकार बन्न थालेका छन् । त्यसैले फोहोर व्यवस्थापन गर्ने अधिकार प्राप्त निकाय र राज्यको ध्यान वैज्ञानिक फोहोर व्यवस्थापन गरेर वा  फोहोरबाट प्रभावित स्थानीयहरुकोहरुको बस्ती स्थानान्तरण गरी न्याय दिन जरुरी छ । 

Advertisement