‘अर्थतन्त्रको सुधारमा सरकार नयाँ घोषणाको तयारीमा’

Advertisement

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई लगानीको गन्तव्य बनाउनका लागि आवश्यक कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  

राष्ट्रिय व्यावसायिक पहल (एनबिआई)ले आजदेखि राजधानीमा आयोजना गरेको दुईदिने ‘चौथो जिम्मेवार व्यवसाय सम्मेलन’को उद्घाटन गर्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले विभिन्न आर्थिक कार्यक्रम अगाडि सारेको बताए । 

Advertisement

संयुक्त अरब इमिरेट्स (युएई)मा हालै आयोजित ‘बिजनेस समिट’ मा आफूले नेपाललाई लगानीको गन्तव्य बनाउन आग्रह गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपाललाई व्यावसायिकरुपमा सफल बनाउन व्यवसायी र समाजलगायत सबै सरोकारवाला जिम्मेवार बन्नुपर्नेमा जोड दिए । 

“जिम्मेवार व्यावसायिक अभ्यास नैतिक सामाजिक दृष्टिकोणबाट मात्र नभई व्यावसायिक रणनीतिका हिसाबले पनि फाइदाजनक छ, जिम्मेवार अभ्यासहरुमार्फत व्यवसायले दिगो विकासमा योगदान दिन र समाजमा सकारात्मक प्रभाव सिर्जना गर्न सक्छन्”, उनले भने ।

मुलुकको प्रमुख साझेदार निजी क्षेत्रमात्र होइन, सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवाररुपमा प्रस्तुत हुन आवश्यक रहेको जनाउँदै प्रधानमन्त्री दाहालले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा सबैको साथ र सहयोगका लागि आग्रह गरे । 

अर्थतन्त्रका क्षेत्रमा देखिएको विद्यमान दबाबलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न आफूले लगातार प्रयास गर्दै आएको जानकारी दिँदै उनले अर्थतन्त्रमा सुधार ल्याउन केही दिन पहिला मात्र सरकार, निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञसँग बृहत् अन्तक्र्रिया गरिएको बताए । “अन्तरक्रियापछि केही महत्वपूर्ण घोषणासमेत गरिएको छ, मेरो विश्वास छ– उक्त अन्तरक्रिया र घोषणाले अर्थतन्त्रमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ”, प्रधानमन्त्री दाहालले भने । 

तथ्याङ्क हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गए पनि आमजनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति रहेको बताए ।

एनबिआइका अध्यक्ष कुशकुमार जोशीले जिम्मेवार व्यवसायका लागि राज्य, व्यवसायी र सरोकारवालाको उत्तिकै महत्वपूर्ण भूमिका रहेको बताए । उनुभयो ।

 ‘व्यावसायिक आचारसंहिताको पालना र जिम्मेवार व्यवसाय’ भन्ने मूल नारा रहेको सो कार्यक्रममा समाज, वातावरण र अर्थतन्त्रजस्ता विषयमा विश्वमा भइरहेका नवीनतम सुधार र प्रयासमा बृहत् छलफल हुनेछ । पहिलो दिन आधुनिक दासता र मानव बेचबिखन, नवीकरणीय ऊर्जा, नवप्रवर्तन र उद्यमशीलता, व्यावसायिक आचरण र सामाजिक उत्तदायित्व, डिजिटल अर्थतन्त्र शीर्षकमा छलफल हुनेछ । यस्तै दोस्रो दिन विपद् जोखिम न्यूनीकरण र व्यावसायिक योजना, व्यवसाय र मानअधिकार, व्यवसायजन्य सुरक्षा र स्वास्थ्य तथा व्यवसाय मैत्री वातावरण विषयमा सामूहिक छलफल हुनेछ ।

Advertisement

Advertisement