भन्सारको टोलीद्धारा फिल्मी शैलीमा १४ किलो सुनसहित तस्करीको गिरोह पत्ता लगाउन सफल

Advertisement

काठमाडौं । भन्सार विभागले युनाइटेड अरब इमिरेट्स (युएई)बाट नेपालमा सुन तस्करी गराउने ठूलो गिरोह पत्ता लगाएको छ । विभागले विशेष सूचनाको आधारमा युएई नै पुगेर सुन तस्करी गर्ने गिरोह पत्ता लगाएको हो ।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले सुन तस्करीको अनुसन्धान गर्न एक टोली चार दिन अघि युएई पठाएको थियो । टोलीले चन्द्र घलेले सुन ल्याउन लागेको सूचना पाएपछि घलेलाई रेकी बढायो । 

Advertisement

सुनको जिम्मा लिएर घलेले बुधबार नेपाल आउने टिकट काटेका थिए । तर उनले अचानक टिकट क्यान्सिल गरी बिहीबारलाई सारे । घलेले टिकट सारेपछि रेकी टोलीले पनि नेपाल आउने टिकट क्यान्सिल गरे ।

अनुसन्धानमा सहभागी एक कर्मचारीले भने, ‘घलेले टिकट रद्द गरेपछि हामीले पनि टिकट रद्द गर्यौं । हामीले पनि उनीहरुको रणनीतिअनुसार कदम चाल्दैगयौं ।’ 

घलेले बिहीबारलाई टिकट तयार गरेपछि टोलीले पनि सोही दिनलाई टिकट लियो । घलेले तस्करीको सुन शरिरमा फिट गरेर जहाज चढेपछि रेकी गर्ने टोली पनि जहाज चढेको थियो ।

आउने क्रममा घलेले सुन अर्को साथीहरुलाई समेत दिनसक्ने भएकाले भन्सारको टोलीले उनको गतिविधिलाई उच्च निगरानीसहित फोटो लिँदै तथा भिडियो समेत बनाउँदै आएको थियो । घले उडान नम्बर एफ जेड ५७३ बाट गए राति ११ बजेर ३० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए । 

यतिबेलै विभागका महानिर्देशक पौडेलसहितको टोली विमानस्थल पुगिसकेको थियो । घले विमानस्थलमा ओर्लिएसँगै यात्रु आगमन कक्षमा प्रवेश गरे । आगमन कक्षको मेटल फ्रि मेसिनमा घले पस्ने बित्तिकै मेसिनले जनाउ दिएपछि उनको साथबाट १४ किलो भन्दा बढी सुन बरामद गरियो । घलेले इस्टकोटमा सुन फिट गरेर आएका थिए । उनले १४ किलोको सुनको ढिक्का शरिरमा फिट गरेर ल्याएका थिए ।

उनीसँग सम्बन्धित थप दुई जनामाथि पनि भन्सार विभागले अनुसन्धान अघि बढाएको छ । घले यसअघि नै छ पटक दुवईबाट नेपाल आएको ‘ट्राभल हिस्ट्री’बाट देखिन्छ ।

यसअघि सुन ल्याएको वा नल्याएको विषयमा भने अनुसन्धान अघि बढाएको विभागको भनाई छ । घले बस्ने घरमा समेत विभागले छापा मारेको छ । तर घरमा भने सुन नभेटिएको जनाइएको छ ।

महानिर्देशक पौडेलका अनुसार दुवईबाट नेपाल हुँदै भारतमा सुन तस्करी गर्ने गिरोहमा नेपाली र भारतीय दुवै छन् । उनले भने, ‘नेपालीले काम गरेको पैसाले सुन खरिद गर्ने र भारतमा बिक्री गरी सोही पैसा हुण्डीमार्फत घर परिवारमा पुर्याउने काम भइरहेको छ ।’

भन्सार विभागको इतिहासमा पहिलो पटक विदेशमै गएर अध्ययन गरी सुन समातिएको यो पहिलो पटक हो । पौडेलले आफू आएपछि आयात घट्दा पनि राजश्व बढिरहेको बताए । राजश्व चुहावटमा शुन्य सहनशीलता कायम गरेको उनले बताए । 

Advertisement