एनसेल प्रकरणसँगै ५३ अर्ब २० करोड विदेशी मुद्रा अपचलनबारे छलफल गर्न आज एनटीएको बोर्ड बैठक बस्दै

Advertisement

काठमाडौं । एनसेलको शेयर खरीद बिक्री प्रकरणबारे छलफल गर्न दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)को सञ्चालक समिति बैठक आज (बिहीबार) बस्ने भएको छ । 

बैठकमा एनसेलको मलेसियन लगानीकर्ता आजियटा लिमिटेड र यसको स्थानीय साझेदार सुनिभेरा भेन्चर क्यापिटलका सञ्चालकहरुाबट भएको भनिएको चार सय मिलियन अमेरिकी डलर (५३ अर्ब २० करोड रुपियाँ) अपचलनको समाचारबारे पनि छलफल हुने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए । 

Advertisement

एनसेलको यसअघिको स्विडिस लगानीकर्ता टेलिया सोनेरा र पछिल्लो मलेसियन लगानीकर्ता आजियटाबीच भएको शेयर पर्चेज एग्रिमेन्ट (एसपीए) सर्वोच्च अदालत र आफूहरुले पटक पटक माग्दा समेत नदिइएको र एसपीए नभएकाले विदेशी मुद्रा अपचरणलगायतका कुरामा छानविन र कारवाही गर्न आफूहरुलाई गाह्रो भएको बताए । 

खनालले भने, ‘कर तिर्ने प्रयोजनका लागि टेलियासँग यिनीहरु (आजियटा र सुनिभेला)ले चार सय मिलियन पैसा लिएको र उनीहरुले त्यो पैसा नदिईकन यहींको बैंकसँग ऋण लिएर पुँजीगत लाभकर तिरेको हो रहेछ भने त यिनीहरु सबै जेल जान्छन् । यो गम्भीर अपराध हो ।’ उनले आजै आन्तरिक राजश्व कार्यालयले पनि एनसेलको करको विषयमा छलफल गर्न बोलाएको बताए । 

सुनिभेराको सञ्चालक भावना सिंह श्रेष्ठ हुन, जुन कम्पनी सिंगापुरमा बस्दै आएका गैरआवासीय नेपाली (भावनाका पति) सतिशलाल आचार्य र उनका भाई सचिनलाल आचार्यको नियन्त्रणमा रहेको देखिन्छ । 

पछिल्लो पटक एनसेल आजियटा लिमिटेडको विदेशी शेयर होल्डिङ कम्पनी रेनोल्ड्स होल्डिङ्सको ८० प्रतिशत शेयर आजियटाले करिव साढे छ अर्ब (५० मिलियन डलर) मा बिक्री गरेको आजियटा र सतिशलालले स्वीकार गरेका थिए । उनले प्रतिस्पर्धाबाट सो शेयर किनेको दावी गरेका छन् । यस शेयर किनबेचमा उच्च राजनीतिक तहको समेत संलग्नता रहेका तथ्यहरु समेत बाहिर आएका छन् । 

तत्कालिन समयमा एक खर्ब ४३ अर्बमा किनबेच भएको एनसेलको ८० प्रतिशत शेयर अहिले साढे अर्बमा मात्रै कसरी किनबेच हुनसक्छ ? भन्दै यतिबेला आम मानिसले प्रश्न उठाएका छन् । 

Advertisement