राजसंस्था र हिन्दुराज्य पुनस्थापनाका लागि राप्रपाद्धारा आन्दोलन घोषणा, कमल थापाद्धारा स्वागत

Advertisement

कठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि आन्दोलन गर्ने घोषणा गरेको छ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बिहीबार बसेको बैठकले यससम्वन्धी प्रस्ताव पास गरेको हो । 

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनालगायतका एजेन्डासहित आन्दोलन गर्न तयार पारेको प्रस्ताव आजको बैठकले पास गरेको छ । सो पार्टीले राजसंस्था, हिन्दूराष्ट्रको पुनःस्थापना, संघीयता खारेजी र सुशासन तथा जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको हो । 

Advertisement

यस प्रस्तावलाई काठमाडौँमा पुस १ गतेदेखि ३ गतेसम्म हुने केन्द्रीय समिति बैठकमा पेश गरिनेछ । राप्रपाले राजनीतिक, सामाजिक, आर्थिकरुपले देश संकटपूर्ण अवस्थामा रहेको, देशको नेतृत्व र शासन व्यवस्था असफल भइसकेको र यथास्थितिमा देशअघि बढिरहन नसक्ने निश्कर्ष निकाल्दै आन्दोलनको अपरिहार्यतामा जोड दिएको छ । 

त्यस्तै आगामी पुस २७ गते केन्द्रीय र सबै तहमा पृथ्वी जयन्ती मनाउने निर्णय पनि राप्रपाले गरेको छ । राप्रपाको आजको निर्णयलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्वागत गर्दै सहकार्यका लागि आफू तयार रहेको संकेत दिएका छन् । 

यस्तो छ राप्रपाको बैठकले गरेका निर्णयः  

१. राप्रपाले राजनीतिक, सामाजिक, आर्थिक रुपले देश संकटपूर्ण अवस्थामा रहेको, देशको नेतृत्व र शासन व्यवस्था असफल भइसकेको र यथास्थितिमा देश अघि बढिरहन नसक्ने निश्कर्ष निकाल्दै आन्दोलनको अपरिहार्यतामा जोड दिएको छ । राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयता खारेजी एवं सुशासन र जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जन सहित पारित गरेको छ र सो प्रस्तावलाई केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने अनुमति प्रदान गरेको छ । साथै आन्दोलनमा सहकार्यका लागि समान विचार राख्ने राजनितिक दलहरु, सघंसस्थाहरु तथा अभियन्ताहरुलाई आह्वान गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्य समितिको बैठक पुस १, २ र ३ गते काठमाण्डौंमा बस्नेछ । 

२. राप्रपाले पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय तहमा र सबै तहमा उत्सवको रुपमा मनाउने निर्णय गरेको छ । 

३. राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी हुने, यस सम्बन्धमा अन्य दलसंग आवश्यक सहयोग जुटाउन, संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको छ । 

४. इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचन लगायत सबै तहको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजङ्ग गुरुङलाई जिम्मेवारी दिइएको छ । 

५. राप्रपा नियमावली – २०८० को मस्यौदालाई बिधान मस्यौदा समितिमा पठाइ समितिको राय सहित केन्द्रिय समितिको बैठकमा पेश गर्ने निर्णय गरिएको छ ।

६. राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका केन्द्रिय सदस्य(कास्की जयलाल पुन, जिल्ला सदस्य कास्की आत्मा राम सुवेदी, कास्की प्रदेश सभा क्षेत्रीय कार्य समितिको २ (ख)का अध्यक्ष देवेन्द्र वास्तोला र पोखरा म।न।पा। नगर कार्य समितिको अध्यक्ष महेश्वर आचार्यलाई पार्टीको अभिलेखबाट हटाउने निर्णय गरियो ।

Advertisement

Advertisement