घातक रोग पहिचानमा बीमितहरुलाई सास्ती, व्यापारका नाममा अशुलिन्छ अनाधिकृत शुल्क

Advertisement

काठमाडौं । नेपालमा अनेकौं बीमालेखहरुको भीडमा स्वास्थ्यसँग सम्बन्धित बीमाको अस्थित्व उच्च धरापमा देखिएको छ । विभिन्न मोडेलमा स्वास्थ्य बीमाका योजनाहरु संचालन गरिए पनि त्यसबाट जनताले पाउने लाभ भने निकै न्यून रहेको छ । 

यसबाट जनताले बीमाको लाभ महशुस गर्ने भन्दा पनि दुविधा तथा अलमल बढ्दै गएको एक बीमा अभिकर्ताले बताए । उनले भने, ‘अहिले त घातक रोग कुन हो ? भनेर पनि बीमितलाई पहिचान गर्न पनि कठिन छ । बीमा कम्पनीहरुले घातक रोगको बीमा गर्ने भनेर जम्मा ७ वटा रोगहरु तोकेका छन् । कतिपय कम्पनीले ३६ वटा घातक रोगको आफूहरुले कभर गर्ने दावी गर्छन् । यसरी हेर्दा अति जसटल रोग र सामान्य रोग बीचको अन्तर बीमा कम्पनीहरुले छुट्याउन नसक्दा भोलिका दिनमा त्यसको मार बीमितहरुमा पर्ने देखिन्छ ।’

Advertisement

बीमा कम्पनीहरुले घातक रोगको समेत कभरेज हुने भन्दै बढी प्रिमियम लिने, बैंकहरुमा खाता खोल्दा समेत यस्ता लोभ देखाइने र रोग लागेपछि बीमा दावी लिन खोज्दा विभिन्न शर्त र अडचन देखाउने, दावी भुक्तानी लिन सहज नदेखेपछि सबै बीमितले बीमा कम्पनीको पछि लाग्नुभन्दा आफ्नै खर्चमा उपचार गर्ने, दावी भुक्तानी दिए पनि खर्च भएअनुसार नदिने जस्ता धेरै गुनासो बीमितहरुबाट आउने गरेको बताए । 

मुख्य अंगका रोगलाई घातक रोगको रुपमा राखेर अन्य रोगलाई घातक रोगको सूचीबाटै हटाउन उपयुक्त हुने ती अभिकर्ताको सुझाव छ । लामो समय काम गरिसकेका उनले हालसम्म अल्परत्तक्ता, (सिक्कल सेल एनिमिया) जस्ता रोगबाट पश्चिमी भेगमा मानिसहरु पीडित हुने क्रम बढ्दो रहेको देखिएको बताउँदै तर त्यहाँ बीमा पुग्न नसकेको बताए । 

तीन मोडेलबाट स्वास्थ बीमा गर्दा पनि जनतालाई सस्ती
हाल स्वास्थ्य बीमा निर्जीवन बीमा कम्पनीहरुले गर्दै आएका छन् । त्यस्ता बीमालाई सापटीमा लिएर (राइडर) भन्ने नाममा जीवन बीमा कम्पनीहरुले पनि घातक रोगको बीमा गर्छन् । त्यति मात्र नभएर सरकार आफैले पनि स्वास्थ बीमा बोर्ड गठन गरेर स्वास्थ्य बीमा योजना संचालन गरिरहेको छ । 

यसरी त्रिपक्षी मोडेलबाट स्वास्थ्य बीमा गर्दा पनि कम्पनीहरुले के बीमालेख बेचेका छन् ? त्यसको प्रभावकारीको बारेमा भने थोरै मात्रै समीक्षा हुने गरेको छ । ती अभिकर्ताले थपे, ‘सबैभन्दा समस्या त अहिले घातक रोगकै सन्दर्भमा देखिएको छ । त्यस्ता रोग लाग्दा व्यक्तिले पाउने सास्ती र आर्थिक क्षतिको कुरा त छँदैछ, त्यसलाई बीमाले गर्ने जोखिम बहन र त्यसको प्रभावकारीतामै मुख्य समस्या देखिएको अवस्था छ ।’ 

यता बीमा कम्पनीहरुले भने जता जोखिम कम छ वा धेरै बीमा हुने संख्या छ, त्यता मात्रै व्यवसाय केन्द्रत गर्दै आएकोमा त्यसलाई सुधार गर्नुपर्ने उनको सुझाव छ । 

Advertisement