एनसेल खरिद बिक्री प्रकरणमा समिति बनाएर अध्ययन गर्नेकुरा ‘बेकारको नाटक’ होः लामिछाने

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिद बिक्री प्रकरणमा सरकारबाट समिति बनाएर अध्ययन गर्नेकुरा ‘बेकारको नाटक’ भएको टिप्पणी गरेका छन् । 

बुधवार आफ्नो पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकपछि उनले एनसेलमा गैरकानूनी काम भएको भए तत्काल कारबाही गर्नुपर्ने बताए । लामिछानेले एनसेल प्रकरणमा कयौँ राजनीतिक दलहरुको संलग्नता हुने आशंका व्यक्त गरे । 

Advertisement

उनले एनसेलले कर नतिरेको भए तत्काल कारबाही गर्नुपर्ने बताए । सभापति लामिछानेले गैरकानूनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने नभइ कर छल्ने मानिसलाई पक्राउ गर्नुपर्ने बताए । उनले कर छली लगायतका विभिन्न गैरकानूनी काममा वृहत अनुसन्धान गर्नुपर्ने पनि बताए । 

लामिछानेले एनसेल खरिद बिक्री प्रकरणबारे अर्थमन्त्री प्रकाशशरण महतले दिएको अभिव्यक्ति प्रतिक्रिया दिन लायक नभएको बताए । उनले भने, ‘एनसेल प्रकरणमा कयौँ राजनीतिक दलहरुको संलग्नता हुनसक्छ । त्यहाँ कयौँ कुरा हुनसक्छ । त्यो एउटा छानबिनको विषय हो । तर अहिले जुन खरिदबिक्री भएको छ, भएको हो कि होइन ? होइन भने किन बबाल गरेको ? हो रहेछ भने सरकारले त्यसबापत प्राप्त गर्नुपर्ने कर रकम पायो कि पाएन ? पाएको छैन भने त्यो गैरकानूनी हो कि होइन । गैरकानूनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने कि छल्ने मानिसलाई गएर समात्ने हो ? यो बेकारको नाटक हो ।’ 

लामिछानेले थपे, ‘कर छलि गरिसकेपछि कारबाही हुनुपर्छ, के को लागि यो समिति ? बृहत छानबिन शुरुवातदेखि आजसम्मको छानबिन गरौँ । तर तत्काल कारबाही हुुनपर्छ, कर छली भएको हो भने ।’ 

Advertisement