अर्थतन्त्र सुधारको अनुभुति भयो, तर जनतामा आशाको सञ्चार नै भएनः प्रधानमन्त्री दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र सुधारको अनुभुति भए पनि जनतामा आशाको सञ्चार हुन नसकेको तर्क गरेका छन् । 

बिहीवार राजधानीमा ‘रेस्पोन्सिबल बिजनेस समिट’ (उत्तरदायी व्यवसाय सम्मेलन)मा बोल्दै उनले पछिल्लो समय अर्थतन्त्रका तथ्याङ्कहरु हेर्दा अर्थतन्त्र सुधार भएको देखिए पनि जनतामा आशाको सञ्चार नदेखिएको बताए । दाहालले सबैमा अर्थतन्त्र सुधारको आशा जगाउनको लागि सरकारले अझै मेहनत गर्नुपर्ने अवस्था रहेको बताए । 

Advertisement

उनले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले केही नयाँ घोषणा गर्ने तयारीमा रहेको उल्लेख गरे । दाहालले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र केही नयाँ घोषणा गर्नैपर्ने देखिएको बताए । दाहालले शासकीय सुधार गरी अर्थतन्त्रमा समेत सुधार ल्याउनु अहिलेको अवश्यकता रहेको बताए । 

प्रधानमन्त्री दाहालले व्यवसाय र राजनीतिको क्षेत्रमा जिम्मेवारी बोधको अनुभुति गराउनु आजको आवश्यकता भएको बताए । उनले अहिले समाजमा हरेक कुरामा नकारात्मकता बनाउने प्रयास भइरहेको भन्दै यसबाट देशले कहिल्यै प्रगति गर्न नसक्ने बताए । 

अर्थतन्त्र सुधार हुने आशा जगाउनु चुनौतिपूर्ण भएको र नकारात्मक भन्दा पनि मुलुकको अर्थतन्त्रका सकारात्मक सम्भावनातिर हेरेर आशा जगाउनसके नेपालमा प्रचुर सम्भावना रहेको बताउँदै दाहालले भने, ‘हामीसँग भएका सकारात्मक सम्भावनातिर हेरेर आशा जगाउनेतिर हामी सबै लाग्यौं भने नेपालमा प्रचुर सम्भावना छ । जहाँबाट नेपालले विकासको यात्रा तिब्र गतिमा अगाडि बढाउन सक्छौं ।’

उनले बुधवार मात्र शासकीय सुधारका विषयमा वृहत छलफल गरेको भन्दै यो क्षेत्रमा केही नयाँ गर्नसके त्यसको प्रभावले अर्थतन्त्रमा पनि सुधार हुने अपेक्षा सरकारको रहेको बताए । दाहालले सरकारले अर्थतन्त्र सुधारको लागि आवश्यक कानूनी तथा नीतिगत आधार तयार गर्न प्रतिवद्ध रहेको बताए । 

Advertisement