मर्जरपछि बीमा कम्पनीहरुमा आन्तरिक सरुवाको आतंक, के भन्छ प्राधिकरण ?

Advertisement

काठमाडौं । बीमा कम्पनीहरुलाई बलियो बनाउन भन्दै नेपाल बीमा प्राधिकरणले लिएको नीतिअनुसार मर्जरमा गएका धेरै कम्पनीहरुमा कर्मचारी समायोजन निकै सकस बनेको छ । 

बीमा कम्पनीहरुमा आन्तरिक सरुवा बढ्दा कर्मचारीहरु मनोदशामा काम गर्न बाध्य भएका छन् । मर्जरमा गए पनि कर्मचारी निष्काशन र तलब सुविधा कटौती गर्न नपाइने प्राधिकरणको निर्देशनका कारण कम्पनीहरुले सरुवालाई अस्त्रको रुपमा लिएको देखिन्छ । 

Advertisement

चुक्ता पुँजी बढेपछि कम्पनीहरु आर्थिकरुपमा सबल बन्ने र दावी भुक्तानी क्षमता बढ्ने भन्दै प्राधिकरणले मर्जरमा जान प्रोत्साहनमूलक नीति लिएको थियो । तर मर्जरमा गएका अधिकांश कम्पनीमा कर्मचारी समायोजनमा समस्या कायम छ । समस्या आएर गुनासो धेरै आएपछि प्राधिकरणका अध्यक्ष र कार्यकारी निर्देशकले नै पटक पटक कम्पनीका सीईओहरुलाई फोन गरेर सचेत गराउनुपरेको छ । 

बीमा कम्पनीका कार्यरत एक कर्मचारीले कर्पोरेट नेपालसँगको कुराकानीमा भने, ‘अहिले कर्मचारी कटौती गर्न अरु उपाय नभएपछि सरुवालाई अस्त्रको रुपमा प्रयोग गरिएको छ । विभिन्न बहानामा कर्मचारीलाई अपायक ठाउँ र अनुभवभन्दा फरक शाखामा सरुवा गरिदिने प्रवृत्ति बढेको छ । नचाहिँदो आरोप खेप्नुपर्ने बाध्यता छ । त्यही बहानामा काठमाडौंमा रहेको कर्मचारीलाई हुम्ला जुम्ला सरुवा गरिएपछि उसले बाध्य भएर छोड्नुपर्यो । पूर्वको मान्छेलाई पश्चिम पठाइदिएपछि कसरी काम गर्छ । न मान्छे चिनेको हुन्छ । न ठाउँ थाहा हुन्छ ।’

मर्जरपछि बीमा कम्पनीहरुमा आन्तरिक सरुवाको आतंक नै रहेको उनको दावी छ । विशेषगरी मर्जरमा गएका कम्पनीमा बलियो कम्पनीले सीईओ पाउने, उसले कमजोर कम्पनीका कर्मचारीहरुलाई बढी पेल्ने अवस्था रहेको देखिएको छ । 

करिब पाँच वर्षअघि नयाँ बीमा कम्पनीहरुले एकै पटक लाइसेन्स पाएको बेलामा पनि कर्मचारी सरुवाको समस्या देखिएको थियो । तत्कालिन समयमा बीमा कम्पनीका कर्मचारीहरु सरुवालाई पुरानो कम्पनीबाट नयाँ कम्पनीमा लाने क्रम धेरै थियो । अहिले फेरि बीमा क्षेत्रमा कर्मचारी सरुवा, बढुवाको विषय टाउको दुखाई बनेको छ । 

आफ्ना कर्मचारीलाई सरुवा गर्नु सम्बन्धित कम्पनीको सीईओको अधिकारको कुरा भए पनि बिना कारण मानवीयता पनि नदेखाई सुत्केरी महिला, बिरामी कर्मचारीलाई सरुवा गर्दा विवाद बढेर गएको हो । 

दुई वटा फरक संस्कृतिका कर्मचारीहरु समायोजन गर्नुपर्दा घुलमिल हुन समस्या देखिएको छ । त्यसमाथि कतिपय कर्मचारीमा पूराना लिगेसीको अहमले गर्दा पनि अर्को कम्पनीका कर्मचारीलाई हेप्ने, पक्षपात गर्ने प्रवृत्ति देखिएको एक कम्पनीका कर्मचारीले स्वीकार गरे । 

यो तथ्यलाई प्राधिकरणका कार्यकारी निर्देशन तथा प्रवक्ता राजुरमण पौडेलले पनि स्वीकार गरेका छन् । गत साता कर्पोरेट नेपालसँगको कुराकानीमा उनले भनेका थिए ,‘मर्जर गर्ने भनेको कर्मचारीहरुको मन मिल्ने मिलाउने कुरा पनि हो । अहिले बीमा कम्पनीका कर्मचारीहरुको संस्कार भिन्दा भिन्दै रहँदा मिल्न केही समस्या देखिएको छ । यो एकै पटक हामीले मिलाएर मिल्ने जस्तो विषयभन्दा पनि बिस्तारै मिल्दै जाने कुरा हो । समायोजनमा देखिएका कमी कमजोरीलाई हटाएर अघि बढ्नुपर्ने देखिन्छ ।’

पौडेलले मर्जर भर्खर भएको विवाह जस्तै जस्तै प्रक्रिया भएको बताउँदै कम्पनीहरुलाई पोस्ट मर्जरमा सहजीकरण गर्न बाँकी रहेको बताए । यता बीमा कम्पनीहरुले पुँजी बढाउन भन्दै मर्जरका लागि भूमिका खेलेको प्राधिकरणले कम्पनीहरुको व्यवसाय बढाउन भने कुनै भूमिका नखेलेको गुनासो गर्छन् । कम्पनीको पुँजी बढे पनि सोअनुसार व्यवसाय बढ्ननसक्दा कम्पनीहरुले आफ्ना बीमितदेखि लगानीकर्तालाई उचित प्रतिफल र आकर्षण दिन नसकेको, त्यसका कारण उनीहरुमा निराश बढ्दै गएको भन्दै यो स्थिति अन्त्य गर्न प्राधिकरणले भूमिका खेल्नुपर्ने बताउँछन् । 

Advertisement