माउन्ट एल्ब्रस १४३ पटक चढ्ने चतुर भन्छन्– स्वास्थ्यले साथ दिए ७० बर्षसम्म हिमाल चढ्छु

काठमाडौं । पर्वतारोही तथा गाइड चतुर तामाङले १४३ औं पटक रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को सफल आरोहण गरेका छन् । लामो समयदेखि रुसमा रहेर ‘माउन्टेन गाइड’को रुपमा काम गर्दै आएका उनले सन् २००२ देखि एल्ब्रस चढ्न थालेका हुन् । तामाङले हिमालमा काम गरेको २० वर्षभन्दा बढीको अनुभव छ । उनी चटुर्स ट्रेक एण्ड एक्स्पडिशनका निर्देशक पनि हुन् । तामाङले दुई सय पटक माउन्ट एल्ब्रस चढ्ने लक्ष्य लिएका छन् । हालसम्म उनले सगरमाथा, ल्होत्से, कञ्चनजंघा, चो ओयु, मनास्लु, अमादब्लम, बरुन्ट्से, आइसल्यान्ड पिक, मेरा पिक लगयात पिकहरुको सफल आरोहण गरेका छन् । पर्वतारोही तथा गाइड तामाङसँग कपोरेट नेपालकी फुर्पा शेर्पाले गरेको कुराकानीः

तपाइँले माउन्ट एल्ब्रसको १४३ औं पटक सफल आरोहण गरिसक्नु भएको छ । दुई सय पटक चढ्ने लक्ष्य पनि राख्नु भएको छ । तपाइँको यो आरोहण यात्रा कसरी सुरु भयो ? 
म माउन्ट एल्ब्रसको चुचुरोमा पहिलो पटक २००३ मा पाइला टेकेको हो । त्यसपछि मैले २००५ देखि आरोहीहरुलाई आरोहण गराउन सुरु गरें । गएको सिजनमा गरेर हालसम्म मैले माउन्ट एल्ब्रसको १४३ औं पटक सफल आरोहण गरिसकेको छु । अहिलेसम्म मेरो लक्ष्य भनेको दुई सय पटक माउन्ट एल्ब्रस आरोहण गर्ने छ । तर, अब हेर्दै जाम, कतिसम्म गर्न सफल हुन्छु । दुई सय पटकसम्म माउन्ट एल्ब्रसको आरोहण गर्न सके म पहिलो नेपाली बनन् सफल हुन्छु । मैले नेपालमा होस अथवा विदेशमा भए पनि कुनै खालको रेकर्ड बनाए पनि नेपाललाई नै चिनाउने हो । मलाई विश्वास छ मैले लिएको लक्ष्य पूरा गर्नेछु । यसले हामी सम्पूर्ण नेपालीको नाम विश्वमाझ अझ फैलिने छ । मैले यसबाट नेपालको पर्यटन क्षेत्रमा केही गर्न सक्ने विश्वास लिएको छु । अहिले पनि मेरो तर्फबाट गरिरहेको नै छु । म हिमाल आरोहणको सिजनमा नेपालमा आउने गरेको छु । साथै नेपालका विभिन्न हिमालमा आरोहीहरुलाई ‘गाइड’ गर्दै आएको छु । रुसमा हिमाल आरोहणको सिजनमा रुसमा माउन्ट एल्ब्रसको आरोहणमा गाइड गर्दै आएको छु । रुस र नेपालका हिमालहरुमा अहिले पनि गाइड गरिरहेको छु । ज्यानले सकेसम्म यसलाई निरन्तरता दिने सोचमा नै छु । 

Advertisement

तपाइँले रुसीहरुसँग निकै संगत गर्नुभएको छ । उनीहरु नेपाल आउन कत्तिको रुचाउँछन् ?
रुसीहरु नेपाललाई धेरै माया गर्छन् । नेपालीलाई पनि त्यति कै माया गर्छन् । उनीहरु शेर्पा भनेपछि खुसी हुन्छन् । सम्मान गर्छन् । शेर्पा एउटा ब्राण्ड नै भयो । त्यतिकै चर्चित छ विश्व बजारमा । हिमाल आरोहण गर्नको लागि शेर्पाको साथ नै चाहिन्छ । त्यसैले गर्दा पनि सजिलो भयो रुसमा काम गर्न ।  गाइड गर्न । उनीहरु नेपालमा आउन निकै रुचाउँछन् । नेपाल आउने रसियनहरुको संख्यामा पनि वृद्धि भएको छ । यो बढ्दो क्रममा छ । रुस–युक्रेन युद्धले गर्दा मात्र अहिले कम भएको हो । नत्र भने रुसीहरु नेपाल आउने अधिकतम् हो । कोभिड–१९ ले गर्दा पनि संख्या घटेको हो । 

तपाइँको उमेरमा हिमाल आरोहण गर्न कतिको गाह्रो छ ? कुन उमेरमा अवकाश लिने योजनामा हुनुहुन्छ ? 
हामी हिमाली क्षेत्रमा बस्ने, हुर्किने, काम गर्ने भएकाले हामीलाई उमेरले त्यस्तो बाधा पार्दैन् । तर हिमाल आरोहण छोडेर घरमै बस्यो भने चाहिँ उमेरले समस्या होला । किनभने हिमाल आरोहण गर्न छोड्दा व्यायाम हुँदैन् । त्यसले गर्दा बढी उमेर हुँदा हिमालमा काम गर्न अल्ली असहज हुनेगर्छ । हिमालमा काम गरिरहे उमेर धेरै भए पनि खासै समस्या हुँर्दैन । अहिले म ५० वर्ष लागें । म अहिले नै हिमाल आरोहण गर्न र गाइडिङ गर्न छोडछु भन्ने छैन् । अहिले नै मैले हिमालबाट अवकाश लिने योजना बनाइसकेको छैन् । उमेर र स्वास्थ्यले कत्तिको साथ दिन्छ ? हेरुम । त्यतिसम्म हिमालमै काम गर्ने सोच छ । स्वास्थ्यले दियो भने ७० वर्षसम्म सानो सानो पिकहरु, छ हजार मिटरका हिमालहरु चढिराख्ने योजना छ । त्यस्तै आठ हजार मिटर अग्ला हिमालहरु करिब ६० वर्षसम्म पनि आरोहण गर्ने र गाइडिङ गर्ने योजनामा छु । 

तपाइँले रुस र नेपालका हिमालहरुमा आरोहण गर्दा महशुस गरेका चुनौतीहरु के के हुन् ? 
हाम्रा हिमाल त्यतिकै सुन्दर छ । विशेषगरी काठमाडौं नै व्यवस्थित भइदिए राम्रो हो । वातावरण सफासुग्गर गर्न ध्यान दिनुपर्छ । नेपालमा विभिन्न देशहरुबाट विदेशी पर्यटक आउँछन् । उनीहरुलाई खुसी बनाउन सरसफाइमा ध्यान दिनुपर्छ । हामीलाई हिमाली क्षेत्रमा पर्यटक पुर्याउन मात्र नभएर विदेशी पर्यटकहरुलाई नेपालमा ल्याउन पनि त्यत्तिकै चुनौती हुन्छ । त्यसैले सरकारले होटलदेखि लिएर सबै पर्यटकीय स्थलहरु व्यवस्थित बनाउने, सडकलगायतका पूर्वाधारहरु राम्रो बनाउने, हवाई सेवा सहज बनाउने जस्ता कुरामा ध्यान दिनुपर्छ । यस्ता कुरामा विशेष ध्यान दिने हो भने हामीलाई पर्यटकहरु नेपालमा ल्याउन सजिलो हुनेथियो । हिमालमा पनि सरसफाईको समस्या छ । अल्ली बाटोको पनि समस्या छ । लुक्लाबाट सगरमाथा आधार शिविरसम्म जाने बाटोको कुरा गर्दा एउटै बाटोमा पर्यटक र खच्चड हिँड्छन् । त्यो छुटाइदिए राम्रो हुन्थ्यो । एउटै बाटो हुँदा खच्चडले धकेल्दिने, पिसाब गनाउने, दिशा गनाउने, त्यसले गर्दा पर्यटकलाई पनि असर पर्ने गरेको छ । एकतिर फोटो खिच्न गाह्रो छ । अर्कोतिर खच्चडले खोलातिर धकेल्ने हो कि भन्ने डर ।नेपालको पर्यटकीय क्षेत्रहरुमा व्यवस्थापन गर्नुपर्छ । त्यसो गर्दा पर्यटकहरु पनि आनन्द लिएर ठाउँहरु घुम्छ । अझ् विदेशी पर्यटकहरु बढ्छ । काठमाडौं शहर, विशेषगरी ठमेल क्षेत्रलाई सुरक्षित बनाउनु पर्यो । आकर्षक बनाउनु पर्यो । हुन त अहिले पहिलाको हेरिकिन काठमाडौं शहर राम्रो भइरहेको छ । अझ राम्रो बनाउनुपर्यो । सरकारले नयाँ नयाँ ट्रेकिङ रुटहरु खोल्दिनुपर्यो । 

ट्रेकिङ रुटहरुको अवस्था कस्तो छ नेपालमा ? 
अन्नपूर्ण क्षेत्रमा १९९५ तिर हामी ट्रेकिङ गर्दा बेंसिशहरबाट थोरङ पास १८–२० दिनको हुन्थ्यो । त्यो बेला पर्यटकहरुलाई ट्रेकिङमा लैजाँदा धेरै रमाइलो हुन्थ्यो । तर अहिले गाडीले गर्दा दुलो उँडाउने, बाटोमा होटल व्यवसायीदेखि लिएर भारी बोक्ने, पर्यटकहरुलाई पनि त्यस्तै गाह्रो छ । त्यो ट्रेकमा पदयात्रा गर्नुभन्दा धुलो खाने मात्र भयो । अन्नपूर्ण क्षेत्रमा गाडी जाने बाटो र पदयात्रा गरेर ट्रेकिङ गरेर स्वस्थ बनाउने बाटो भइदियो भने राम्रो । त्यस्तै, सगरमाथा क्षेत्रको कुरा गर्नुपर्दा लुक्लासम्म जाने बाटोको निर्माण गर्नुपर्छ । किनभने त्यहाँको मौसम समय समयमा बिग्रिन्छ । त्यसैले गर्दा हामी सिजनमा पर्यटकहरु लिएर लुक्ला उडान गर्न पाउँदैनौं । मौसमले गर्दा कति त्यहाँ स्थानीय र पर्यटकहरु समयमै उड्न गर्न पाउँर्दैन् । मौसमले गर्दा कहिले त कति दिनसम्म उडान रद्द हुने गर्छ । लुक्लासम्म पुग्न गाडी त चाँहिन्छ । लुक्लाबाट माथि बाटोको निर्माण नगरिदिए राम्रो । नेपालमा विदेशीहरु विशेषगरी हिमाल आरोहण गर्न कै लागि आउँछन् । घुम्न, ट्रेकिङको लागि पनि आउँछन् । तर, धेरै हिमाल आरोहण कै लागि आउँछन् । त्यसैले सरकारले उनीहरुको सहजीकरणतर्फ ध्यान दिनुपर्छ । 

हिमाल आरोहणमा लाग्नुअघि तपाइँ के गर्नुहुन्थ्यो ?
सानोमा कक्षा १० को पढाइ सकेपछि गाउँमै खेतीपातीमा लागियो । त्यसपछि मैले ट्रेकिङ कम्पनीमा किचेन हेल्परको रुपमा काम गरे एक सिजन । त्यसपछि तीन महिना जति एक जना दाइसँग स–चालकको रुपमा पनि काम गरें । त्यहाँबाट मैले चिनेको एक जना दाई हुनुहुन्थ्यो, उहाँले आफ्नो लुक्ला​मा रहेको होटल व्यवस्थापन गर्न बोलाउनुभयो । मसँग व्यवस्थापनको अनुभव पनि थिएन् । होटलसम्बन्धी केही अनुभव पनि नभएकोले होटलमा भाँडा धुनेदेखि खाना पकाउनेसम्म काम गरें । त्यहाँ काम गर्दैगर्दा धेरै काम सिकें । धेरै गाली पनि खाएँ । त्यहाँबाट अनुभव पनि बटुलें । अंग्रेजी पनि सिकें । करिब ९ महिना जति मैले त्यहीं काम गरें । काम गरेको पैसा पनि दिएन । निःशुल्क नै काम गरे जस्तो भयो । त्यसपछि थामसेर्कु नामक ट्रेकिङ कम्पनीमार्फत म भारत गएँ । त्यहाँ पनि ट्रेकिङमा काम गर्न थाले । त्यहाँ पनि मैले किचेन ब्वाइमा काम गरें । त्यहाँ काम गर्दा टेन्टहरु टाग्नुपर्ने, भाँडा धुनुपर्ने । चिसो पानीमा भाँडा धुँदा मेरो हात पूरै चिरा चिरा पर्थ्यो । त्यहाँ पनि तलब दिएन । म फर्किएर आएपछि फेरि त्यही कामको लागि मलाई बोलायो । त्यहाँ इण्डियन ट्रेकिङ कम्पनीको निर्देशकसँग चिन्ने मौका मिल्यो । पछिबाट उनले ‘तिमी आफै आउनु, अनि मसगँ सम्पर्क गर्नु’ भन्यो । त्यहाँबाट मलाई राम्रो गर्न थाल्यो । त्यसपछि काम पनि राम्रो सिक्ने मौका मिल्यो । अंग्रेजी, फ्रान्सेली भाषाहरु सिक्ने मौका मिल्यो । त्यसपछि मलाई नै उनीहरुले बोलाउन थाल्यो । मैले अरु मान्छेहरु पनि लैजान पाउने भयो । फ्रान्सको पर्यटकहरुले मलाई रोज्न थाले । म नै गाइड हुनुपर्छ भन्थ्यो । इण्डियामा काम गरिसकेपछि मसँग गाइडको अनुभव भयो । त्यहाँबाट मैले गाइड गर्न पाएँ । गाइड गर्दागर्दै मलाई हिमाल आरोहण गर्न मन लाग्यो । त्यहाँबाट सुरु भयो मेरो हिमाल आरोहणको यात्रा । स्न १९९७ बाट मैले निरन्तर रुपमा सानो सानो पिकहरु चढ्न थालेको हो । सन् २००१ भारतको त्यही कम्पनीको निर्देशकले मलाई दार्जलिङबाट हिमालय माउन्टेनेरिङ इन्ष्टिच्युटबाट आधारभूत तालिमको कोर्ष दार्जलिङ पठाएको हो । त्यसपछि २००२ मा एडभान्स कोर्ष पनि गरें । त्यहाँबाट चाहिँ पूरारुपमा गाइडको अनुभव पनि भयो । धेरै कामहरु पनि सिकें । त्यहाँबाट मैले गाइड गर्न थालेको । त्यसपछि २००२ को अन्तिमतिर म रुस गएँ । 

Advertisement